अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा दशकौंदेखि भिन्न वैचारिक धारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण भएपछि दोश्रोपटक बसेको स्थायी समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनले अहिले चर्चा बटुलेको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिस्थिति, विश्व परिस्थिति, आम निर्वाचनको समिक्षा, संगठनात्मक समिक्षा तथा आगामी कार्यभारको संक्षिप्तमा चर्चा गरेको छ ।

जारी स्थायी समितिको बैठकमा यो प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

प्रतिवेदनको वैचारिक पक्ष
प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले सबै विषयबस्तुलाई संक्षिप्तमा समेटेको हुँदा यसले विषयबस्तुको बृहत सैद्धान्तिक व्याख्या नगरेपनि यसले पार्टीको भविष्य र पार्टीको कार्यदिशाको बारेमा मोटामोटी दृष्टिकोण सार्वजनिक गरेको छ । यसलाई यसरी लिन सकिन्छ ।

१. शान्ति र क्रान्तिको प्रश्न : नेकपा एमाले र नेकपा माओवादीबीच एकता हुने समयमा सबैभन्दा ठूलो संशय दुबै पार्टीको कार्यदिशा र विचारलाई लिएर देखिएको थियो । पार्टी एकतापछिको यो कालखण्डमा समेत पार्टीको राजनैतिक कार्यदिशा र विचारमा कैयन फरक मत देखा परे । कतिपय पूर्व एमाले समूहबाट पार्टीको विचारका हकमा फरक मत समेत सार्वजनिक भए ।
स्थायी समितिको बैठकमा प्रस्तुत प्रतिवेदनले ‘सशस्त्र क्रान्तिको युग’ सकिएकोतर्फ संकेत गर्दै शान्तिपूर्ण प्रतिष्पर्धामा संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले राष्ट्रियको पूँजिको विकास गर्ने कुरा स्पष्टरुपमा अगाडि सारेको छ । प्रतिवेदनमा भनिएको छ–

  • “लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ। शान्तिपर्ण र बहदलीय प्रतिष्पर्धा मार्फत संविधान सम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभत वैचारिक समानता एवम पार्टी नेतत्वको समचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो ।”

यो प्रतिवेदनले यसअघि जारी भएको प्रतिवेदनलाई नै आधार मान्दै शान्तिपूर्ण प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाको समर्थन गरेको छ । भविष्यमा यो शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा परम्परागत संसदीय व्यवस्था भन्दा के अर्थमा फरक हुन्छ र पार्टीले यही बहुदलीय प्रतिष्पर्धामार्फत समाजवादमा पुग्ने कार्यनीतिक चरणहरु कसरी अगाडि बढाउँछ भन्ने विषयमा बहस चल्न सक्छ । यो कुरा पार्टीको महाधिवेशनपूर्व तयार हुने दस्तावेजले स्पष्ट पार्ने छ । यसका साथै वर्गको अस्तित्व भएको समाजमा वर्ग संघर्ष र शान्तिपूर्ण तरिकारले राज्यसत्ता उपयोग गर्ने बीचको अन्र्तसम्बन्धलाई समेत भविष्यमा स्पष्ट गर्नुपर्ने आवश्यकता प्रतिवेदनले अघि सारेको छ ।

यसका साथै पार्टीले एकतापूर्वका दुबै समूहका विचारलाई समेत संश्लेषणमा जोड दिँदै भनेको छ–

  • पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिन्पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ।

२. विश्व अन्तरविरोधबारे
प्रतिवेदनले एकाधिकार पूँजिवादसँग विश्वका जनताको अन्तरविरोध रहेको तथ्यलाई आत्मसात गरेको देखिन्छ । खासगरी वित्तिय एकाधिकारवादी पूँजिवादले तेश्रो विश्वमा शोषण बढाएकोले संसारभरीका मुक्ति आन्दोलनसँग ऐक्यबद्धता गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको देखिन्छ । प्रतिवेदनमा उल्लेख छ–

  • घटनाक्रमले आज पनि एकाधिकार पंजीवादको नव(औपनिवेशिक शोषण(उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताका राष्ट्रिय मुक्ति आन्दोलनका बीचको अन्तरबिरोध विश्वका प्रधान अन्तरविरोधका रुपमा प्रकट भइ नै रहेको छ । यति नै बेला चीन लगायतका देशहरूले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरू हासिल गरिरहेका छन् ।

यसै सन्दर्भममा प्रतिवेदनले चीनले अघि सारेको बिआरई परियोजनालाई एकाधिरका पूँजिवादविरुद्धको सचेत प्रयत्नका रुपमा चित्रण गरेको छ । त्यसो त बिआरई र समाजवादी आन्दोलनका बारेमा खासै बहस भएको छैन । तर केन्द्रीकृत एकल ध्रुवीय वित्तिय पूँजिवादका विरुद्ध बिआरई एउटा चुनौती बन्ने कुरालाई भने नकार्न सकिन्न । प्रतिवेदनले बिआरआईबारे संक्षिप्त चर्चा गर्दै यो परियोजना अमेरिकाको वित्तिय एकाधिकारका लागि चुनौती बन्न अघि सारिएको परियोजनका बारेमा उल्लेख गरेको छ । यसले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक रणनीति र बिआरआईका बारेमा नेकपाका सदस्यहरुले निर्माण गर्नु पर्ने धारणाका बारेमा समेत संकेत गरेको छ । वर्तमान विश्वमा अमेरिकाले एकाधिकारवादी वित्तिय पूँजिवादलाई प्रश्रय दिएको सन्दर्भममा बिआरआई नेपालको समाजवादको यात्राका लागि सहयोगी बन्न सक्नेतर्फ संकेत गरेको छ ।

३. संगठनात्मक कार्यशैलीका बारेमाः

एकीकृत पार्टीमा पूर्ववत गुटहरुको अस्तित्व कायमै रहेको सन्दर्भममा जनवादी केन्द्रीयता छिन्नभिन्न भएको तर्फ प्रतिवेदनले विशेष संकेत गरेको छ । पार्टीभित्र अराजकतावादी प्रवृत्ति बढदै गएकोतर्फ चिन्ता गर्दै प्रतिवेदनले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको उल्लेख गरेको छ ।

  • “पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।”

एउटा जीवित कम्युनिष्ट पार्टीभित्र फरक विचार, फरक शैली र फरक मत स्वभाविक हुने भएपनि त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा अराजकतावादी प्रवृत्ति हावी हुने र बिरेधी तत्वहरुले फाइदा उठाउनेतर्फ प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ ।

यो नेकपाभित्र अहिलेको प्रमुख समस्या पनि हो । खासगरी पाटीृ एकताले तलसम्म पूर्णता नपाएको अवस्था र दुई पार्टीको पुरानो मनोविज्ञान कायम रेको अवस्थामा अनुशासनहीनताको यो अवस्थाले जनतामा पार्टीप्रति वितृष्णा बढने खतरा बढेको अवस्था विद्यमान छ ।

प्रतिवेदनमा अगाडि भनिएको छः

  • पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्न, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ।

४.समाजवादोन्मुख कार्यक्रमका पक्षमा दृढता

प्रतिवेदनले बिस्तृत विवेचना नगरेपनि पार्टीले जनतासँग जोडिएका जनजीविकाका समस्या र समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि पहल गर्न विशेष जोड दिएको छ । प्रतिवेदनमा भनिएको छ–

  • सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन(सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना(ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।

यसरी हेर्दा प्रतिवेदनले नेकपाभित्र वैचारिक बहसका लागि बाटो खुला गरेको छ । पार्टीभित्र विचार संश्लेषणको प्रक्रिया अझै गति नलिएको र एकता प्रक्रियाले पूर्णता अझै नपाएको अवस्थामा कार्यदिशा नै झल्किने गरी प्रतिवेदन सार्वजनिक हुने अवस्था देखिँदैन । यो अवस्थामा यो प्रतिवेदनले नेकपाले आगामी दिनमा लिनुपर्ने बाटो र संगठनात्मक कार्यशैलीमा गर्नुपर्ने सुधारका बारेमा मार्ग निर्देशन गरेको देखिन्छ ।

प्रतिवेदनको अन्तिम प्याराले समग्र प्रतिवेदनको सारलाई यसरी प्रस्तुत गरेको छ ः

  • “यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रुपमा प्रतिकुल अन्तराष्ट्रिय बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास के सौभाग्यशाली पुस्ता हौ, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो। इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्ने पर्छ र सबैको साथ लिएर यो अभिभारा प्राप्त गर्नुपर्छ । हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।”

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।