सुदुरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

सुदुरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढ, वैशाख १५ । प्रदेश नं. ५ सरकारले सुदुरपश्चिम प्रदेशवासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो ।

सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश नं.५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे ।

‘सुदुरपश्चिमका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई सुदुरपश्चिमका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो–आचार्यले भने । बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पु¥याउने उद्देश्यसहित प्रदेश नं. ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ ।

लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । प्रदेश नं.५ का पहाडी जिल्लामा हिल स्टेसन बनाउने र लुम्बिनी घुमेर सकेपछि ती स्थानमा विश्रामको वातावरण मिलाउने तयारी सरकारको छ ।

सोही अवसरमा बोल्दै सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि सुदुरपश्चिम प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताइन् । उनले प्रदेश नं. ५ बासीले सुदुरपश्चिम क्षेत्र र सुदुरपश्चिमबासीले लुम्बिनी भ्रमण गर्ने गरी नीति ल्याउन लागेको बताइन् ।

पर्यटन अभियन्ता, व्यवसायी र सरोकारवालासँग छलफल गरेर छिटै नै प्रदेश सरकारले पर्यटन नीति ल्याउन लागेको उनले बताइन् ।
प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री भट्टले बताइन् । ‘पहिले प्रदेश घुमौं, त्यसपछि अरु प्रदेशहरु घुमौं, त्यसपछि देशभर घुमौं र अनिमात्रै विदेश घुमाँैं, उनले भनिन्–यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले अभियान नै चलाउने छ ।’

सुदुरपश्चिम सुन्दर रहेको भन्दै मन्त्री भट्टले पर्यटन प्रवद्र्धनका लागि सबैका बीचमा समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । उनले सुदुरपश्चिम सरकारकै तर्फबाट यसैवर्ष लुम्बिनी घुम्न आउने वाचा गर्दै सुदुरपश्चिम प्रदेश घुम्न प्रदेश ५ सरकारलाई निम्तो गरिन् ।
यस्तै सुदुरपश्चिमका पर्यटन अभियन्ताहरु गोपी हमाल, दिनेश भण्डारी, रमण श्रेष्ठले बोल्दै लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई सुदुरपश्चिममा आउनेगरी समन्वय गर्नुपर्ने बताए । उनीहरुले सुदुरपश्चिम क्षेत्र र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थललाई एकैसाथ प्रवद्र्धन गरेमा प्रभावकारी हुने बताए ।

यस्तो छ भ्रमण वर्षको कार्यक्रम

सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएका थिए । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिएका थिए । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरुलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको हो ।

लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् ।

प्रदेश ५ सरकारले भ्रमण वर्ष प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ । भ्रमण वर्षको कार्यक्रम २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुने छ ।

कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो ।

प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए ।

पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ । भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी.पी. खनालले जानकारी दिए ।

लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए ।

यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।

२२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।

मायादेवी प्रसुति उत्सव

महारानी मायादेवी सुत्केरी हुने बेला नजिकिदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गरिन् ।

बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उनलाई बेथा लाग्यो । बगैचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिइन् । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गरे ।

सोहीअनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरुको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुलब्यानर टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरु निर्माण भए । महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौं नागरिकहरु उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरी बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइने छ ।

के हो सुजाता खीर उत्सव ?

सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन । एक दिन गुरुले भने, ‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’

एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राती ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइने छ ।

लुम्बिनी भ्रमण वर्षका उद्देश्यहरू

० नेपाल सरकारबाट सन् २०२० लाइ भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने ।
० पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पुर्याउने ।
० यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने ।
० लुम्विनी आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउने ।
० लुम्विनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने ।
० लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने ।

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम २०७६ का विशेषताहरू

१ लुम्बिनी भ्रमणवर्ष शुभारम्भ समारोह–२०७६ जेष्ठ ४ गते
२.मायादेबी प्रसुति उत्सव—२०७६ जेष्ठ ५ गते
३. लुम्बिनी फुड फेष्टिबल
४.सुजाता खीर उत्सव
५. सडक प्रदर्शनी
६. मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन
७ मासिक फूल मून डे (पूर्णिमा) उत्सव
८. धार्मिक यात्रा र त्रिपिटिक वाचन
९ योग तथा ध्यान शिविरहरू
१०. स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर)को व्यवस्था

अपेक्षित उपलब्धी

० राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने,
० लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई अवधिमा वृद्धि हुने ,
० लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा ब्यापार ब्यवसायमा बृद्धि हुने,
० होटेल, ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन ब्यवसायको प्रबद्र्धन हुने,
० रोजगारीको सिर्जना हुने,
० प्रदेश सरकार र लुम्बिनी विकास कोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।