२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष
जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याईन् । विद्यार्थी राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।
पढाइसँगै राजनीतिमा सक्रिय उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् ।
अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय६ थालारैकरबाट पूरा गरेकी हुन् । कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् ।
शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।
कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन
काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् । तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो । बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो ।
दाउन्नेमा यातायात ठप्प, यात्रुलाई सास्ती
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् ।
अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार र वडा नम्बर ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गरे । जवाफमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरुवात गरिएको जानकारी दिंदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । त्यतिबेला पालिका मुकामसम्म पुग्ने गरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको उल्लेख गर्दै बजेट शीर्षक परेकाले सरकारले चाहेमा स्रोत सुनिश्चित गर्न सक्ने भएकाले आफूले प्रतिपक्ष दलको नेताको रुपमा पहल गर्ने बताउनुभयो । सुदूरपश्चिमको परिचित अपि हिमालको नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत विस्तारका लागि विद्युत प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो । सो क्रममा गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देबकीदेवी बोहरा, सबै वडा अध्यक्षलगायतका जनप्रतिनिधि, कर्मचारी, कांग्रेसका पालिका सभापति शोबनसिंह लोथ्याल, माओवादी केन्द्रका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकाया लगायत ३५ जनाद्वारा हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई बुझाइएको थियो ।
सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’