सुताईले पनि व्यक्तित्वको पहिचान झल्काउँछ !

सुताईले पनि व्यक्तित्वको पहिचान झल्काउँछ !

डा हेमराज कोइराला

यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस् । किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ। एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ।

स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन गर्ने संस्था ‘स्लिप असेस्मेन्ट एन्ड एड्भाइजरी सर्भिस’ का निर्देशक प्रोफेसर क्रिस इजिकोवाक्सीले सयन स्थितिका मुख्य ६ आसनको अध्ययन गरेर व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लंग पार्ने कोशिस गरेका थिए ।

क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको बडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्ष नखुल्न सक्छ।

परन्तु सुप्त अवस्थामा व्यक्तिको व्यक्तिगत सजगता नहुने भएकाले सयन–आसनबाटै उसको सही व्यक्तित्वको धेर–थोर जानकारी लिन सकिन्छ।

प्रोफेसर क्रिसका अनुसार सयन शैलीका ६ मुख्य आसन फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन्। प्रोफेसर क्रिसका अनुसार यी सयन आसन र व्यक्तिको व्यक्तित्व यस प्रकार छः

फिटसः यो गर्भास्थ शिशुको जस्तो दायाँ वा बायाँतिर कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने स्थिति हो। यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाइएको छ । यस्ता व्यक्ति पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गएपछि चाँढै सामान्य भई घुलमिल हुन थाल्दछन्। यो आसनको सबैभन्दा सामान्य स्थिति हो।

प्रा. क्रिसको अध्ययनबाट प्राप्त तथ्यांकअनुसार पुरुषभन्दा महिलामा प्रचलित सयन स्थिति प्रयोग गर्नेहरुको हिस्सा ४१ प्रतिशत छ। । फिटस स्थितिमा बायाँपट्टि कोल्टे परेर सुत्नेहरुमा आमासय, कलेजो र फोक्सो जस्ता अति संवेदनशील अंगहरुमा केही न केही समस्या भएको पनि पाइएको छ भने दायाँपट्टि कोल्टे परेर सुत्नेहरु तुलनात्मक रुपले स्वस्थ पाइएको छ।

लगः सर्वेक्षणमा सामेल १५ प्रतिशत सर्वेक्षित व्यक्तिहरु दायाँ अथवा बायाँतिर कोल्टे परेर हातलाई शरीरसँग टाँसेर सामानन्तर राखी खुट्टा नखुम्च्याई सुत्ने गरेको पाइएको छ। यो सयन स्थितिमा सुत्नेहरु सोझा–सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् भने नचिनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन्। फलतः यिनलाई कसैले पनि उल्लु बनाउन सक्छ। यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको सयन आसन पनि भनिन्छ। ढाडलाई नमोडी सुत्नुपर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा कम्मर तथा ढाडको समस्या कम भएको पनि पाइएको छ।

यार्नरः सर्वेक्षणमा सामेल भएकामध्ये १३ प्रतिशतले यो सयन विधि अपनाइएको पाइयो। यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्बवत, अगाडिपट्टि सिधै वा हल्का मोडेर सुत्ने गर्छन्। यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर संदिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिइसकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाइदा–बेफाइदाको तराजुमा तौलिने र नयाँ कुरा तुरुन्त सिक्नसक्ने क्षमताका हुन्छन्। प्रा क्रिसका अनुसार यो सयन विधि अपनाउनेहरुमा एसिडिटी र निद्रामा निसास्सिने समस्या धेरै पाइएको छ।

सोल्जरः सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्ति यस स्थितिमा सुत्ने गरेको पाइयो। यो स्थितिमा हात शरीरसँग अभिन्न राखी, ड्युटी गरेको सैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन्। यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसँग हत्तपत्त नखुल्ने, सानातिना कुरामा नअल्झी आफ्नो र अरुको उच्च भलाइ चाहने प्रवृत्तिका हुन्छन्। घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाउनेहरुमा पाइएको छ।

फ्रिफलः सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो। यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन्। यो सयन विधि अपनाउनेहरु मिलनसार, बहिर्मुखी, चाँडै उत्तेजित भइहाल्ने, कठिन परिस्थितिमा अत्तालिने, व्यक्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरै नाजुक र घुसघुसे हुन्छन्। कामुकता र चञ्चलता यस आसनमा सुत्नेहरुको एउटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो।

स्टारफिसः सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता ५ प्रतिशत थियो। यस स्थितिमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन्। यो स्थितिमा ढाडको बलले, उत्तानो परी, खुट्टा फट्याएर, हात तकियाको आसपासमा राखी स्टारफिस माछाको आकृतिमा सुत्ने गरिन्छ। यो सयन विधि अपनाउनेहरु प्रायः सबैको कुरा सुन्न तयार हुन्छन्। यिनीहरु आकर्षणको केन्द्र बन्न चाहँदैनन्। स्टारफिस स्थितिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ), दुस्वप्न देख्ने र निद्रामा निसास्सिने समस्याबाट ग्रसित भएको पाइयो।

प्रा क्रिसका अनुसार यी विभिन्न विशेष स्थितिमा सुत्नेहरु आम रुपमा अर्को सयन स्थिति परिवर्तन गरेर सुत्दैनन् तर ५ प्रतिशतले भने आसन परिवर्तन गरी सुत्ने गर्दछन् । स्वास्थ्यखबरबाट

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय