कांग्रेससँग सत्तासहकार्य टुट्नुमा राजनीतिक वैचारिक कारण मुख्य : प्रधानमन्त्रीका प्रेस सल्लाहकार
'कांग्रेसले महासमिति बैठकबाट गठबन्धनको औचित्य समाप्त पार्दै माओवादीलाई अतिवादी शक्तिकारुपमा चित्रण गरेकाले ऊसँग सरकारमा सहकार्य अन्त्य हुन पुग्यो'
पछिल्लो समय नयाँ राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे राष्ट्रिय समाचार समिति (रासस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यसँग सङ्क्षिप्त कुराकानी गरेको छ । यहाँ सल्लाहकार आचार्यसँग गरिएको संवादकाे सम्पादित अंश प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्य अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाउनुपर्ने आवश्यकता किन पर्यो ?
कांग्रेससँगको सत्ता गठबन्धन रातारात टुटेको होइन । यसका पछाडि प्रधानमन्त्रीज्यूको कांग्रेससँग केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरु रहेका छन् । मुख्यरुपमा राजनैतिक वैचारिक मतभेद उत्पन्न भएपछि अब कांग्रेससँग टाँसिएर रहनुहुँदैन भन्ने अवस्था सृजना हुन पुगेको हो । हो, कांग्रेससँग गठबन्धन टुट्नुका पछाडि केही व्यावहारिक जटिलता र कारण पनि छन् तर ती मुख्य होइनन् । मुख्य कारण राजनीतिक कारण नै हो जसका कारण गठबन्धन टुट्न पुगेको हो ।
त्यस्ता के राजनीतिक कारण वा बाध्यता आइलाग्यो, जसले प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्य तोड्नु पर्यो ?
खासगरी यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा जारी कांग्रेसको नीति महाधिवेशनका रुपमा लिइने महासमिति बैठकमा प्रस्तुत भई सर्वसम्मतरुपमा पारित भएका दस्तावेजमा माओवादीसहितका दलसँग गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै गठबन्धन नगर्ने सैद्धान्तिक निर्णय गरेपछि माओवादी कांग्रेससँगै टासिइरहनु राजनीतिकरुपमै गलत हुनजान्थ्यो । त्यसमाथि महासमितिमा उपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरी पारित भएको नीति प्रतिवेदनमा माओवादीलाई ‘दृश्य–अदृश्य शक्तिकेन्द्रको आडमा २०४७ सालको संविधान र व्यवस्थाविरुद्ध लागेको अतिवादी शक्ति’ का रुपमा चित्रण गरिएको छ । अहिले सहकार्य भइरहेको दलमाथि यसखालको आक्षेप लगाउनु जरुरी नै थिएन । उक्त नीति प्रतिवेदनको पृष्ठ २० मा ‘माओवादीका कारण देश दलदलको भासमा पुगी पछाडि धकेलिएको’ भन्दै २०४७ सालको संविधान र तत्कालिन राजतन्त्रात्मक व्यवस्था नै ठीक रहेको आशय व्यक्त गरिएको छ । यसरी धेरै पुरानो भइसकेको विषय र प्रसङ्गलाई कांग्रेसले १२ बुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा स्वीकार गरिसकेको छ र सशस्त्र सङ्घर्ष वा जनयुद्धकै कारण परिवर्तन सम्भव भएको कुरा संविधानमा लिपिबद्ध गरिसकिएको छ । त्यसलाई अहिले विद्ध्रुपीकरण गर्नुपर्ने आवश्यकता किन पर्यो ? कांग्रेसले पछिल्लो पटक राख्दै आएको धारणा विपरीत हुने गरी माओवादी जनयुद्धविरुद्धमा र २०४७ सालको संविधान नै ठीक भएको आशय आउने गरी किन नीति निर्माण गर्नु पर्यो ? साथै, कांग्रेसले गरेको निर्णयमा अमूर्त विषय राखेर संविधान संशोधन गर्ने भनेर किन भनियो तथा संविधानको धर्म निरपेक्षताको प्रावधान विपरीत हुने गरी हजारभन्दा बढी महासमिति सदस्यद्वारा हिन्दू धर्मका नाममा किन हस्ताक्षर गर्नु प¥यो ? यस्ता कैयौँ गम्भीर नीतिगत प्रश्न पनि खडा भएका छन् । त्यसैले कांग्रेससँगको सत्ता गठबन्धन राताराता तोडिएको होइन र यसका पछाडि राजनीतिक र वैचारिक मतभेद नै मुख्य हो । यसमा कांग्रेस नै जिम्मेवार रहेको स्पष्ट हुन्छ ।
यस्ता विषय त कांग्रेससँग आपसमा छलफल गरेर पनि टुङ्गो लगाउन सकिँदैनथ्यो र ?
राजनीतिकरुपमा कांग्रेसले फरक लाइन पास गरेर माओवादीमाथि गम्भीर आरोपहरु थोपरिसकेपछि कांग्रेससँग नै टासिइरहनु पर्दथ्यो भनेर कसैले भन्छ भने त्यो माओवादीका लागि राजनीतिक वैचारिकरुपमै गलत हुन जान्थ्यो । यी प्रश्नहरुले माओवादी पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीलाई उक्त पार्टीसँगको सहकार्यबारे गम्भीररुपमा सोच्नुपर्ने ठाउँमा पुर्यायाे । जुन कुरा उहाँले कांग्रेस महासमिति बैठकका निर्णय सार्वजनिक गरिएको केही दिनपछि फागुन १७ गते चितवनमा सार्वजनिकरुपमै व्यक्त गर्नुभएको थियो । शान्तिसम्झौताको हस्ताक्षरकर्ता पार्टी कांग्रेसले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गरी माओवादीमाथि आरोप लगाउने कार्यलाई बेमौसमी बाजा भन्दै प्रधानमन्त्रीले यसलाई सच्च्याउन कांग्रेससँग बिन्तीपत्र नहालिने स्पष्ट पार्नुभएको थियो । यसरी जुन दलले गठबन्धन आवश्यक नरहेको ठहर गर्यो माओवादीले त्यो दलसँग गठबन्धन गरिरहनु जरुरी र औचित्यपूर्ण पनि थिएन ।
कांग्रेस एउटा अलग्गै पार्टी भइसकेपछि उसले माओवादी जनयुद्धलगायत विषयमा आफ्नो स्वतन्त्र धारणा बनाउन सक्दैन र ?
राजनीतिकरुपमा अहिले माओवादी जुन ठाउँमा खडा छ, त्यसको आधार जनयुद्ध नै हो । अहिलेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि माओवादी जनयुद्धकै जगमा खडा भएको हो । कांग्रेसले माओवादी जनयुद्धलाई पूरै अवमूल्यन गरेर जनयुद्धकालमा सरकारमा बसेर माओवादीमाथि आतङ्ककारी घोषणा गरी दमन गरिरहेको अवस्थामा झैँ चित्रण गर्नु र २०४७ सालको संविधानको बचाउ गर्नुले कांग्रेसले प्रतिगमन त रोजेन भन्ने आशङ्कालाई ठाउँ दिएको छ नि । यसमा कांग्रेसका विद्वान नेताहरुको किन ध्यान गएन ? माओवादी पार्टी, समग्र माओवादी आन्दोलन र त्यसको नेतृत्वमाथि कांग्रेसले आरोप लगाइरहँदा उसैसँग टासिइरहनु सम्भव नै थिएन । त्यसबेला माओवादीका सामु तीनवटा विकल्प थिए । पहिलो त कांग्रेसको समर्थनमा प्रधानमन्त्री पद सुरक्षित बनाउन कांग्रेसले जेजस्तो निर्णय गरे पनि प्रतिक्रियाविहीनरुपमा बसिरहनु, दोस्रो यसको विरोध गर्दै प्रधानमन्त्रीबाटै राजीनामा गरेर भाग्नु र तेस्रो कांग्रेसबाहेक अहिलेको संविधान र व्यवस्थाका पक्षमा रहेका अन्य दलको समर्थन प्राप्त गरेर अघि बढ्नु ।
प्रधानमन्त्रीज्यूले कांग्रेससँग झुकेर पदमा बसिरहने वा राजीनामा दिएर देश र जनताप्रतिको जिम्मेवारीबाट भाग्ने बाटो रोज्नुभएन । बरु उहाँले तत्काल पहलकदमी लिएर संविधान र व्यवस्थाका पक्षमा रहेका अन्य दलहरु, जसले उहाँलाई यो कार्यकालका लागि सुरुमा प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए, ती दलसँग सहकार्यको हात बढाउनु भयो र उहाँहरुसहितको नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरियो । यसरी प्रधानमन्त्रीको सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने आफ्नो अभियानलाई रोक्नुभएन र थप प्रभावकारीरुपमा अघि बढाउने सामूहिक प्रतिबद्धता गरियो । यसमा कांग्रेससँग प्रतिवेदन सच्च्याउनुस् भनेर निवेदन त हालिएन नि ? बरु कांग्रेसले आफ्नो कित्ता स्पष्ट गरिसकेपछि माओवादीले पनि स्वतन्त्र निर्णय गरेर आफ्नो कित्ता ‘क्लियर’ गर्यो ।
नेपाली कांग्रेससँगको सहकार्यमा व्यावहारिक कठिनाइ पनि थिए कि ?
हो, कांग्रेससँगको गठबन्धन टुट्नुका पछाडि केही व्यावहारिक कारणहरु पनि थिए तर ती निर्णायक कारण भने होइनन् । निर्णायक त मैले भनेझैँ राजनीतिक वैचारिक कारण नै हो । कांग्रेससँग गठबन्धन गरेर जाँदा प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न अपेक्षाकृत साथ पाउनु भएन । भूटानी शरणार्थी प्रकरणमा प्रहरीले छानबिन अघि बढाएपछि प्रधानमन्त्रीमाथि भएको दबाब, घेराबन्दी र असहयोग सामान्य थिएन । त्यसबेला प्रधानमन्त्रीले बरु आफूले प्रधानमन्त्री पद छाड्ने तर सुशासनको यात्रा नरोक्ने सार्वजनिकरुपमै उद्घोष गर्नुभएकै हो । यसपछि पनि पाइला पाइलामा प्रधानमन्त्रीमाथि असहयोगका सयौँ दृष्टान्त छन् । कार्यसम्पादन कमजोर भएका र विवादमा आएका मन्त्री परिवर्तन गर्न खोज्दा रोकियो । राज्यसत्ता सञ्चालनमा अनावश्यक हस्तक्षेप हुन थाल्यो । यी विषय कांग्रेस नेतृत्वलाई राम्रैसँग थाहा छ, जसका बारेमा एक–एक घटनामा तथ्यसहित बहस गर्न सकिन्छ ।
कांग्रेससँग गठबन्धन गरेर माओवादीले मात्र फाइदा उठायो र अहिले थप केही नपाउने भएर गठबन्धन नै तोडियो भन्ने आरोप छ त ?
यो गलत आरोप हो । बरु कांग्रेससँगको गठबन्धनबाट माओवादीलाई घाटा र कांग्रेसलाई नाफा मात्र भइरह्यो । सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेस माओवादीसँग मिल्दा पहिलो दल बन्यो । यसअघि उसले पाएको सिटभन्दा झन्डै तेब्बर सिट बढायो । माओवादी भने पहिलेभन्दा खुम्चियो । प्रतिनिधिसभामा पहिलेको ५२ सिटबाट घटेर जम्मा ३२ सिट मात्र पायो । यसमा कांग्रेसको भोट माओवादीलाई गएन । चुनाव सम्पन्न भइसकेपछि पनि कांग्रेसले चुनावअघि माओवादीसँग भएको राजनीतिक सहमति तोडेर बेइमानी र धोका दिने काम गर्यो । पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिने सहमतिबाट कांग्रेस पछि हटेकै कारण २०७९ पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड, एमाले, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यसपछि प्रधानमन्त्री प्रचण्डकै प्रस्तावमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाइयो । कोशीमा माओवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने गठबन्धनको निर्णय विपरीत कांग्रेसले विपक्षी दलसँग तालमेल गरेर आफ्नै मुख्यमन्त्री बनायो ।
त्यसैगरी कोशीमा कांग्रेस उम्मेदवार जित्दा माओवादीवाट राष्ट्रियसभा सदस्य उम्मेदवार चम्पादेवी कार्कीलाई हराइयो । कांग्रेसबाट यति ठूलो अन्तर्घात हुँदा पनि कांग्रेसले जिम्मेवार नेता र सांसदलाई कारबाही त परैको कुरा स्पष्टीकरण लिनसम्म आवश्यक ठानेन । यी घटनाहरुलाई पनि प्रधानमन्त्रीले आपसमा बसेर छलफलबाट हल गर्न सकिन्छ भन्नुभयो । तर यही पृष्ठभूमिमा कांग्रेसले महासमिति बैठकबाट एक्कासी गठबन्धनको औचित्य समाप्त पार्दै माओवादीलाई अतिवादी शक्तिकारुपमा चित्रण गरेकाले ऊसँग सरकारमा सहकार्य अन्त्य हुन पुगेको हो । त्यसैले गठबन्धनबाट बढी फाइदा त कांग्रेसले नै लिएको थियो ।
कांग्रेसले माओवादीबाटै गठबन्धन तोडेर धोका दिइएको र राजनीतिक बेइमानी भएको आरोप लगाएको छ त ?
राजनीतिकरुपमा गठबन्धनको औचित्य छैन भन्ने कांग्रेस, अनि माओवादीलाई जनयुद्धकालमा कांग्रेसले भने जसरी हिंसावादी शक्ति भन्दै भए नभएका आरोप लगाउने पनि कांग्रेस । कोशीमा दुईपटक माओवादीलाई धोका दिने कांग्रेस अनि माओवादीले धोका दियो भन्न अप्ठेरो मान्नु पर्दैन । वास्तविक अर्थमा भन्ने हो भने राजनीतिक बेइमानी र धोका दिने काम कांग्रेसले गरेको हो, जसलाई घटनाक्रमले नै पुष्टि गर्दछन् । आफै पटक पटक माओवादीलाई धोका दिने, सरकार सञ्चालनमा पनि असहयोग गर्ने तथा राजनीतिक प्रतिवेदन नै पास गरेर माओवादीमाथि आरोप थोपर्ने कांग्रेसले अरूमाथि यस्ता आरोप लगाउँदा आत्मरति त होला तर वास्तविकतासँग भने मेल खाँदैन ।
माओवादीले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग मिल्नुमा बाह्य शक्तिको हात छ भनिदैछ नि ?
यसमा कुनै बाह्य शक्तिलाई दोष दिनु पर्दैन । हाम्रा नेपालका राजनीतिक दलका नेता बसेर नयाँ गठबन्धन बनाइएको हो । नयाँ गठबन्धन कुनै बाह्य देश वा शक्तिको पक्ष वा विपक्षमा बनेको होइन । यो नेपाल र नेपाली जनताको हितमा बनाइएको हो भन्ने कुरा प्रधानमन्त्रीज्यूले प्रस्ट पारिसक्नु भएको छ । प्रधानमन्त्रीले समयमै एमाले, रास्वपा, राजपा र एकीकृत समाजवादीसँग गठबन्धन नगरेको भए देश थप अस्थिरतामा जान्थ्यो । नेपालको आन्तरिक राजनीतिक मामिलामा बाहिरी शक्तिलाई जोड्नु आवश्यक छैन ।
नयाँ गठबन्धन पनि केही समयमै भत्कने टिप्पणीप्रति तपाईंको प्रतिक्रिया के छ ?
नयाँ गठबन्धनमा रहेका पाँच राजनीतिक दलका सिद्धान्त हेर्ने हो भने यो स्वाभाविक गठबन्धन हो जसले माओवादी अध्यक्ष प्रचण्डलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनायो, तिनै शक्ति अहिले यो गठबन्धनमा छन् । खासगरी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहितका नेताहरुले गठबन्धन बनाउन र यसलाई अघि बढाउन जसरी पहलकदमी लिइरहनु भएको छ, यसले गठबन्धन लामो समयसम्म जाने स्पष्ट पार्दछ । यो गठबन्धन कुर्सीका लागि मात्रै भन्दा देश र जनताका पक्षमा केही काम गर्ने उद्देश्यका साथ बनेको छ । त्यसैले गठबन्धनका बारेमा बाहिरी केही व्यक्तिले टिप्पणी गरेजस्तो अवस्था छैन । स्वार्थका आधारमा बनेका गठबन्धन हुन् भत्कने । यो गठबन्धन त निश्चित राजनीतिक वैचारिक धरातलमा खडा भएकाले आगामी निर्वाचनसम्म जान्छ, यसमा ढुक्क भए हुन्छ । यही गठबन्धनले नै २०८४ सालको निर्वाचन पनि गराउनेछ ।
बालेन शाहलाई भ्रमित पारेर रास्वपामा ल्याइएको छ:ममता शर्मा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकि मधेश प्रदेशकि संस्थापक सभापति ममता शर्माले केहि दिन अघि रास्वपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरिन् । उनले पार्टीमा चरम आर्थिक अपारदर्शिता रहेको आरोप लगाएकी थिइन् । रास्वपा विधि, विधानमा नचलेको उनको भनाई छ । रास्वपामा कुनै जनलहर नभएको भन्दै उनले पुराना दलहरु नै सुध्रिएर आएको टिप्पणी गरेकी छन् । प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी ः रास्वपा किन परित्याग गर्नुभयो ? युवा पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने नारा थियो । राम्रालाई, जान्नेलाई छान्ने भन्ने नारा थियो । यस्ता नाराले आशा देखाएका कारण मैले देश परिवर्तन हुन्छ कि, मत परिवर्तन होला सहिलाई सहि र गलतलाई गलत नै भनिएका भनेर म पनि लागेँ । म निरन्तर ४ वर्षदेखि संर्घषरत थिएँ । मधेश प्रदेशको सबै जिल्लाका वडा तहसम्म पुगेको थिएँ । मधेसमा महिला, बालबालिका, वृद्धवृद्धाको धेरै समस्या देखेँ । हरेक घरबाट एक व्यक्ति विदेशमा छन् । यि समस्यामा म उनीहरुको आवाज बन्न सक्छु भनेर लागेको थिएँ । अन्य युवाहरु पनि त्यसरी नै लागेका थिए । चार वर्षको अवधिमै पार्टीले प्राइमरी इलेक्शनको धज्जी उडायो । विधि, विधान विपरित कामकाज गरे । यि सबै कुराहरुबाट म निराश भएँ । मैले र मलगायत मधेशका सबै साथीहरुले सोचेका विचार विपरित पार्टीले काम गरिरह्यो । हिजो पुराना दलहरुले यस्तै गल्ती गरेकाले नयाँ शक्ति आएको हो । नयाँले पनि फेरी पुरानै अभ्यासलाई निरन्तरता दिएपछि नयाँ र पुरानोमा फरक देखिएन । पुराना दलहरु बरु सुध्रिएर जान लागि परेका छन् । तर नयाँ भनौदाहरु पुरानो भन्दापनि नयाँ अभ्यासलाई प्रोत्साहन दिनु र त्यही अभ्यासमा जुट्नु उचित भएन । यसकारण रास्वपा परित्याग गरे । पार्टीमा विधि, विधान विपरित सबै कामहरु भइरहेको छ । मैले बुझेपछि आफु गलत ठाउँमा बसेर गलत कुरालाई साथ दिनु भनेको मेरो नैतिकतामा पनि प्रश्न उठ्न थालेपछि म ब्याक भएको हो । रास्वपाप्रति जनलहर आएको भन्ने दाबी छ । जनलहर आइरहेको बेलामा तपाईले चाहिँ परित्याग गर्नुभयो नि ? कस्तो किसिमको जनलहर हो यो ? जनलहर बंगलादेशमा पनि आएको थियो । भारतमा पनि आएको थियो । सबै ठाउँमा आएको थियो जनलहर । जनलहर आउनु, परिवर्तन खोज्नु र त्यसलाई व्यवहारमा लागु गर्नुमा फरक छ । जान्नेलाई छान्ने भन्ने तर पुरानैलाई नयाँ पार्टी र चुनाव चिन्ह भिराएर नयाँ हुन्छ ? हुँदैन । मैले देखिरहेको छु, बालबालिकालाई चुनाव चिन्ह बोकाएर, टिसर्ट बाँडेर उनीहरुलाई प्रयोग गरेर जनलहर देखाइएको छ । समाजले खोजेको त्यो परिवर्तन होइन । कुनै जनलहर छैन । बालेन शाहलाई भ्रमित पारेर रास्वपामा ल्याइयो । उहाँ आएको ठाउँ सहि छैन । प्राइमरी इलेक्शनका लागि ४, ५ सय मान्छेले फर्म भरेँ । प्रत्येक सँग ५० हजारका दरले शुल्क उठाइयो । तर अन्तिममा सबै विधि, विधानको धज्जी उडाइदिए । सबैलाई साइड लगाइयो र त्यसपछि आयातित, हेरिकप्टर चढेर आउनेहरुलाई उम्मेदवार बनाइयो । मुखले भन्ने छुट्टै र व्यवहार देखाउने छुट्टै गरियो । बालेन शाहसँगै गलत व्यक्तिहरुको जमात प्रवेश गराइएको छ । बालेनजीलाई पनि भविष्यमा अप्ठ्यारो छ ।
रास्वपामा माननीय भन्नै लाज हुने मान्छेलाई टिकट बाँडिएको छ, संसद् नाटकघर जस्तो हुनेछ: पराजुली
कठमाडौँ । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे । उनी मकवानपुर जिल्लाका संस्थापक सभापति थिए । गत ०७९ को चुनावमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनले १२ हजार ५९ मत ल्याएका थिए । यस चुनावमा पनि टिकटको अपेक्षा गरेका उनलाई रास्वपाले टिकट नदिएपछि असन्तुष्ट थिए । पराजुलीले रास्वपा ठूलो दल भयो भने देश दुर्घटनामा जाने बताएका छन् । उनले रास्वपामा बालेन शाहको प्रवेशपछि रास्वपा ध्वस्त भएको भन्दै अझै विस्फोटको अवस्था रहेको बताएका छन् । प्रस्तुत छ पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी : रास्वपाको मकवानपुर जिल्ला सभापति जस्तो जिम्मेवार ठाउँमा हुनुहुन्थ्यो । चुनावको मुखमा रास्वपा छोड्नुको कारण के हो ? पछिल्लो समयमा पुराना राजनीतिक दलहरूप्रति राजनीतिक विचलन आएकै हो । पुराना दलका अकर्मण्यताले निराश भएका जनताले विकल्पको रूपमा रास्वपाको क्रेज बढेको थियो । तर मतदाताले सबै राजनीतिक कुरा बुझेका हुँदैनन् । मैले बुझ्दा, लहरले मात्रै एकचोटी चुनाव जित्ला, तर राजनीतिलाई दीर्घकालीन हिसाबले सोच्दा रास्वपाबाट देशलाई निकास दिन सकिँदैन । किनकि त्यहाँ राजनीति खाली गाली गरेर, अर्कोलाई बदनाम गरेर भोट बटुलेर देशले निकास पाउँदैन । जेनजीको बलिदानीपछि भएको अहिलेको चुनावमा रास्वपाको राजनीतिक दृष्टिकोण के हो त ? खाली अरूलाई गाली गर्ने मात्रै हो र ? हामी विदेशी हस्तक्षेप भयो भनेर अरूलाई विरोध गर्ने, कोही भारतीय दलाल भन्ने, कोही चीनको भन्ने । तर स्वयं रास्वपा कोबाट सञ्चालित छ भन्ने कुरा मैले बुझेँ । सैद्धान्तिक, वैचारिक बाटो रास्वपाले लिन सकेन भन्नु खोज्नुभएको हो ? हो । रास्वपासँग सैद्धान्तिक, वैचारिक बाटो छैन । कांग्रेसमा बरु गगन थापा, विश्वप्रकाश शर्मासहितको टिम आएपछि सुधारिएको कांग्रेसले देशको अभिभावकत्व राम्रो गर्छ । सुझबुझ भएको नेतृत्व कांग्रेसमा आएपछि मलाई यसप्रति विश्वास भयो र कांग्रेस फर्किएँ । रास्वपा कहाँबाट सञ्चालित छ भन्ने बुझेँ भन्नुभयो । रास्वपा कहाँबाट परिचालित छ त ? रास्वपा बाहिरबाटै सञ्चालित छ । नत्र भने प्रधानमन्त्री हुने बालेन शाहको दृष्टिकोण के हो त ? यो गर्छु, त्यो गर्छु, म प्रधानमन्त्री यस कारणले हुन्छु भनेको खोई ? खाली जेनजीको हवला दिएर मात्रै देश चल्दैन । विभिन्न देशी–विदेशी शक्ति मिलाएर, आन्तरिक रूपमा पनि सबै पार्टीलाई मिलाएर देश चलाउनुपर्ने अवस्था छ । उहाँको स्थिति र गतिविधि हेर्दा त्यो स्वभाव देखिँदैन । रास्वपाले बहुमत ल्यायो अथवा ठूलो दल भयो भने देश दुर्घटनातिर जाने मैले देखेँ । देशले परिपक्व अभिभावक खोजेको छ । चुनावको टिकट नपाएर रास्वपा परित्याग गर्नुभयो भन्छन् नि ? त्यो पनि स्वाभाविक हो । सुरुमा रास्वपा नै नचिनिँदा १४ हजार जनताले पत्याएको, पार्टी संगठन गरिरहेको मान्छेको मूल्यांकन छैन भने म सभापति भएर अरूलाई के न्याय दिन सक्छु र ? काम गर्ने मान्छेले टिकट पाउनु स्वाभाविक हो । तर त्यतिमात्रै होइन, नियत र प्रवृत्ति कस्तो हो भन्ने कुरा पनि हेर्नुपर्छ नि । टिकट नदिएको कारण चाहिँ के हो नि ? चिन्दै नचिनेको, सडकमा भाइरल भएको मान्छे, केटाकेटी जस्तो मान्छेलाई टिकट दिनु राम्रो हो त ? हिजो लडेको, पार्टी स्थापित गरेको सभापतिले टिकट नपाउनु अन्यायपूर्ण होइन र ? टिकट खोज्नु मेरो अधिकार होइन र ? रास्वपामा बालेन शाहको प्रवेशपछि झनै रास्वपा बलियो भएको भनिएको छ, तपाईंले यस्तो बेलामा पार्टी छाड्नुभयो । घाटा तपाईंलाई नै होला नि । बालेनको रास्वपा प्रवेशपछि पार्टी ध्वस्त भयो । बरु बालेन नमिसिँदा पार्टी आफ्नै लयमा थियो । राम्रो भइरहेको थियो । अहिले अनियन्त्रित भएको छ । रवि–बालेनले एकअर्कालाई विश्वास गरेको स्थिति छैन । दुईवटा समूह आपसमा अन्तर्घुलित भइसकेका छैनन् । भोलि यो विस्फोट हुनु नै छ । भोलि लथालिङ्ग हुनु छ, त्यसको भागिदार म किन हुनु ? रास्वपाको लहरको कुनै अर्थ छैन । काठमाडौँमा कुनै समय नानीमैयाँ दाहालले पनि चुनाव जितेकै हुन् नि । माननीय भन्नै लाजमर्दो मान्छेलाई टिकट बाँडिएको छ । यस्ता उम्मेदवारले जितेर गए पनि संसद्मा गर्नुपर्ने भूमिकामा के राम्रो हुन्छ र ? दलीय रूपमा पनि कुनै उद्देश्य, नीति र कार्यक्रम छैन । खाली अर्कोलाई जेल हाल्ने भन्दा अरू कुनै कुरा नै सुन्न पाइँदैन । भोलि संसद् नाटकघर जस्तो हुने मैले देखेँ ।
राजनीतिमा कुनै पनि कुरा असम्भव त छैन, तर हामीले यस पटकको चुनावमा गठबन्धन गर्दैनौँ : संयोजक प्रचण्ड
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग यो अन्तवार्ता उनको चुनावी तयारी, एमाले अध्यक्ष केपी ओलीसँग भइरहेका पछिल्ला कुराकानी र सहकार्यको सम्भावनामा केन्द्रित छ । उनले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता– चुनावी तयारी कस्तो छ ? मजाले लागिराखेको छ । जिल्ला जिल्ला जाने क्रम छ । जेनजी आन्दोलनपछि केन्द्रीय समितिबाट हामीले या त हामी धेरै पार्टीसँग एकता गर्छौं वा हामीले आफ्नै विशेष महाधिवेशन गर्छौं भन्ने निर्णय गरिएको थियो। तर यसबीचमा एकता अधिवेशन भयो । धेरै पार्टीहरु साना ठूला हामी एकीकृत भएका छौं । नेपाली कम्युनिस्ट पार्टी भएको छ । म त्यसको संयोजक भएको छु । कमरेड माधव कुमार नेपाल त्यसको सहसंयोजक हुनुभएको छ र अब हामी देशभरि एकता सन्देश सभा भनेर पनि हिड्यौं जनताको भावना मनस्थितिलाई हामीले नजिकबाट नियाल्ने कोसिस गर्यौं । धनगढीदेखि हामी जनकपुर, विराटनगर हुँदै सुर्खेत अनि लमही, काठमाडौँसम्म आउँदा जनताको आशा भरोसा विस्तारै नेपाली कम्युनिष्ट पार्टी प्रति यो एकताप्रति र हामीले गरेको आत्मसमीक्षाप्रति देश अहिले जस्तो अवस्थामा छ त्यसबारे हाम्रो धारणा र अब हामी कसरी नेपाललाई अगाडि बढाउन चाहन्छौं भन्ने बारे रुचि बढेको आशा बढेको भरोसा बढेको हामीले देखेका छौं । हामीले एकता सम्मेलन गर्दा हाम्रो दस्तावेजमा हाम्रा पनि केही त्रुटिहरू भए । त्यसको हिस्सा हामीले लिनुपर्ने छ । जनता र युवाहरुको भावना र आवश्यकतालाई बुझेर हामीले जे जति कामहरु तदारुकताका साथ गर्नु पर्थ्यो गरिएन भन्ने समीक्षा पनि हामीले गरेका छौं । र, हामीले फेरि पटक पटक समीकरण बनाउने बदल्ने गर्दा पनि जनतामा अलिकति कन्फ्युजन भयो भन्ने पनि हामीले समीक्षा गरेका छौं । सायद तपाईंहरूले पनि नोट गर्नुभयो होला यो पटक हामी कसैसँग पनि समीकरण गरेका छैनौं अहिलेको चुनावमा । हामी एक्लै सायद पहिलो पार्टी हो जो १६४ ठाउँमा हामीले उम्मेदवारी दिएका छौं । खाली एउटा मात्रै ठाउँ बाग्लुङ १ र २ मा हामीले राष्ट्रिय जनमोर्चासँग तालमेल गर्यौं । एउटा सिटमा बाँकी सबैमा हामी उठेका छौं । यो पनि हाम्रो आत्मसमीक्षा विगतको समीक्षाकै परिणाम हो । त्यसकारण हामीले त्यसको साथै पार्टी संगठनलाई जनतासँग जोड्ने कुरा अनि हामीले जसलाई प्रतिनिधित्व गर्थ्यौं नि । उत्पीड़ित वर्ग जाति क्षेत्र लिङ्ग समुदाय अनि तमाम सहिदहरुका परिवार अनि बेपत्ता योद्धाका परिवारसँगको हाम्रो संवाद सहकार्य अलि कम भएको हुनाले पनि चाहिँ कमजोरी भयो । हामीले कृषिको क्षेत्रमा या उद्योगको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, उर्जाको क्षेत्रमा हामीले केही गर्न पक्कै खोज्यौं तर त्यो पर्याप्त भएन । त्यसकारण हामीले त्यसको पनि रिभ्यू गर्नुपर्छ र अगाडिको लागि हामीले मार्गचित्र कोर्नु पर्छ भन्ने पनि गर्यौं । यसरी समग्रमा हामीले सबै पक्षमा समीक्षा गरेर नै नेपाली कम्युनिष्ट पार्टी बनाएको हो । कांग्रेस एमाले रास्वपाले प्रधानमन्त्री उमेदवार तोके । नेकपाले तोकेन किन ? हामीले अहिले कसैलाई पनि प्रधानमन्त्री या राष्ट्रपति या केही भन्नु उचित हुँदैन भनेर सचेत रुपले नै त्यो त भोलि जनताले कस्तो अभिमत दिन्छ ? त्यसको फैसला गर्ने त अन्तत: जनमतै हो । तर हामीले पहिले नै तोक्ने कुरा उचित हुँदैन भन्ने ठानेर हामीले गरेनौं । अरुले गरेका छन् । मैले यताकता भन्ने गरेको छु, जसले आफूलाई प्रधानमन्त्री भनेका छन् तिनी चाहिँ हुँदैनन् नभनेको चाहिँ हुन्छन् भन्ने गर्या छु मैले। जसले भनेका छैनन् ति चाहिँ बरु हुन सक्छन्। भनेकाहरु चाहिँ हुने देख्दिन । यो अलि अलि व्यङ्ग्य पनि हो। अलि अलि प्रतिकात्मक पनि हो। जनताले अहिले प्रधानमन्त्री को हुने भन्ने खोजिराखेको छैन। सिस्टमलाई नै कसरी व्यवस्थित गर्ने भन्ने कुरा खोजिराखेको छ। त्यसकारण जनताको भावना र मनोविज्ञानलाई हेर्दा अहिले म प्रधानमन्त्री त प्रधानमन्त्री भनेर अगाडि जाने बेला होइन। जनताका मुद्दाहरु, मागहरु सम्बोधन गर्ने गरी पार्टीहरुले आफूलाई जनतासँग जोड्ने बेला हो भन्ने मलाई लाग्छ। कुनै बेला नयाँ पार्टी भनेर तपाईंहरुलाई चिनिन्थ्यो । अहिले जनताले नयाँ खोज्दा तपाईंहरु पर्नुभएन है ? यो अलि धेरै गम्भीर प्रश्न जस्तो लाग्छ । ६४ सालमा तत्कालीन नेकपा माओवादी जसको म अध्यक्ष थिएँ त्यो पार्टीलाई नयाँ मान्यो नेपाली जनताले । गणतन्त्र संघीयता समावेशी समानुपातिक जस्ता मुद्दा थिए । तिनलाई संविधान संशोधन गरेर अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । त्यसकारण आज पनि विचारले राजनीतिक मुद्दाले जनताका आवश्यकता र भावना मर्मलाई सम्बोधन गर्ने हिसाबले हामी नै नयाँ हो। म जति पनि तर्क गर्न तयार छु। हामी नै नयाँ हो । गणतन्त्र नै नयाँ हो । संघीयता नै नयाँ हो । अनि समानुपातिक समावेशी प्रतिनिधित्व नै नयाँ हो । नेतृत्वमा लामो समय एउटै व्यक्ति बस्दिनुहुन्छ। पुस्तान्तरणको बाटोलाई विधिसम्मत ढंगले सहज बनाउनुहुन्न । अब पार्टीको हिसाबले तपाईंलाई २०४४ साल देखि निरन्तर नेतृत्वमा रहेको भनेर भन्ने गरिन्छ। यी त राजाभन्दा लामो शासन गर्न लागे भनेर एकथरीले कटाक्ष पनि गर्छन् हैन ? त्यसो भन्नेहरुले मुद्दा लिएर आउनुपर्यो । आइडियोलोजी ल्याउनु पर्यो । हामी जनतालाई यसरी उन्मुक्ति दिन्छौं भनेर विचार लिएर आउन पर्यो । हाम्रा यी मुद्दाहरु हुन् । यी पुराना पार्टी र पुराना नेताहरुले यी मुद्दा द्वारा जनताको सेवा गर्ने, जनतालाई मुक्त गर्ने, जनभावना अनुसार काम गर्न सकेनन्। हामी गर्छौं भनेर मुद्दा सहित आउन पर्यो। पपुलिजमको विश्वव्यापी हावाहुरी छ । उदार पुँजीवाद भनेर जसलाई भनिन्छ नवउदारवाद भनेर जेलाई भनिन्छ, त्यो विश्वभरिका धन कुबेरहरु ठूला-ठूला चैं खर्बपति अर्बपति पुँजीपतिहरुको मान्यता अनुसार तथाकथित लोकप्रियतावाद नेपालमा मात्रै होइन बिना विचारधारा बिना सिद्धान्त बिना मान्यता सोसियल मिडियामा स्टन्टै गरेको भरमा जनताको दिमाग खराब गर्ने जो प्रवृत्ति छ । त्यो कुनै देशभक्त नेपालीको प्रवृत्ति हुन सक्दैन त्यो कुनै राष्ट्रप्रति माया गर्ने जनताप्रति माया गर्ने मानिसहरुको प्रवृत्ति हुन सक्दैन। तपाईं हेर्नुभयो भने नेपाल मात्रै होइन। दक्षिण एसियामा हिजो श्रीलंकामा के भयो ? अस्ति बंगलादेशमा के भयो ? अस्ति नेपालमा के भयो ? भन्ने हेर्नुभयो भने या मलेसियामा के भयो, अरु देशमा के भयो, फिलिपिन्समा के भयो भनेर हेर्नुभयो भने यो नवउदारवादी सिस्टम भित्रबाट ठूला ठूला पुँजीपतिहरुले विश्वभरि आफ्नो शासन सत्ता सुदृढ गर्ने उद्देश्यका साथ त्यस्ता भुइँफुट्टाहरुलाई अगाडि ल्याउने र तिनीहरु द्वारा आफ्नो स्वार्थ पूर्ति गर्ने एउटा प्रवृत्ति जो चलेको छ । मेरो दृष्टिमा अहिले त जसलाई नयाँ भन्ने गरिएको छ । स्टन्ट दिने गरिएको छ । ती नयाँ होइन सबभन्दा पुराना हुन् । तपाईलाई सबभन्दा पुराना हुन् भनेर म पुष्टि गर्न सक्छु । किनकी तिनीहरु विश्व साम्राज्यवादका रणनीतिका अंग बनेर देखा परेका छन् । मैले नेपालमा मात्रै भन्या छैन, विश्वभरि यो ट्रेन्ड देखा पर्दै छ । नेपाली राजनीतिमा नयाँ भनेको अहिले पनि हामी गणतन्त्रवादी नै हौं । संघीयतावादी, पहिचानवादी समावेशी समानुपातिक मान्यता वाला नै नयाँ हुन् । तपाईंले भर्खरै नौ उदारवादले सिर्जना गरेको विश्व साम्राज्यवादले सिर्जना गरेका भुइँफुट्टाहरु भनेर कसलाई भन्न खोज्या हो ? अहिले मैले नाम लिएर त्यो भन्या छैन । मैले त के देख्छु इतिहासमा जेलस्की युक्रेनमा कसरी जन्म्यो भन्ने हेरेको हो । मैले तपाईंले खाली नेपालको रास्वपा यस्ता भन्ने यो त सानो कुरा भयो । मेरो तर्कको अगाडि यसको केहि अर्थ छैन । विश्वव्यापी रुपमा जेलेन्स्की तयार पार्ने बंगलादेशमा के भयो ? कस्तो मान्छेलाई ल्याएर के गरियो कसले गर्यो भन्ने हेर्नु भयो भने विश्वभरि नै साम्राज्यवाद संकटमा छ । विश्व पुँजीवाद संकटमा छ भन्ने लाग्छ मलाई । त्यो संकटमा परेको पुँजीवादले यस्ता मान्छे खोजिराख्या छ पपुलिस्ट अथवा यस्तो विचार द्वारा उत्प्रेरित गरेर आफ्नो दलाल तयार पार्न खोज्दै छ । जसले उसको इशारामा जे पनि गर्न तयार होस्, जलाउन पनि तयार होस्, मार्न पनि तयार होस्, मर्न पनि तयार होस् भन्ने टाइपको। तपाईं हेर्नुभयो भने इजरायल र चाहिँ प्यालेस्टाइनको के भयो? हाम्रो अगाडि के देखियो? अस्ति भेनेजुएलामा के भयो ? के देखियो? अहिले इरान तिर के हुँदै छ, के देखिँदै छ भनेर हेर्नुभयो भने नेपाल पनि त्यो प्रवृतिबाट जाँदैछ । त्यो प्रवृत्ति जो विश्वव्यापी रुपमा विश्व पुँजीवादले साम्राज्यवादले फैलाउन खोजेको छ त्यसको बाछिट्टा त्यो हावाहुरी नेपालमा पनि आउन खोजेको त होइन ? प्रत्येक देशभक्त नेपालीले जसलाई राष्ट्रको माया छ जसलाई दशकौंदेखि गरेको संघर्ष विद्रोह आन्दोलन त्याग बलिदानबाट स्थापित भएका मूल्य मान्यता छन् रातारात रातारात विध्वंस गरेर चाहिँ सिध्याउन खोज्ने प्रवृत्ति कहीँ त्यस्तो त होइन भनेर पनि आम नेपाली जनताले निधार खुम्च्याएर राम्रैसँग सोच्नु पर्ने बेला आएको छ । रास्वपाको कुरा गर्दा, रवि लामिछाने मेरो क्याबिनेटमा दुई चोटी गृहमन्त्री हुनुहुन्थ्यो। मैले उहाँलाई उहाँको स्पिरिट अनुसार राम्रो होस्, देशमा भनेको हो भने ठिक छ भन्ने वाला हुँ। तपाईं बालेनको र हर्क साम्पाङको कुरा गर्नुहुन्छ भने लोकतन्त्रका नै हुन यिनी उपज लोकतन्त्र कै फूलबारीका फूल हुन्। तपाईंले त गणतन्त्रको बगेको त्यसकारण मेरो कसै प्रति व्यक्तिगत त्यसकारण मेरो व्यक्तिगत रिसइबी न बालेनसँग न रवि सँग न हर्कसँग कसैसँग नि छैन। मैले त यसलाई हामीले संघर्ष र बलिदान गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको लोकतन्त्रको फूलबारीमा फुलेका मान्छे भनेर सम्झेको हो मैले। तपाईंले अब उहाँहरु बिस्तारै त्यो बाट अर्को ठाउँमा जानुहुन्छ भने त्यो उहाँहरुको प्रोब्लम हो मेरो होइन। मेरो समस्या होइन यो। मैले त धेरै माथिबाट सोचेर चाहिँ डिल गर्न खोजेको थिएँ । तर मैले अहिले जे तपाईंको प्रश्नमा उत्तर दिन खोजिराख्या छु विश्वव्यापी रुपमा एउटा प्रवृत्ति कमजोर राष्ट्र माथि हैकम जमाउने र अनेक चल्खेल जालझेल गरेर जेलेन्स्की हरु तयार पार्ने जो प्रवृत्ति छ । लोकप्रियतावादको नाममा इतिहासलाई बदनाम गर्ने त्याग तपस्या र निष्ठा को राजनीतिलाई निस्तेज पार्ने केहि नि होइन त्यो भन्ने पुराना पार्टी नेताहरु जसले इतिहासमा धेरै संघर्ष गरेर अहिले यी नयाँ भन्ने साथीहरुलाई जन्माउने त तिनै हुन् । अनि तिनलाई नाम गरेर मैले भन्ने गर्छु आफ्नै आमाबाउलाई रुवाउने छोराछोरीले देश बनाउँछन् समाज बनाउँछन् भन्ने सोचियो भने त्यो पनि दुर्भाग्यपूर्ण हुन्छ । त्यसकारण म ती नयाँ भन्ने साथीहरुलाई पनि अभिभावकलाई अपमान गर्ने काम नगर्नुस् भन्छु । नेपाल अहिले जहाँ आइपुगेको छ, राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले या परिवर्तनको दृष्टिकोणले त्यसमा योगदान गर्नेहरुलाई अपमानित चाहिँ नगर्नुस् भन्ने मात्रै मेरो आग्रह छ । अभिभावकले छोड्दै छोड्नु भएन भन्नुहुन्छ नि त, पुस्तान्तरण नै गर्दिनु हुँदैन भनेर आलोचना भइरहेको छ । अभिभावकले छोडेन भनेर लगेर खाल्टामा हाल्ने त अभिभावकलाई? त्यो त झन ठिक हुँदैन नि त। जेलेन्स्की कलाकार थिए । टेलिभिजनलाई प्रयोग गरेर राजनीतिमा आएका थिए। नेपालमा यस्तो जेलेन्स्की को छ ? मैले अहिले कसैलाई यहिँ छ जेलेन्स्की भन्न खोजेको होइन। मेरो कुरालाई फेरि त्यसरी पनि नलियोस्। तर नेपालमा पनि जेलेन्स्कीको खोजी भइराख्या छ। विश्व पुँजीवादले म भन्छु विश्व साम्राज्यवादले कहिँ न कहिँ जेलेन्स्की खोज्छ नि । एउटै यही मात्रै जेलेन्स्की हुन्छ भन्ने हुँदैन गर्दै जाँदा हुनसक्छ त्यो कलाकार भित्रैबाट परोस् हुनसक्छ त्यो राजनीतिक चाहिँ परिवार भित्रबाटै परोस् तर जेलेन्स्की भनेको आखिरमा गएर तपाईंको चाहिँ विश्व पुँजीवादको दलाल भनेर नै चिनिन्छ। तपाईंहरू (प्रचण्ड, केपी ओली वा देउवा) ‘पुटिन’ जस्तो बन्न खोजेकाले यहाँ ‘जेलेन्स्की’हरूको उदय भएको त होइन? विल्कुल होइन, त्यस्तो कुरा केबाट पुष्टि हुन्छ र ? अझ मेरै हकमा भन्ने हो भने त, ‘जेन्जी’ आन्दोलन र युवाहरूका मुद्दा ठिक छन् भन्ने पहिलो नेता र पार्टी म नै हुँ । उनीहरूले उठाएका सुशासन र भ्रष्टाचार विरोधी मुद्दाहरूमा मैले सरकारमा हुँदा पनि अभियान चलाएको हो र प्रतिपक्षमा हुँदा पनि लडिरहेकै छु । युवाहरूको माग सही छ र सरकारले उनीहरूमाथि दमन नगरोस् भनेर वक्तव्य दिने नेपालको पहिलो नेता पनि म नै हुँ। सरकारले दुई-तिहाइको अहंकार नगरोस् र युवाहरूको आवाजलाई बल प्रयोग गरेर नदबाओस् भन्ने मान्छेलाई पनि ‘ती शासक जस्तै उस्तै हो’ भन्ने भाष्य कसले बनायो ? मलाई लाग्दैन कि सुशासन चाहने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भन्ने ती साना भाइबहिनी (जेनजी युवा) हरूले यो भाष्य बनाएका हुन् । ‘प्रतिपक्षमा भएको पनि उस्तै, भ्रष्टाचार विरुद्ध लड्ने पनि उही र भ्रष्टाचार गर्ने पनि उही’ भन्ने भ्रम कतैबाट नियोजित रूपमा फैलाइएको छ । तपाईंले यसलाई ठूलो षड्यन्त्र भन्न खोज्नुभएको हो ? प्रश्न गहिरो छ । हिजोका सामन्त राजा-महाराजा, राणा परिवार र पञ्चहरूका कोही ‘नेपो-बेबी’ वा ‘नेपो-किड्स’ नहुने, तर क्रान्ति र परिवर्तनका निम्ति लडेका नेताका सन्तानलाई मात्रै निसाना बनाएर प्रचार कसले र किन गर्यो ? प्रतिपक्षमा बसेर भ्रष्टाचार विरुद्ध लडिरहेकै मान्छेको घर र कार्यालय जलाउनुपर्ने वातावरण कसले बनायो ? यो सब किन भइरहेको छ भने— संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्ने नेताहरूलाई आक्रमणको सिकार बनाउने र राजा-महाराजाका आसेपासेलाई चाहिँ केही नगर्ने खेल भइरहेको छ। यसबाट प्रस्ट हुँदैन र कि नेपालमा निकै ठूलो षड्यन्त्र र अर्कै केही खेल भइरहेको छ? त्यसो भए नवयुवाहरूको त्यो आन्दोलन ‘हाइज्याक’ भएको हो भन्न खोज्नुभएको ? ती किशोर-किशोरीहरूको मन पवित्र थियो र छ। त्यसैले मैले भन्ने गरेको छु— तपाईंहरूको अभिभावक हामी हौँ। तपाईंहरूको माग र चाहनाका लागि लड्दै आएका र ती मुद्दा सही छन् भन्ने पनि हामी नै हौँ। तर २३ गते जसरी त्यहाँ नरसंहार भयो, हामी त प्रतिपक्षमा थियौँ। हामीले नै सबैभन्दा पहिला त्यसको विरोध गर्यौँ र सरकारले अविलम्ब राजीनामा दिनुपर्छ भन्यौँ । मारिएका ती युवाहरूलाई सहिद घोषणा गर्नुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ भनेर वक्तव्य जारी गर्ने पनि हामी नै हौँ। यति हुँदाहुँदै पनि हामीलाई पनि एउटै घानमा हाल्ने काम कसले गर्यो? त्यो नेपाली मानसिकता वा राजनीतिक चेतना हुनै सक्दैन, त्यो अर्कै केही शक्ति हो। तपाईंले २०८१ भदौ १२ गते संसद्मै उभिएर ‘नेपाल बंगलादेश वा श्रीलंका जस्तो बन्न सक्छ’ भनेर संकेत गर्नुभएको थियो। त्यसको केही समयमै भदौमा त्यस्तै प्रकृतिका घटनाहरू देखिए। तपाईंले त नेपालमा यस्तो विद्रोह हुन सक्छ भनेर पहिले नै देख्नुभएको रहेछ, हैन? अहिले चाहिँ तपाईं बंगलादेश वा श्रीलंकामा जे भयो, त्यसको विरुद्धमा हो ? पहिलो कुरा, त्यसबेला मैले सरकारलाई सजग र सचेत गराएको मात्र हो। संसद्को रोस्टमबाट बोल्दा पनि मैले भनेको थिएँ- ‘तपाईंहरूको मत धेरै छ, संख्या धेरै छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने नठान्नुहोस्।’ म प्रतिपक्षमा पुगेपछि ‘नेपाल बंगलादेश हुनुपर्छ’ भनेको चाहिँ बिल्कुलै होइन। यो कुरा तपाईंको लोकप्रिय सञ्चारमाध्यमबाट प्रस्ट पारिदिनुहोला। मैले त्यस्तो सोचेको पनि छैन र भनेको पनि छैन । मैले त सरकार जुन गलत बाटोमा हिँड्दै थियो, त्यसप्रति मात्र सचेत गराएको हुँ। दुईवटा पार्टी मिलेर बहुमत छ, हामी दुई-तिहाइ नजिक छौँ भन्ने भ्रममा नबस्नुहोस्। बंगलादेशमा शेख हसिनाको पार्टीको पनि दुई-तिहाइ थियो, तर के भयो? त्यो प्रवृत्तिलाई हेरेर सचेत हुनुहोस्, नेपाललाई बंगलादेश हुनबाट बचाउनुपर्छ भन्ने मेरो भाव र ‘स्पिरिट’ हो। तपाईंले उत्पीडित वर्गको कुरा गर्नुभयो, तर के तपाईं लगायत ठूला दलका नेताहरू यही वर्गबाट काटिँदै गएकाले जनताले नयाँ नेता खोजेका हुन् ? यो कुरा अरू पार्टीहरूको हकमा होला, तर मेरो नेतृत्वको पार्टीको हकमा यो बिल्कुल गलत हो। हामीले सरकारबाट बाहिर आइसकेपछि सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आत्मसमीक्षासहित जनतासँग जोडिने अभियान चलायौँ। तराई-मधेसमा डेढ महिना लगाएर झापादेखि कञ्चनपुरसम्म गरिब, मजदुर, किसान, व्यापारी र बुद्धिजीवीका कुरा सुन्यौँ। सहिद र बेपत्ता परिवारका घरमा पुग्यौँ, उनीहरूले जे खान्छन् त्यही खायौँ र जहाँ सुत्छन् त्यहीँ सुत्यौँ। त्यस्तै, मध्यपहाडी लोकमार्गको यात्रामा बैतडीदेखि पोखरा र लमजुङदेखि गोरखासम्म पुग्दा हाम्रो पार्टीको पक्षमा एउटा नयाँ लहर, भरोसा र आशा देखिएकै थियो। मलाई त के शंका छ भने- संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी र यसको नेताले आत्मसमीक्षासहित जनतासँग जोडिन थालेपछि पुँजीपति, दलाल र तिनका मालिकहरू आत्तिए। त्यसपछि एउटा नयाँ नाटक मञ्चन गरियो। नाटक भन्नाले, तपाईंले २४ गतेको विध्वंसलाई भन्न खोज्नुभएको हो ? हो, मलाई त गम्भीर शंका छ। जसले सिंहदरबार, सर्वोच्च अदालत, र संसद भवन जलायो, देशभरका प्रहरी चौकी जलायो, हतियार लुट्यो र पार्टी कार्यालयहरू जलायो- त्यो विध्वंस कतै षड्यन्त्र त थिएन? म फेरि एकचोटि जनताका लागि समर्पित भएर अगाडि बढ्छु भन्दा तराई-मधेस र पहाडमा जुन उभार देखिएको थियो, त्यसबाट अतालिएकाहरूले गरेको षड्यन्त्र त होइन यो? यो शंका म नेपाली जनताको मनमा दर्ज गर्न चाहन्छु। म फेरि पनि भन्छु- २३ गतेसम्मका युवाहरूको पवित्र मनलाई म सम्मान गर्छु, त्यहाँ जो सहिद भए उनीहरूलाई सलाम गर्छु। तर २४ गते जे भयो, त्यो सलाम गर्न लायक काम होइन। त्यो त दुत्कार्न लायक काम हो। त्यो नेपाललाई विध्वंस गर्ने र राष्ट्रको स्वाधीनता एवं आत्मनिर्णयको अधिकारलाई सिध्याउने षड्यन्त्रको परिणाम हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसको विषयलाई जसरी उठाइरहनुभएको छ, तपाईंका कतिपय तर्कहरू पनि उहाँसँगै मिल्न खोजेका देखिन्छन्। के यो बीचमा चुनावलाई लिएर तपाईंहरूबीच कुनै राजनीतिक समझदारीका लागि छलफल चलिरहेको हो ? होइन, तपाईंले भनेजस्तो कुरा मिलेर यसो भएको होइन। २४ गतेको विध्वंसको पहिलो दिनदेखि नै ‘यो गलत हो र आन्दोलन हाइज्याक भयो’ भन्नेमा म प्रस्ट थिएँ। स्वयं ‘जेन्जी’ युवाहरूले नै २४ गते नै आफ्नो आन्दोलनमा घुसपैठ भयो भनेका थिए। १०-११ गतेपछि त वास्तविक युवाहरूले ‘यो आन्दोलन अर्कैले लगे, अब घर फर्कौँ’ भनेको तपाईं-हामीले सुनेकै हौँ। त्यसैले मैले त यो कुरा त्यति बेलैदेखि भन्दै आएको छु। अहिले तपाईंले लगेर जोसँग जोड्न खोज्नुभयो, त्यतिबेला उहाँसँग हाम्रो कुरा मिलेकै थिएन। तर, एउटा कुरा के हो भने-संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अनि विध्वंस गर्ने प्रवृत्तिलाई परास्त गर्न जो-कोहीसँग पनि छलफल हुन सक्छ। यसमा हामी अहिले पनि खुला छौँ । केपी ओलीसँग चुनावलाई लिएर सहकार्य हुने कुनै ठाउँ छ त ? म तपाईंलाई एकदम स्पष्ट भन्छु-मेरो कुरा रास्वपासँग पनि भइरहेको छ, कांग्रेसका नेताहरूसँग पनि भइरहेको छ। हिजो शेरबहादुर देउवाजीसँग भयो, आज गगन थापासँग पनि भइरहेकै छ । केपी ओलीसँग कुरा गर्दैमा जातै जाने भन्ने त होइन। कुरा सबैसँग भइराखेको छ र हुन्छ। तर, यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौँ। मैले अघि नै भनेँ-हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौँ। १६५ मध्ये किन १६४ भन्नुभयो भने, बागलुङमा नेकपा (मशाल) को खुल्ला संगठन राष्ट्रिय जनमोर्चासँग हाम्रो तालमेल भएको छ। त्यहाँ एक नम्बर क्षेत्र उहाँहरूलाई दियौँ, दुई नम्बर हामीले लियौँ। योबाहेक अन्यत्र कतै तालमेल भएको छैन। सबैसँग कुरा गर्नु मेरो विशेषता नै हो, म सहज ढंगले सबैसँग संवाद गर्छु। जनमोर्चालाई बागलुङमा छाडेजस्तै केपी ओलीलाई झापामा छाड्ने वा कांग्रेसलाई सर्लाहीमा सघाउने जस्तो खालको सहकार्य हुन सक्छ कि सक्दैन ? यो असम्भव कुरा चाहिँ होइन, तर अहिलेसम्म त्यस्तो कुरा भएको पनि छैन। म एकदम क्लियर भन्छु-राजनीतिमा असम्भव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो भइसकेको छैन। केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर छलफल भइरहेकै छ। यो बीचमा भेट पनि भएको छ ? भएको छ। तपाईंलाई किन ढाँट्ने र? शेरबहादुरजीसँग पनि भेट भएको छ, केपीजीसँग पनि भएको छ। दुवैतर्फ संवाद छ। रवि लामिछानेसँग पनि भएको छ। बालेनका बुवा बितेका बेला म उहाँको घरमै गएर कुरा गरेको छु। त्यसैले मलाई कसैसँग छलफल गर्न अप्ठ्यारो छैन। राष्ट्र अप्ठ्यारोमा भएको बेला यो परिवर्तनको मुख्य वाहक हुनुको नाताले मैले जिम्मेवारी सम्झेर धेरैसँग संवाद गरेको छु। रुकुम पूर्वको प्रसंगमा कुरा गर्दा-मैले केपीजीसँग कुरा गरेँ। त्यसपछि उहाँले हत्तपत्त पूर्वी रुकुममा जनार्दन (शर्मा) द्वारा समर्थित र मेरा विरुद्ध खडा भएका एक युवालाई समर्थन गरिदिनुभयो। केपी ओलीजीले रुकुम पश्चिममा पनि (तपाईंविरुद्ध) अरूसँग तालमेल गर्नुभयो। उहाँको सोच्ने तरिका कस्तो रहेछ भन्ने यसले देखाउँदैन र ? देखाउँछ नि। मैले उहाँलाई भनेँ पनि- ‘यस्तो पनि गर्ने हो? एकातिर देश अप्ठ्यारोमा छ भन्ने, अर्कोतिर प्रचण्डलाई नै हराउन यत्रो हतारो गर्ने?’ जुन प्रचण्डले देश कसरी एकताबद्ध गर्ने र राष्ट्रको स्वाधीनता कसरी रक्षा गर्ने भनेर सोचिरहेको छ, उसैलाई सिध्याउन लाग्ने ? मेरो कुरा सुनेपछि बल्ल उहाँ त्यो सहमतिबाट एक स्टेप पछाडि हटेर, पूर्वी रुकुममा अरूलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै उम्मेदवार कायम गर्नुभयो। तर, त्यो पनि प्रचण्डलाई समर्थन गरेको चाहिँ होइन। केपी ओलीले तपाईंलाई भन्नुभयो कि भएन- ‘प्रचण्डजी, म यत्रो संकटका विरुद्ध लडिरहेको छु, तपाईंले चाहिँ मेरो विरुद्ध झापामा रञ्जित तामाङलाई उठाउने?’ रञ्जितलाई उठाउने त स्वाभाविक कुरा हो। पार्टीले उम्मेदवार उठाउने कुरालाई मैले गल्ती भनेको होइन। मेरो आलोचना त के हो भने- उहाँले पूर्वी रुकुममा मेरा विरुद्ध किन उम्मेदवार उठाउनुभयो भन्ने मात्र होइन, मेरा विरुद्ध उठाइएको अर्को पात्रलाई समर्थन गर्न आफ्नो उम्मेदवार किन पछि हटाउनुभयो भन्ने हो। यो कुरा तपाईंले बुझ्नुपर्छ। मान्छेको स्वभावलाई प्रतिशतमा नाप्न त मिल्दैन, तर आजको दिनमा तपाईं केपी ओलीलाई १०० मा कति प्रतिशत विश्वास गर्नुहुन्छ? राजनीति सम्भावनाको खेल हो भनेर मैले धेरै पटक संसद्को रोस्टमबाटै बोलेको छु। राजनीतिमा वास्तवमा कतिबेला के हुन्छ भन्ने कुरा पूर्वनिर्धारित गरेर हिँड्न सकिँदैन। परिस्थिति र आवश्यकता अनुसार धेरै हेरफेरहरू भइरहन्छन्। त्यसैले ‘हुँदै हुँदैन’ त म भन्दिनँ, तर अहिले उहाँलाई प्रतिशत तोकेर विश्वास गर्ने बेला होइन। मैले धेरै पहिलेदेखि ‘स्वर्ग र नर्क’का कुरा गरेकै छु। अहिलेको मुख्य कुरा के हो भने, विश्व पुँजीवादले नेपालमाथि विभिन्न रूपले चिथोर्न खोजिरहेको छ। केपी ओलीले तपाईंको घरमै आएर ‘कमरेड हामी मिलौँ, नत्र नेपालमा वामपन्थी सखाप हुन्छन् र हामी पश्चिम बंगालको नियति भोग्छौँ’ भनेको कुरा साँचो हो? हो नि। एकदिन मात्र भनेको भए त हुन्थ्यो, चार-पाँच महिना लगातार भनेपछि म त सोझो मान्छे, पग्लिएँ। यसपालि विश्व साम्राज्यवादले खडा गरेका चुनौतीबारे केपी ओलीलाई पक्कै जानकारी होला। उहाँले तपाईंलाई यसबारे केही भन्नुभएको छ? उहाँले कुरा त त्यस्तै गर्नुहुन्छ, तर मैले एउटै उदाहरणबाट त्यसको खण्डन गरिसकेँ। यदि उहाँ साच्चै गम्भीर हुनुहुन्थ्यो भने रुकुममा मेरो नेतृत्वको पार्टीविरुद्ध अर्को पक्षसँग तालमेल गर्नुहुने थिएन। यही एउटै कुराबाट तपाईं बुझ्नुस्, मलाई अब त्यतातिर धेरै नलाग्नुस्। केपी ओलीसँग पछिल्लो भेट कहिले भएको थियो? कहिले फोनमा कुरा हुन्छ, कहिले कतै भेट हुन्छ । तर अहिले ठ्याक्कै यही दिन भेट भयो भनेर भन्नुपर्ने गरी केही भएको छैन । अहिले तपाईंले २२-२३ वटा घटकहरूलाई जोड्नुभयो, ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउनुभयो। तर यो पार्टी अहिले ठूलो हुँदै हुँदैन। यो नेकपा बढ्दै बढेन नि? के भएको हो? बढिराख्या छ। त्यो तपाईंहरूलाई लागेको मात्रै हो। तपाईंहरूलाई पनि बेलाबेलामा अलिअलि ‘पपुलिजम’को हावाले छुन्छ, त्यसो भएर हो। हाम्रो पार्टी त बढेको बढेकै छ। हामीले अहिले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्छ भनेका छौँ। निर्वाचन होस्, हेर्नुहोला हामी एक नम्बर पार्टी हुन्छौँ। यसपालि तपाईंहरूलाई अनौठो लाग्नेछ, एक नम्बर हुने पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ नै हो। मलाई त्यस्तो लाग्छ र मैले यो कुरा भनेको पनि छु। अब हेरौँ । एमालेसँग मिलेर फेरि एक नम्बर बन्ने सम्भावना कति छ ? होइन, होइन, होइन। अहिले न एमालेसँग, न कांग्रेससँग- नो समीकरण । क्लियर । तपाईं फेरि यो विषयमा जनतालाई केही पनि कन्फ्युजन नपार्दिनुहोला। न कांग्रेससँग, न एमालेसँग- हाम्रो कुनै समीकरण हुँदैन। हामी एक्लै जान्छौँ। ‘नेपाली कम्युनिस्ट पार्टी’ नै भएर जान्छौँ, १६४ ठाउँमा लड्छौँ। र, मलाई विश्वास छ, हामी यसपालि फेरि एकचोटि राम्रो नतिजाका साथ एक नम्बर पार्टीको सम्भावना हाम्रो नै छ । तपाईंलाई आफैँसँग अचम्म लागिरहेको होला- २०७४ सालमा, २०७९ मा पनि गठबन्धन गरेको हो। तर यो पल्ट केही गठबन्धन छैन। यो पल्ट गगनसँग गठबन्धनका लागि कुरा गर्नुपर्ने अवस्था पनि बनेन। केपी शर्मा ओलीसँग पनि कुरा गर्नुपर्ने अवस्था रहेन। नयाँ परिस्थिति सिर्जना भयो है ? मलाई त अहिले बडो आनन्द आइरहेको छ। बल्ल हामी सक्कली एजेन्डावाला-जसले संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति नीतिगत लडाइँ लड्यो, संविधानसभाको निम्ति त्यत्रो बलिदान गरेको, जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने पार्टीहरू एकताबद्ध भएर आफ्नै खुट्टामा उभिएर जाँदै छौँ। म बडो प्रफुल्ल छु। खुसीको कुरा छ । पार्टीभित्रका हिजोका बहुमूल्य ‘हिरा’लाई मिल्काएर कताकताबाट ‘कोइला’हरू जम्मा गरेर एकता गरेजस्तो भएको त छैन नि? विल्कुल भएको छैन। मान्छेहरूले त्यस्तो भन्ने गर्छन्, तर त्यो त इतिहास र घटनाक्रमले पुष्टि गरिसक्यो नि! को हिरा हुन्, को किरा हुन् र को के हुन् भन्ने कुरा देखिइसक्यो। यदि उनीहरू साँच्चै हिरा थिए भने त जनताको नजरमा एकदम राम्रो भएर स्थापित हुनुपर्ने थियो, तर के भयो? त्यसो पनि नभनौं । बाबुराम भट्टराईले यत्रो त्याग गरिदिइराख्नुभएको छ ? बाबुरामजीको बारेमा अहिले म धेरै बोल्न चाहन्न। म यति मात्र भन्छु-अस्ति मेरो भेट भएको थियो, कुराकानी भयो। उहाँले ‘मिल्छ भने हामी फेरि पनि मिलेर जाऔँ’ भन्नुभएको थियो। मैले अहिले ढिलो भयो भनेँ । तर, मैले ग्राउण्डमा साथीहरूले के सोचेका छन् हेर्छु भनेको छु । ग्राउण्डमा बुझ्दा ‘अब बाबुरामजीलाई जोड्न सकिँदैन’ भन्ने कुरा आएपछि मैले उहाँलाई फोन गरेर ‘अहिले सम्भव छैन बाबुरामजी’ भनेँ। त्यसपछि उहाँले ‘त्यसो भए म नै ढोका खोलिदिन्छु, म छोडिदिन्छु’ भन्नुभयो। उहाँ त्याग गर्न बाध्य हुनुभएको हो र ? अब बाध्य हुनुभयो कि के हुनुभयो, त्यो अर्कै विषय हो। तर उहाँले मलाई ‘मैले फेरि हाम्रा बीचमा सहकार्य र संवादको ढोका खोलिदिएँ’ भन्नुभयो, मैले ‘धन्यवाद’ भनेँ। पछिल्लो कुरा यही हो। अनि, अहिले एउटा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ भन्ने पनि बनेको छ। त्योसँग तपाईंहरूको सहकार्यको ढोका कतै खुला छ कि छैन? के को हुनु ! त्यो त हाम्रै विरुद्ध गतिविधि गरेर बनाइएको हो। त्यसको बारेमा म धेरै भन्न चाहन्न, धेरै नसोध्नु न ! धेरै सोध्दिनँ, एउटै प्रश्न- त्यो पार्टी के उद्देश्यले खोलिएको हो त? त्यसको एउटै मात्र उद्देश्य ‘प्रचण्डलाई कसरी सिध्याउने’ भन्ने प्रतिक्रियावादी डिजाइनलाई ‘फुलफिल’ गर्नु हो भन्ने मेरो विश्लेषण छ। तर मेरो विश्लेषण सबैले मान्नैपर्छ भन्ने छैन, भोलि परिणामले नै देखाउँछ। अहिलेसम्म तपाईंहरूको घोषणापत्र आएको छैन । यसपालीको नारा के छ? तपाईंहरूसँग’तारा’ मात्रै छ यसपाली ? हामीसँग नारा पनि छ, तारा पनि छ। घोषणापत्र आज टुङ्गिँदै छ। सम्भवतः भोलि बेलुकासम्म हामी त्यसलाई सार्वजनिक गरिसक्छौँ। हाम्रो प्रतिबद्धता पत्रमा धेरै कुरा आउँछन्। हामीले अब समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने भन्ने कुरा ल्याउँछौँ। कृषिमा आधुनिकता, ऊर्जा क्षेत्रमा क्रान्ति, पर्यटन विकासका निम्ति स्थानीय स्तरबाटै पूर्वाधार निर्माण, र भौतिक पूर्वाधारको विकासमा तीव्रता दिने कुराहरू त्यसमा छन्। अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी राम्रो बनाउने भन्ने कुरा आउँछ र अन्तिममा मूल कुरो- उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित हुन्छौँ। सुशासन, उत्पादन र रोजगारी नै मुख्य कुरा हुन्। भ्रष्टाचारविरुद्धको अभियान हाम्रो अभियान हो। नेपाली युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउने र विदेशमा गएकालाई पनि नेपाल फर्काउने उद्देश्यका साथ आउँछ । कुरा त राम्रा आउन लागेछन्, तर ल्याउन अलि ढिलो भयो भन्ने लाग्दैन? छैन, ढिलो भएको छैन। हामीले आखिरमा एकता सन्देश सभाकै बेला जनतालाई भनिसकेका छौँ। हाम्रो एकता राष्ट्रिय सम्मेलनमा तयार पारेको दस्तावेजमा पनि यी कुराहरू आएका छन्। हामीले भन्न त बाँकी राखेका छैनौँ, तर चुनावी घोषणापत्रको रूपमा यो तुरुन्तै आउँदै छ। गगन थापा कांग्रेसको सभापति बनेर आएपछि तपाईंको कुराकानी भएको छ ? हो, भएको छ, फोनमा । उहाँ सभापति हुनेबित्तिकै सर्लाहीतिर जानुभयो । मैले फोन गरेर बधाई दिएको थिएँ। उहाँले त्यहाँको स्थितिबारे बताउनुभयो। ‘फर्केर आएपछि हामी एकचोटि भेट्नुपर्छ’ भन्ने कुरा भएको थियो, म पर्खेर बसिरहेको छु। कांग्रेसले विशेष महाधिवेशन गरेर पार्टीभित्रको अन्योल चिर्दै ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बाटो सहज गराउँछौँ’ भनेर एउटा निर्णय लियो, यसलाई कसरी हेर्नुभएको छ? अब यो नेपाली कांग्रेसभित्रको आन्तरिक मामिला हो। त्यो कसरी भयो भन्ने बारेमा म धेरै जान चाहन्नँ। अन्ततः उहाँहरूले विशेष महाधिवेशन गर्ने कुरा सर्वसम्मतले नै टुङ्ग्याउनुभएको थियो, पहिला त । पुसको अन्त्यतिर गर्ने सबैको सहमति थियो, पछि फेरि अलि भिन्न रूपले भयो। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दियो र त्यसले निर्वाचित गरेको केन्द्रीय समिति र सभापतिलाई पनि मान्यता दियो। तर, अहिले त्यो विषयलाई लिएर कांग्रेसकै एउटा पक्ष अदालत र निर्वाचन आयोगमा पनि गएको देखिएको छ। त्यसकारण यो विषय अझै ‘क्लियर’ भएजस्तो लाग्दैन। म गगनजीसँग पनि कुराकानी गर्न चाहन्छु। यो राष्ट्रको निम्ति, परिवर्तनको निम्ति र जनताको आवश्यकता अनुसार देशलाई राजनीतिक स्थायित्व र विकासतिर लानका लागि शेरबहादुर देउवाजी र अरूसँग पनि कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण मैले अहिले यो वा त्यो पक्ष भनेर किट्ने स्थिति छैन र मेरो दृष्टिकोणमा अहिले त्यसो गर्नु उचित पनि छैन। म सबैसँग समदुरीमा कुरा गरिरहेको छु। तर, कांग्रेसमा के भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तपाईंको लागि ? अझै स्पष्ट भइसकेको छैन । मैले बुझ्न बाँकी नै छ। त्यसैले गगनजी र शेरबहादुरजीसँग बसेर अलि लामो कुरा गर्न चाहेको छु। वास्तविक कुरा के हो भन्नेबारे अहिले नै ‘यस’ वा ‘नो’ मा उत्तर दिन सक्ने स्थिति छैन। यो बीचमा देउवासँग त भेट भएको छ नि, हैन? देउवाजीसँग बेलाबेलामा भेट भइरहन्छ। कहिले उहाँकोमा गएर भेट हुन्छ, कहिले राष्ट्रपति कार्यालयमा, त कहिले प्रधानमन्त्रीकहाँ-भेटघाट त भइराखेकै छ। तपाईंलाई छक्क लाग्दैन ? तपाईं शान्ति प्रक्रियामा आउँदै गर्दा नेविसंघको महामन्त्री भएर हिँडिरहेको केटो (गगन थापा) अहिले नेपालको सबैभन्दा पुरानो पार्टीको सभापति भइदियो । के अब ‘हाम्रो पनि बेला आएछ, बाटो खाली गरेर युवाहरूलाई ठाउँ छोड्नुपर्ने भएछ’ भन्ने लागेको छ कि छैन? होइन, त्यो त सबै पार्टीहरूको आफ्नो विकासक्रम र आन्तरिक ‘डाइनामिक्स’ हुन्छ। यो नेपाली कांग्रेसको आन्तरिक कुरा हो। गगन थापाजी कोही नयाँ ‘जेनजी’ चाहिँ होइन। उहाँ ५० वर्ष वरिपरिको हुनुहुन्छ। उहाँ दशकौँदेखि नेपाली कांग्रेसको आन्दोलनमा लागेको नेता हो। त्यसैले ‘जेनजी’ आयो भनेजसरी बुझ्नु र सोच्नुहुँदैन। उहाँहरू आफ्नो आन्तरिक कारणले नेतृत्वमा आउनुभयो, तर त्यही कुरा हामीले पनि सिक्नुपर्छ भन्ने छैन। तर, युवाहरूको भावनालाई सम्बोधन गर्ने पहिलो पार्टी त हामी नै भयौँ नि! यो कुरा पनि नोट गर्नुहोला। परिवर्तन चाहने युवाहरूको भावना कदर गर्नुपर्छ भनेर अघि बढ्ने पार्टी हामी हौँ। रवि लामिछाने तपाईंको पुरानो जिल्ला चितवनबाट लड्ने उम्मेदवार पनि हुन्। उहाँसँग के कुरा भइरहेको छ ? रविसँग के कुरा भइरहेको छ भन्ने तपाईंहरूलाई थाहा नै छ। रविविरुद्ध अलि बढी राजनीतिक प्रतिशोध लियो भन्ने कुरा मैले हिजो पार्लियामेन्टको रोस्टमबाटै बोलेको छु र बाहिर जनताका बीचमा पनि भनेको थिएँ। यो कुरा तपाईंहरूले पक्कै रेकर्ड गरिराख्नुभएकै होला। उनी जेलमा हुँदा मैले भेट्न गएर ‘के छ, कसो छ, सहज-असहज के छ?’ भनेर संवाद गरेको थिएँ। त्यो कुरा मैले मिडियाका अगाडि पनि भनेको थिएँ । मेरो क्याबिनेटको दुई-दुई पटक गृहमन्त्री भएको नाताले पनि उनीसँग संवाद गरेको हो। अर्को कुरा, जतिबेला हामी सुशासनको पक्षमा अगाडि बढ्दै थियौँ र हामीलाई सरकारबाट हटाउने प्रपञ्च भयो त्यतिबेला । रवि र मेरो आवाज र भाषा एउटै थियो। तपाईंहरूले हेर्नुभयो होला, मैले रविलाई धन्यवाद पनि दिएको थिएँ। उहाँलाई फकाउन ठूला पार्टीहरूले कम मिहिनेत गरेका थिएनन्, तर रवि त्यस्तो अप्ठ्यारोमा पनि मेरो पक्षमा उभिए। मैले यसलाई सानो आँट ठानेको छैन। त्यही नाताले मैले बेलाबेलामा उहाँको स्वास्थ्य स्थितिबारे सोधखोज गर्ने गरेको छु। अस्ति अस्पताल हुँदा पनि मैले फोन गरेर बिमारीबारे सोधेको थिएँ। उहाँले सामान्य पनि हो, अलि जटिल पनि रहेछ भन्नुभयो । अहिले डिस्चार्ज हुनुभएको छ, मलाई कुरा गर्न कुनै असहज छैन। चुनावअघि कुनै पनि खाले सहकार्यको कुरा भयो भने तपाईंको निकटता वामपन्थीहरूसँग होला जस्तो देखिन्छ ? त्यस्तो मात्रै होइन। केही नेताहरूको हकमा संरचनागत समायोजन गरिने सम्भावना छ ? त्यो असम्भव त छैन, तर अहिले हामीले त्यतातिर छलफल केन्द्रित गरेका पनि छैनौँ। यो बेलामा तपाईंलाई फेरि एमालेसँग सहकार्यको आवश्यकता बोध भएको छ ? केपी ओलीसँग होस् वा उनीपछि विद्या भण्डारी वा अरू कोही नेतृत्वमा आउँदा-एमालेसँग फेरि एकताको अध्याय सुरु हुन सक्छ ? हुन सक्छ। मैले ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउने बेलामा नै हाम्रो लक्ष्य देशका सबै वामपन्थी, कम्युनिस्ट र देशभक्तहरूलाई एकै ठाउँमा ल्याउने हो भनेको छु। एमाले पनि त्यसभित्र पर्छ भन्ने कुरा त मैले एकता राष्ट्रिय सम्मेलन र एकता सन्देश सभाहरूमै भनिसकेको छु। सबै वामपन्थी एक ठाउँमा आएर राष्ट्र बचाउनुपर्छ भन्ने मेरो धारणा छ। त्यसकारण सिद्धान्ततः तपाईंको प्रश्नको उत्तर ‘पोजिटिभ’ छ। यो असम्भव छैन, तर अहिलेको चुनावमै त्यस्तो हुने स्थिति भने देखेको छैन। चुनाव आउन अब एक महिना बाँकी छ। कताकता ‘संसद् पुनस्थापना गर्नुपर्छ’ भन्ने चर्चा पनि सुनिन्छ। यसमा एमालेका नेताहरू पनि हुनुहुन्छ र कांग्रेसको एउटा टोली अदालततिर गइरहेको छ। तपाईं के भन्नुहुन्छ ? जतिबेला अन्तरिम सरकार बनेर निर्वाचनको मिति घोषणा भयो, हामीले भन्यौँ-हामी संसद् पुन:स्थापनाको विरोधी होइनौँ तर अब त्यो सम्भव छैन। अब नयाँ जनमतमा जानु नै उचित हो भनेर हामी निरन्तर निर्वाचनको प्रक्रियामा अगाडि बढिरहेका छौँ। एमाले र कांग्रेसका कतिपय साथीहरूले हस्ताक्षर संकलन गरेर अदालत जानुभयो, तर हामीले त्यसो गरेर पनि समस्या समाधान हुँदैन भन्यौँ। हुन्थ्यो भने त दुई तिहाइको संसद् छँदै थियो नि, किन भएन त? त्यसैले नयाँ जनमतद्वारा नै वातावरण सहज हुन्छ भनेर हामी यसमा सहभागी भएनौँ। आज खुसीको कुरा, कांग्रेस, एमाले लगायत सबै निर्वाचनमै लाग्नुभएको छ। तर, आजभोलि फेरि संसद् पुनस्थापनाको चर्चा चल्न थालेको छ। म के सम्झाउन चाहन्छु भने, २७ भदौमा निर्वाचन घोषणा हुँदा हामीले संविधान ‘डिरेल’ भयो भनेका थियौँ। सँगै सरकारलाई सघाएर निर्वाचनको वातावरण बनाउन पनि लाग्यौं । लगत्तै संसद् पुनस्थापना पनि एउटा विकल्प हो भनेर आठ पार्टीको संयुक्त वक्तव्य पनि आएको थियो। तर, आज देश चुनावमा होमिसकेको अवस्थामा फेरि संसद् पुनस्थापनाको सम्भावना पनि देखिँदैन र यो समस्याको समाधान पनि होइन। संसद् पुन:स्थापनाका बारेमा अब राजनीतिक तहमा पार्टीहरूले बहस गरिरहनु जरुरी छैन। यो विषय अदालतमा छ। सर्वोच्च अदालतले समग्र स्थितिलाई विचार गरेर ‘यस’ वा ‘नो’ मा जवाफ दिने अधिकार राख्छ। मेरो सुझाव के छ भने- यस्तो संवेदनशील विषयमा अदालतले छिटो बोलिदिनु राम्रो हुन्छ। यसलाई अँध्यारोमा राख्नु राम्रो हुँदैन। यो राष्ट्रको गम्भीर मुद्दा भएकाले अदालतले गर्ने निर्णय मान्य र वैध हुन्छ। जनताले त्यसलाई वैध ठान्छन् । अदालतले यो अवसर गुम्न दिनु हुँदैन भन्ने मेरो सुझाव छ । भनेपछि, तपाईंको ध्यान चुनावतिर छ, तर संवैधानिक प्रश्न भएकाले अदालतले जुनसुकै फैसला (पुनस्थापना नै भए पनि) गरेमा तपाईंलाई मान्य हुन्छ? अदालतले गर्यो भने त हामीले सधैँ स्वीकार गरेकै छौँ नि! तर, यसमा कसैले कन्फ्युजन नपार्नुहोला- हामी चुनावमा गइसकेका छौँ र चुनावमै जाने हो। संसद् पुनस्थापनाको मुद्दा अदालतमा छ, राजनीतिक दलहरूले अब यसमा टेन्सन लिन जरुरी छैन। चुनावकै तयारीमा सबै लाग्नैपर्छ। तर, यो संसद् पुनस्थापनाको हल्ला कहाँबाट चलिरहेको छ ? यो त जसले अदालतमा मुद्दा हालेका छन्, उनीहरूले नै बढी चलाएको कुरा हो। अदालत जाने पक्षले तपाईंलाई पनि अनौपचारिक रूपमा साउती मारिरहेका होलान् नि- ‘हामी अगाडि बढेका छौँ, तपाईंहरू यसलाई नरोक्नुस्’ भनेर ? प्रत्यक्ष-परोक्ष कुरा त एउटा होला, तर हामीले क्लियर गरेका छौँ। अहिले पुन:स्थापना भइहाल्ने सम्भावना पनि हामीले देखेका छैनौँ र देश चुनावी प्रक्रियामा अगाडि बढिसक्यो। अब त्यसबाट पछि हट्ने स्थिति पनि छैन। त्यसैले हामी हस्ताक्षर लिएर अदालत जाने पक्षमा छैनौँ। फागुन २१ गतेको चुनाव त सर्दैन नि ? सर्दैन। मैले बुझेसम्म एकछिन पनि सर्दैन। हिजो प्रधानमन्त्रीजीले तीन दलका नेताहरूलाई बालुवाटार बोलाउँदा वा शीतल निवास बोलाएको बेला राष्ट्रपतिजीले ‘अलि हतार भयो, कम्तिमा उम्मेदवार मनोनयन ५-७ दिन सारौँ’ भन्नुभएको थियो। तर न सरकार, न निर्वाचन आयोग- कोही पनि एक दिन सार्न तयार भएनन्। हामीले त्यति नै हतार हतार गरेर बन्दसूची बुझायौं । प्रत्यक्षतर्फको पनि त्यसै गर्यौं । त्यसैले चुनाव फागुन २१ मै हुन्छ भन्नेमा स्पष्ट छु। म तमाम उम्मेदवार साथीहरूलाई कुनै दुविधामा नपरी चुनावी तयारी घनीभूत बनाउन अपिल गर्दछु। कानुनी हिसाबले कुनै उम्मेदवारले फिर्ता लिन त मिल्दैन तर राजनीतिक हिसाबले कसैको उम्मेदवारी स्थगन गराएर कसैलाई सघाउने काम त हुन्न नि ? अहिले हाम्रो ध्यान कसैसँग समीकरण गर्ने वा अर्को पार्टीलाई सघाउन उम्मेदवारी स्थगित गराउनेतिर बिल्कुलै छैन। राजनीतिमा असम्भव भन्ने त हुँदैन तर अहिले हामी कसैसँग समीकरण गर्नेमा छैनौं । तपाईंलाई चुनावपछिको जनमतले अहिलेको संविधान वा प्रणालीलाई नै तलमाथि पार्ला भन्ने डर छ कि ? त्यस्तो डर त छैन, तर म के भन्न चाहन्छु भने- राष्ट्र अहिले पनि संकटमा छ। २४ गतेका दिन केही घण्टाभित्र देशमा जुन विध्वंस देखियो, त्यसलाई हरेक नागरिकले गम्भीरतापूर्वक लिनुपर्छ। यो निर्वाचन ‘रामबाण’ भइहाल्छ र सबै समस्या समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन। अहिले केही मिडिया र सोसल मिडियामा नियोजित ढंगले प्रचारबाजी भइरहेको देख्दा म चिन्तित छु। जनतामा आधार नै नभएकाहरूको रेटिङ ९८-९९ प्रतिशत देखाइएको छ, तर हजारौँ जनता साथमा भएका नेताहरूको रेटिङ जिरो देखाइएको छ। कतिपयले ‘हाम्रो बहुमत आइसक्यो, चुनाव त देखाउन मात्रै हो’ भन्दै हिँडेका छन्। सोसल मिडिया राम्रो उद्देश्यको लागि प्रयोग गर्दा राम्रो पनि हो र गलत उद्देश्यले प्रयोग गर्दा भयानक पनि। म विज्ञानको विद्यार्थी भएकाले यसप्रति मेरो नकारात्मक धारणा छैन, तर चुनाव अघि नै यसले जित्छ भनेर प्रचार जसले जहाँबाट गरेकव छ, यसले मलाई लाग्छ- दाल मे कुछ काला है । अमेरिका युरोपकै चुनावमा पनि यस्तो हुन्छ नि ? यस्तो हुन्छ । जब म ‘फेक’ र झुटो प्रचार देख्छु, त्यहाँनेर शंका गर्ने ठाउँ छ । म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, सबै पार्टी-जनसंगठन र नागरिक समाज सबैसँग अपिल गर्छु- यो निर्वाचनलाई कसैको नियोजित परिणाम ल्याउने थलो बन्न नदिन हामी सबैले गम्भीर, जिम्मेवार र संवदेनशील भूमिका खेलौं । यो राष्ट्रको जीवन-मरणको प्रश्न जस्तो छ । यदि निर्वाचनमा २४ गतेजस्तै कताबाट आयो, कताबाट भनेजस्तै बनाउन खोजियो भने यो राष्ट्र र जनताका लागि भयावह हुनेछ। म यो संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सबैभन्दा बढी त्याग, बलिदान र संघर्ष गरेको पार्टी र नेताको हैसियतले सुरक्षा निकाय र जनतालाई आग्रह गर्छु- सबै सजग हुनुहोला । म नेपाली सेना र हाम्रो सुरक्षा निकायप्रति विश्वास गर्छु । नेपालका राजनीतिक दल र जनता सोसल मिडियाको ‘स्टन्ट’बाट मुक्त हुनुहोला। छातीमा हात राखेर ‘यो राष्ट्र कसले बनाउन सक्छ’ भनेर १० पटक विचार गरेर मात्रै भोट हाल्नुहोला। तपाईंले ‘नियोजित परिणाम’को आशंका गरेर सुरक्षा निकायलाई अपिल गर्नुभयो, के हामी कुनै दुर्घटनाको नजिक छौँ? त्यसरी नै बुझ्नुस् भन्न खोजेको होइन। मैले त राष्ट्रप्रतिको जिम्मेवारी र जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न सबैले आ-आफ्नो ठाउँबाट मेहनत गरौं मात्रै भनेको हो। यदि हामी सजग भएनौँ भने देश अर्को दुर्घटनामा जान पनि सक्छ भनेको हुँ, गइहाल्छ भनेको होइन। अन्तिममा, मान्छेको राजनीतिक जीवनको पनि अवकाश हुन्छ। तपाईंको सक्रिय राजनीतिको अवकाश कहिले हुन्छ ? मैले धेरै ठाउँमा भनेको छु- अहिले राष्ट्र, मेरो पार्टी, परिवार, देश र आन्दोलन अप्ठ्यारोमा छ। मैले परिवार, देश र राजनीतिका धेरै उतारचढाव र पारिवारिक पीडा भोगिसकेको छु। मेरा लागि अब पार्टीको अध्यक्ष वा संयोजक पद महत्त्वको छैन। तर, जबसम्म मेरो साहस रहन्छ, म जनताको पक्षमा लडिरहनेछु। त्यसका लागि मलाई पद चाहिँदैन। म नेपाल राष्ट्र र जनतालाई नयाँ ढंगले सेवा गर्न चाहन्छु। त्यो नयाँ ढंग भनेको के हो? त्यो भनेको हाम्रो विशेषतासहितको ‘नयाँ समाजवादी आन्दोलन’ हो। म रुकुम पूर्व जानुको तात्पर्य पनि त्यही हो-तलैबाट सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गर्नु। तपाईंले निर्वाचन क्षेत्र धेरै फेर्नुभयो-रोल्पा, काठमाडौं, सिरहा, चितवन, गोरखा र अहिले रुकुम। यसलाई मान्छेले कसरी बुझ्ने ? यसलाई म यसरी स्पष्ट पार्छु: रोल्पा र काठमाडौँबाट उठ्नुको अर्थ जनयुद्ध र जनआन्दोलन जोडेर नयाँ संविधान बनाउने प्रक्रियाको सुरुवात थियो । सिरहामा गएर चुनाव जितेँ र प्रधानमन्त्री भएँ । त्यसको तात्पर्य मधेस र पहाडलाई दरोसँग जोड्नु थियो । संविधान निर्माणको बेला जस्तो परिस्थिति देखियो, प्रधानमन्त्रीको हैसियतले मधेसी जनता र पार्टीहरूको विश्वास जितेर निर्वाचनितर देश लगेको थिएँ । मेरो उद्देश्य बुझिदिनुस् । त्यसपछि म आफ्नो गृह जिल्लामा विकासको मोडल दिन गए । परिवार र गृहजिल्लावासीको आग्रहपनि थियो । त्यसपछि जनयुद्धको तयारी गरेको ऐतिहासिक ठाउँ भएकाले गोरखामा योगदान दिन गएँ । अहिले म नयाँ समाजवादी आन्दोलनको आधार इलाका बनाउन रुकुम गएको हुँ । अहिले त अरूले पनि क्षेत्र सार्न थालेका छन्। गगनजी सर्लाही जानुभयो, बालेनजी झापा जानुभयो। उहाँहरू पनि प्रचण्डकै लाइनमा विस्तारै विस्तारै आउन थालेका छन्। झापामा बालेन गएको कुरालाई कसरी हेर्नुभएको छ ? यसबारे अहिले धेरै नबोलौं । अन्तिम प्रश्न, तपाईंको एउटा चर्चित भनाइ छ-‘म नमर्दासम्म उथलपुथल भइराख्छ’। अब यो देशमा के उथलपुथल हुँदैछ? उथलपुथल भइरहेकै छ । ‘नेपाली कम्युनिस्ट पार्टी’ बन्नु र ‘तारा’ चुनाव चिह्न आउनु नै एउटा उथलपुथल हो। मेरा कुराहरूलाई नकारात्मक अर्थमा नबुझिदिनुहोला, मैले रचनात्मक र सकारात्मक कुरा गरेको हुँ। म जमेको पोखरी जस्तो फोहोर भएर बस्न चाहन्न, देशलाई गति दिन चाहन्छु। पहिला मैले ‘म्याजिक नम्बर’ भनेको थिएँ, तर अब म्याजिकले काम दिएन, अब मलाई जनताबाट स्पष्ट बहुमत चाहिएको छ। (संयोजक प्रचण्डसँगको कुराकानी अनलाइनखबरबाट साभार ।)
अब मलाई महाधिवेशनपछि अध्यक्षका रुपमा सम्बोधन गर्न पाउनु हुने छैन : संयोजक प्रचण्ड
जेनजी आन्दोलनले नेपाली समाज र राजनीतिमा उथलपुथल ल्याएको छ। युवा पुस्ताले राजनीतिको अग्रभागमा आउने प्रयास गरिरहेको छ। पुराना दलमा पुनर्गठनको तीव्र दबाब छ, नयाँ-नयाँ दल जन्मिइरहेका छन्। जेनजी आन्दोलनका बेला भएका कतिपय घटनाक्रम अहिले पनि रहस्यमै छन्। कतिपय छानबिनको क्रममा छन्। यसैसन्दर्भमा हिमालय टिभीको ‘यक्ष प्रश्न’ टक शोका लागि प्रस्तोता निमेष बन्जाडेले नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको कुराकानी गरेका छन् । यो कुराकानीमा सरकारको गठन प्रक्रियामा भएका रोचक घटनाक्रम, नेपाली सेनाको भूमिका, भूराजनीतिक दबाब, पुरानो पुस्ताको बिदाईदेखि चुनावको तयारीसम्मका विषय कोट्याउने प्रयास गरिएको छ । भदौ २३ र २४ गते राजनीतिक उथलपुथल भयो, २३ गते तपाईं कहाँ हुनुहुन्थ्यो, के गरिरहनुभएको थियो? म २३ गते मध्य पहाडी लोकमार्ग अभियान चलिरहेको थियो। म लमजुङबाट गोरखा हुँदै अगाडि बढ्दै थिएँ। यहाँ २३ गतेको आन्दोलनमा दमन भइसकेपछि र केही युवाहरूको मृत्यु भइसकेपछि हामीले त्यो अभियान रोकेर २३ गते राति नै काठमाडौँ आएर हामीले आकस्मिक ढंगले त्यतिबेलाको हाम्रो पदाधिकारीको बैठक बसेर दमनको भर्त्सना गरियो। अनि केपी ओलीको सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ पनि भनियो। र ती २३ गते मारिएका सबैलाई सहिद घोषणा गर्ने निर्णय पनि गरियो र दोषीलाई कारबाही गर्न अविलम्ब अगाडि जान अपिल पनि गरियो। यो निर्णय हामीले राति १० बजे गोरखाबाट आएर गरेका थियौँ। त्यसै दिन फेरि हामीले त्यतिबेलाको प्रतिपक्षहरूको पनि राय मिलाउनुपर्छ भनेर त्यतिबेला म प्रमुख प्रतिपक्षी दलको नेता हुनुको नाताले मैले राति नै सबैलाई खबर गरेर २४ गते बिहान साढे ८ बजे सिंहदरबारमा बोलाएको छु। २३ गतेकै कुरा गरौं । काठमाडौँमा यस्तो बबन्डर हुँदैछ भन्ने थाहा पाएर तपाईं काठमाडौँ बाहिर जानुभएको हो ? बिल्कुलै होइन। म सायद २१ गते गएको थिएँ । पोखरामा एउटा विशेष कार्यक्रम थियो व्यवसायीहरूको, उद्योग व्यापार महासंघको कार्यक्रम थियो। त्यसअघि कास्कीमा ल्याएर रोकिएको मध्यपहाडी अभियानलाई २२ गतेबाट फेरि निरन्तरता दिने हिसाबले लमजुङबाट त्यो सुरु गरिएको थियो। त्यसकारण २३ गते के हुन्छ भन्ने कुराको अनुमान हामीलाई सबै थिएन, यस्तै हुन्छ भन्ने अनुमान थिएन। तर युवाहरूमा असन्तुष्टि छ, देशभरि जनतामा आक्रोश छ, सरकारले राम्रो गरिरहेको छैन, सुशासन भएन, भ्रष्टाचार भयो भन्ने कुरा त हामीले तराईमा हुँदाखेरि पनि झापादेखि कन्चनपुरसम्म त्यो अभियान चलाएकै थियौँ। त्यसले असाध्य सकारात्मक तरङ्ग ल्याएको थियो, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, आर्थिक समृद्धिका पक्षमा। त्यसैमा हामी थियौँ। जब मैले युवाहरू, खासगरी जेनजी पुस्ताका युवाहरू केही मागहरू लिएर, सोसल मिडियामाथि लगाइएको प्रतिबन्धका विरुद्ध, भ्रष्टाचारका पनि विरुद्ध उनीहरूले माग राखेर आन्दोलन गर्दै छन् भन्ने थाहा पाएपछि सबभन्दा पहिला मैले नै वक्तव्य दिएर एउटा स्टाटस लेखेर यो आन्दोलनका माग सही छन् युवाहरूका, त्यहाँ बल प्रयोग नगरियोस् भनेर सरकारलाई खबरदारी पहिलो चोटी मैले गरेँ। उनीहरूले त्यो ‘डिस्कर्ड’मा छलफल गरिरहेका छन् भन्ने पनि थाहा थियो तपाईंलाई ? थाहा थियो। अलिअलि। अपडेट हुनुहुन्थ्यो? थाहा थियो मलाई। त्यसको बारेमा थाहा थियो। ‘नेपोटिजम’, ‘नेपो बेबी’, ‘नेपो किड्स’ आइराखेको छ । त्यो म हेरिरहेको थिएँ, साथीहरूले मलाई रिपोर्ट गरिरहनुभएको थियो। तपाईंले संसदको रोस्टममा उभिएर “यस्तै निराशा जनतामा बढ्ने हो भने, कांग्रेस एमालेले यसै गरेर तपाईंहरू मात्रै मिलेर सबै लाद्न खोज्ने हो भने पार लाग्ने वाला छैन, मुलुक जनता एकदमै रिसाएका छन्। यो विस्फोट हुने स्थिति छ। बंगलादेश र श्रीलंकाको स्थिति नेपालमा पनि हुन सक्छ” भनेको एक वर्ष नपुग्दै त्यस्तै भयो नि यहाँ ? त्यो त मेरो परिस्थितिको विश्लेषण, राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ कसरी गइराखेको छ, ट्रेनहरू, प्रवृत्तिहरू कता गएको छ भन्ने कुरा थियो । त्यसले गर्दा यसको डिजाइनर प्रचण्ड पनि हो भने नि ? बिल्कुल होइन। यसको डिजाइनर प्रचण्ड भन्ने कुरा अर्थ लाग्दैन। तर प्रचण्डले समयमा नै सरकारलाई सतर्क गराएको थियो। जनतामा आक्रोश धेरै बढिसक्या छ, युवाहरूमा आक्रोश बढिरहेको