सहिदसँग सम्बन्धित अडियो, भिडियो, तस्वीर लगायतका सामग्री हटाउन निर्देशन

सहिदसँग सम्बन्धित अडियो, भिडियो, तस्वीर लगायतका सामग्री हटाउन निर्देशन

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा कतिपय राजनीतिक दल र उम्मेदवारबाट आदरणीय सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विशेष गरी प्रदेश नं २ सहितका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्वीर (अडियो, भिडियो, फोटो) तथा सहिदका तस्वीरलाई सामाजिक सञ्चारमाध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, ब्लग, अनलाइन समाचारमार्फत राखेको पाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यस्ता सामग्रीबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भएकाले निर्वाचन आचारसंहिताविपरीतका सामग्री तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्तालाई निर्देशन दिएको उनले बताए ।

निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी राखिएका आन्दोलनका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरी राख्नेलाई कानूनअनुसार आवश्यक कारबाहीको दायरामा ल्याउन दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, अनुगमनकर्तालाई आयोगले निर्देशन दिएको जनाएको छ ।

सुरक्षा निकायले कार्यनीति र रणनीति परिमार्जन गरी अघि बढ्ने – आयुक्त शाह

निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहितरुपमा सफल तुल्याउन उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग र परिचालन भइरहेको जनाएको छ ।

निर्वाचनका लागि गठित उच्चस्तरीय सुरक्षा समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा समितिको आजको बैठकले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले हरसम्भवका उपाय अवलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ७२ हजारको संख्यामा सुरक्षा फौज परिचालन गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मतदाताको व्यापक सहभागितामा उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले दोस्रो चरणको निर्वाचनलाई सफल तुल्याउने सिलसिलामा सुरक्षा निकायले आवश्यकताअनुसार कार्यनीति र रणनीति परिमार्जन गरी अघि बढ्ने निर्णय भएको जानकारी दिइयो ।

निर्वाचन आचारसंहिताविपरीत आयोगमा हालसम्म १०२ वटा उजुरी परेकामा त्यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको जनाउँदै आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्ने सन्दर्भमा सञ्चारमाध्यमले पु¥याएको योगदानबाट आयोगको समेत पृष्ठपोषण भएको उल्लेख गरेको छ ।

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न आपराधिक समूहलाई कारबाही गर्न सुरक्षा निकायलाई पूर्णरुपमा अधिकार दिइएको बताउँदै निर्वाचन आयुक्त शाहले राजनीतिक दलका नेता, उम्मेदवार, कर्मचारी र मतदातालाई निर्वाचनमा पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको विश्वास दिलाए ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय