सूर्यदर्शन सहकारीकाे रकम हिनामिना कसरी जोडिए रवि लामिछाने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नाम पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी काण्डमा जोडिएको छ । सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको नाम जोडिएको हो ।
लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक थिए । प्रबन्ध निर्देशकबाट राजीनामा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरी अध्यक्ष बनेका हुन् । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष हुन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको १ करोड रुपैयाँ पुलेसो ब्रिज० ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा रवि लामिछानेको नाम एक ठाउँमा मात्र उल्लेख छ । उनले कुन मितिमा ऋण लिएका थिए भन्ने प्रतिवेदनमा भेटिँदैन । उनको नाममा रहेको पुलेसो ऋण गोरखा मिडिया नेटकर्व प्रा.लि.ले तिरेको भन्ने मात्र प्रतिवेदनमा उल्लेख छ ।
“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं.११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो ।
प्रहरी कार्यालयले २०८० साउन ३० गते अनुसन्धानमा सहयोग गरिदिन भन्दै पोखरा महानगरपालिकालाई अनुरोधसहितको पत्र पठाएको थियो । पत्रको चलानी नं.१७४० रहेको छ ।
त्यसपछि पोखरा महानगरपालिकाले रकम हिनामिना सम्वन्धमा अनुसन्धानसम्बन्धी कार्यमा सहयोग पु¥याउन र प्राप्त विवरण बमोजिम प्रतिवेदन गर्न एफ.सी.ए. अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई खटाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो ।
“पोखरा महानगरपालिका सहकारी शाखाको २०८० भदौ १० को पत्र अनुसार लामिछाने एण्ड एसोसिएट्सका प्रोपाइटर सि.ए.अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई नियुक्त गरिएकोले प्राप्त प्रमाणअनुसार प्रतिवेदन पेश गरिएको छ,” प्रतिवेदनमा भनिएको छ ।
अनिल लामिछाने र दिपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए ।
उनीहरुले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८/२०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९/२०८० र २०८०/८१ को कारोवारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरु, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरु र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरुको अध्ययनरअनुसन्धान गरेका थिए ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोवार भएको देखिएको थियो ।
प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु हाल सम्पर्कमा नभएकाले स्थलगत निरीक्षणबाट प्राप्त प्रमाणहरु र अन्य उपलब्ध कागजातको सहयोगबाट अनुसन्धान गर्नपर्ने अवस्था भएकाले अनुसन्धानको निष्कर्ष शतप्रतिशत नहुन पनि सक्ने जनाइएको छ ।
“सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु सम्पर्कमा आइ प्रमाणसहित खुलासा गर्दा कारोबारको यथार्थ विवरण पत्ता लाग्ने हुन सक्छ । मिति २०७६ मंसिर ३० गतेभन्दा अघिको कारोबारहरु प्रविष्ट गरिएको लेखा प्रणाली प्राप्त नभएकाले हामीले प्राप्त गरेका कागजात तथा विवरणहरु पूर्ण नहुन पनि सक्छन्,” प्रतिवेदनमा भनिएको छ ।
सहकारी ऐन २०४८ को दफा १२ को उपदफा (१) ले अधिकार प्रयोग गरी २०६५ असार १ गते बसेको पहिलो प्रारम्भिक भेलाले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न समिति गठन गरेको थियो । त्यसपछि संस्थाले विभिन्न व्यक्तिहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ ।
संस्थाको २०८० भदौ २१ सम्म प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीको वासलात अनुसार संस्थाको कर्जा सापटी १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८ रुपैयाँ १८ पैसा देखिन्छ । तर कम्प्युटर लेखा प्रणालीकै कर्जा सूची अनुसार सदस्यहरुलाई प्रदान गरिएको कर्जा १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ४९ पैसा देखिन्छ ।
“दुवैतर्फको विवरण अनुसार २ लाख ५४ हजार ५३७ रुपैयाँ ३१ पैसा फरक पर्न गएको छ,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रा।लि।ले दुई पटक पुलेसो कर्जा लिएको उल्लेख छ । गोरखा मिडियाले बिना धितो कर्जा लिएको छ । उक्त मिडियो पहिलो पटक अकाउन्ट नम्बर ११६–०००४३६४ मा १ करोड रुपैयाँ लिएको छ ।
गोरखा मिडिया नेटवर्क प्रा।लि।ले दोस्रो पटक एकाउन्ट नम्बर ११६– ०००४८०१ मा १ करोड ३० लाख ८९ हजार रुपैयाँ कर्जा लिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै प्रतिवेदनमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं। ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको उल्लेख छ । उक्त पेश्की फछ्यौट खाता नं. १०३९–०००६६७५७ बाट गोरखा मिडिया नेटवर्क प्रा।लि। ले गरेको छ ।
“पेस्की फछ्यौट गर्न कृतिम खाता प्रयोग गरी रकमान्तरण गरेको पाइन्छ । यस कारोबारमा संस्थाका पूर्व अध्यक्ष गिजेन्द्र बाबु राईको नामबाट देहाय बमोजिमको कारोबार भएको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सदस्य, गैरसदस्य, कृतिम सदस्यहरुका कुल १८ हजार ७०० वटा बचत खाता सञ्चालनमा रहेको जनाइएको छ । “कुल बचत खातामा जम्मा बचत १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८८९ रुपैयाँ २ पैसा रहेको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