छ। बंगलादेश, श्रीलंका लगायत विभिन्न देशमा यस खालका घटनाक्रम भइराख्या छन्। त्यसकारण दुई तिहाइको घमण्ड गरेर सरकार बस्यो भने कुनै पनि बेला नेपालमा विस्फोट हुन सक्छ भन्ने कुरा मैले एक वर्ष अगाडि भनेको थिएँ। जतिबेला यो आन्दोलन २३ गते यस्तो होला भन्ने कुराको कल्पना गर्ने ठाउँ नै थिएन। मैले त देशको समग्र परिस्थितिको हिसाब गरेर, जनताको मनोविज्ञान र मनोभावनालाई बुझेर र सरकारले गरिरहेको गलत क्रियाकलाप, कुशासनतिर जो सरकार प्रवृत्त भयो र दुई तिहाइको घमण्ड गर्यो। मैले त्यतिबेला भनेको थिएँ, “बंगलादेशमा त दुई तिहाइभन्दा बढी थियो शेख हसिनासँग, दुई तिहाइले काम गर्दैन। यो संख्याले गर्ने कुरा होइन। यो सुशासनतिर गएन भने कुनै पनि बेला जनता आउन सक्छन् ।” मैले यसो भन्नुको मेरो तात्पर्य, मैले कुनै डिजाइन गरेको भन्ने होइन, मैले त सरकारलाई खबरदारी, यसो नगर भनेको हो । राजनीतिमा दूरदर्शिताको निकै ठूलो अर्थ र महत्व हुन्छ। अहिले म फर्केर हेर्छु, मैले कति सही बोल्या रहेछु भन्ने मलाई आफैँलाई गर्व भएको छ। मैले एक वर्ष अगाडि परिस्थितिको विश्लेषण गरेर सरकारलाई जानेर खबरदारी गरेको थिएँ र चुनौती दिएको थिएँ, “तिमीहरूले गलत गर्यौ भने राम्रो हुँदैन” भनेर। अहिले त्यो फर्केर ती सबै रेकर्डहरू हेर्दा बिल्कुल परिस्थितिको वस्तुवादी विश्लेषण र दूरदर्शिता प्रदर्शन भएको रहेछ भनेर मलाई साँच्चै गर्वको महसुस भएको छ। अहिले त सबैले त्यो कुरा मानि पनि सके। तपाईं डिजाइनर नभए पनि त्यो आन्दोलनमा कति माओवादी कार्यकर्ताहरू परिचालित हुनुहुन्थ्यो ? मलाई कस्तो लाग्छ भने, हामीले एक वर्षसम्म जसरी सरकारको भण्डाफोर गरिनै रह्यौँ, सरकारले गरेका गलत क्रियाकलापको आलोचना हामीले गरिनै रह्यौँ, र हामीले जनतालाई र युवाहरूलाई पनि अपिल गरिनै रह्यौँ, ‘यसको विरोध गर्नुपर्ने हुन्छ, गलत भइरहेको छ’ भन्ने कुरा हामीले भनिनै रह्यौँ। हामीले त्यो भनेको हुनाले र तपाईंले पहिलो प्रश्नमा जसरी सोध्नुभयो नि, २३ गते कहाँ हुनुहुन्थ्यो भनेर? त्यतिबेला गोरखामा पनि मैले यही भाषण गर्दै थिएँ, “सरकार गलत गरिरहेको छ, चाहिँ यसको विरोध गर्नुपर्छ” भनेको हुनाले युवाहरू वा हाम्रा पनि तलका कार्यकर्ताहरू “सरकार विरोधी आन्दोलन शान्तिपूर्ण रूपले हुन्छ” भनेपछि स्वतः जाने वातावरण बन्यो। यो कुरा म स्वीकार गर्न चाहन्छु। जाने वातावरण हामीले एक वर्षदेखि हामीले प्रशिक्षित गरिरहेका थियौँ नि त मानिसहरूलाई, युवाहरूलाई, ‘केही बेठिक भइरहेको छ देशमा । ठिक गर्नको लागि सडकमा आउनुपर्छ मानिसहरू भन्ने कुरा भनिराखेको हुनाले माओवादी मात्रै होइन, अन्य युवाहरू पनि मेरो अभियानबाट अथवा हाम्रो त्यतिबेलाको पार्टीको अभियानबाट उत्प्रेरित भएनन् भनेर म भन्न सक्दिनँ, प्रेरित भए। तर केही कार्यकर्ताहरू त तोडफोडमा लागे नि ? अलिकति भन्न दिनुस् है। तर साँचो कुरा फेरि अर्को के हो भने, हामीले पार्टीबाट निर्णय गरेर २३ गतेको आन्दोलनमा सहभागी हुनु भनेर कुनै निर्देशन, कुनै अपिल, कुनै जारी गरेका थिएनौँ। हामीले यति भनेका थियौँ: “२३ गते जेनजी युवाहरूले उठाएका माग सही छन्। सरकारले बल प्रयोग नगरोस् । बरु माग पूरा गर्नतिर लागोस्” भनेर हामीले भनेको हुनाले २३ गतेको दिन हुनसक्छ, ठूलो संख्यामा माओवादी कार्यकर्ताहरू पनि तलका गए होलान्। गएको छन् भन्ने पछि मैले थाहा पनि पाएँ। हुँदाहुँदा त हाम्रो पार्टीका कयौँ लिडरका छोराछोरी, नातिनातिना पनि गएका रहेछन् भन्ने पनि थाहा भयो। तर त्यतिबेला हामीले समर्थन गरेको, त्यो आन्दोलनलाई, मैले नै स्ट्याटस लेखेर समर्थन गरेको कारणले पनि त्यतिबेलाको माओवादी केन्द्र नजिकका युवाहरू पक्कै उत्प्रेरित भए। “हाम्रो आफ्नै अध्यक्षले पनि समर्थन गर्यो” भनेपछि त जाने भए। तर कुरा के छ त यहाँ भने, त्यतिबेला त जेनजी पुस्ताका युवा प्रतिनिधिहरूले सिडिओ कार्यालयमा गएर “शान्तिपूर्ण हुन्छ हाम्रो आन्दोलन” भनेर स्वीकृति लिएको जुलुसको लागि, र शान्तिपूर्ण हुन्छ भन्ने विश्वासले नै गए ती मानिसहरू। २४ गतेको कुरामा भने त्यस्तो होइन जस्तो २३ गते थियो। २३ र २४ एउटै होइन, धेरै फरक छ २३ र २४ मा। २४ गते केही मानिसहरू धेरै तोडफोड नहोस् भनेर गएको भनेर रेकर्डहरू आइराख छ अहिले। तर माओवादीको कार्यकर्ताहरू आम रूपमा चाहिँ २४ गते छैनन्। तर केही तस्बिरहरू सार्वजनिक भएन? तोडफोड, आगजनीमा संलग्न भएको। त्यसमा के भन्नुहुन्छ ? हामीले पहिले नै एउटा वक्तव्य दिएर स्थिति हामीले स्पष्ट गरेका छौँ। जो साथीहरू देखियो नि भिडियोमा या टिभीमा या जसको फोटो देखिएको छ, उनीहरू जसले स्पष्टीकरण दिएका छन् कि “हामी त रोक्न गएको हो” भनेर प्रुफ हुन्छ भने त तिनलाई एक ढंगले हेर्ने। होइन, तोडफोडमा संलग्न, यो विध्वंसको कार्यमा संलग्न जो कोहीलाई पनि हामी कारबाही गर्छौँ भनिएको छ र हामीले अहिले कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं । जसको प्रमाणित भएको छ तोडफोडमै लागेको देखिएकालाई कारबाही प्रक्रिया अगाडि बढिसक्या छ। म बडो स्पष्ट शब्दमा भन्न चाहन्छु। पार्टी भित्रबाट या राज्यले कारबाही गर्छ भने पनि पार्टीको अब्जेक्सन छैन ? राज्यले कारबाही गर्छ भने पनि हाम्रो सहयोग हुन्छ। मैले त्यो पनि बोलिसकेको छु । त्यस्तो सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउने या राष्ट्रपति भवन जलाउने काममा यदि कुनै कार्यकर्ता संलग्न छ भने राज्यले पनि दृढताको साथ कारबाहीको प्रक्रिया अगाडि बढाओस्, हाम्रो साथ हुन्छ। पार्टीबाट त हामीले निकाल्न सुरु गरिनै सकेका छौँ त्यस्ता केही देखिएका मान्छेहरूको पत्ता लगाएर र अरू पनि प्रमाण आउँदै गयो भने हामी पार्टीबाट निकाल्छौँ र राज्यलाई कारबाहीको लागि हामी राज्यलाई सहयोग पनि गर्छौँ। २४ गतेको विध्वंसमा संलग्न भएकाहरूलाई कारबाही गर्नको लागि छानबिन आयोगकै प्रतिवेदन कुरिरहनु परेन। राज्यले आफ्नो एक्सन लिन्छ भने लियोस्, माओवादी सहयोग गर्न तयार छ ? माओवादी सहयोग गर्न तयार छ। २३ गते रातितिर यो सरकार ढल्ने स्थिति आयो, साँच्चै अब जनताको विरोधको सामना गर्न केपी ओली नेतृत्वको सरकारले सक्दैन। त्यसकारणले कांग्रेससँग मिलेर फेरि अर्को नयाँ सरकार बनाउनुपर्छ भन्ने छलफलमा तपाईं हुनुहुन्थ्यो तर त्यो गठबन्धन मात्र सक्ने स्थिति आएन अर्को दिन त संसद नै सकिने स्थिति आयो भन्छन् नि ? यो कुरा सत्य होइन। २३ गते बेलुका या २४ गते पनि मेरो नेपाली कांग्रेससँग या नेकपा एमाले कसैसँग पनि केही पनि कुरा भएको । कोही नेतासँग कुरा भ’छैन? कसैसँग कुरा भएको छैन । महामन्त्री तहको नेताहरूसँग पनि कुरा भएको छैन ? भएको छैन। २३ र २४ मा कुरा केही पनि भएको छैन। अब त्यहाँ जब स्थिति अलि बिकराल जस्तो देखा पर्यो २४ गते बेलुकासम्म पुग्दासम्म, बरु मेरो त्यसपछि भने २४ गते बेलुका भइसकेपछि र २५ गते बिहानबाट मैले संवाद सुरु गरेको छु। राजनीतिक दलहरूसँग पनि, राष्ट्रपतिजीसँग पनि, प्रधान सेनापतिसँग पनि र कूटनीतिक नियोगका पनि सम्भव हुने जतिसँग स्थितिलाई सहजीकरण गर्नको लागि मैले २५ गते बिहानबाट सम्पर्क सुरु गरेको छु। २३ र २४ मा छैन। २४ गते तपाईंले सम्पादकहरूसँगको छलफलमा भन्नुभयो नि, “पाएको भए त हामीलाई पनि किचिमिचि पारिदिन सक्थे। अब सेनाले पनि जोगायो, त्यो पनि ठिकै हो। तर कताकता भूराजनीतिक चलखेल र भूराजनीतिले पनि नेताहरूलाई जोगाउने काम गर्यो कि” भनेर भन्नुभएको थियो। त्यसको केही संकेत पाउनुभएको थियो? यो भू-राजनीति यहाँ कति मिसियो ? यो अलि धेरै संवेदनशील र महत्त्वपूर्ण प्रश्न हो। यसमा अहिलेको भूराजनीति मात्रै होइन, विगतदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता या नेपाली जनताको आत्मसम्मान अगाडि बढाउने क्रममा धेरै वीर विरङ्गनाहरूले बलिदान पनि गरेका छन्, ठुलठुला संघर्ष भएका छन्। एउटा त हाम्रो राष्ट्रिय भावना, नेपाली जनताको देशभक्तिपूर्ण भावना र ठुलठुला शक्तिहरूसँग युद्धमा प्रदर्शन गरेको वीरता र शौर्य, बलिदानका ठुलठुला कीर्तिमानहरूले काम गरेको छ भने अर्कोतिर कहिँ न कहिँ अन्तर्राष्ट्रिय भूराजनीतिक स्थितिले पनि हामीलाई मद्दत गरेको छ। हामीलाई चुनौती पनि त्यही छ र हाम्रो सम्भावना पनि त्यसैभित्र छ। पश्चिमा शक्ति भनिन्छ हैन, भारत पनि अहिले एउटा संसारकै एउटा शक्ति केन्द्रको रूपमा उदाइराखेको छ, चीन त अब प्रथम शक्ति हुनेतिर नै अगाडि बढेको छ। यो पश्चिमको शक्ति, दक्षिण, उत्तर, यी शक्तिहरूको आपसमा कहिले कन्टेन्सन अथवा झडप जस्तो स्थिति, अलि तनावको स्थितिमा जान्छन्, कहिले फेरिअलिकति सहजीकरणको स्थितिमा जान्छन्, त्यसैसँग नेपालको राजनीति पनि, नेपालको घटनाक्रमहरू पनि कहिँ कतै न कहिँ प्रभावित हुने नै गरेको छ, विगतदेखि नै। अहिले पनि मैले कहिलेकाहीँ साथीहरूको बिचमा, बुद्धिजीवीहरूसँग कुरा गर्दा पनि भनेको छु: “हामी बाँचियो कसरी? २४ गते नेताहरू बाँचे कसरी? कल्ले बचायो? किन बचायो?” म त सिंहदरबारमा थिएँ, २४ गते बिहान। प्रतिपक्ष दलहरूको बैठक चलिरहेको थियो। त्यो अलिकति लम्बियो। लम्बिनै जाँदा अरू साथीहरू अब सकिएपछि हिँड्नुभयो। मलाई सेक्युरिटीले बाहिर जानुभन्दा त यही सुरक्षित हुन्छ, सिंहदरबारमै भन्ने सुझाव दिए। म त फेरि खाना खान खुमलटारै जाने हिसाबले गएको थिएँ त्यो प्रतिपक्षको बैठकमा । खाना बनाइराख्नु खान आइपुग्छु भनेर खुमलटारमै फर्किने उद्देश्यले गएको थिएँ। तर सेक्युरिटी, चारैतिर जुलुस जस्तो देखिसक्यो, सिंहदरबारको दक्षिण गेटको पुलिस बिट जलाइसक्यो। त्यसकारण “अध्यक्षजी, यसरी अहिले यहाँ बाहिर जानुभन्दा त यही बस्नु सुरक्षित छ है अहिले भने । कति जति बजेको थियो? त्यही बिहान ११ बजेतिर। त्यसपछि सिंहदरबार भित्रकै सेक्युरिटीले आएर “यहाँ पनि सुरक्षित छैन” भने। मलाई विचित्र लाग्छ, “यहाँ पनि सुरक्षित छैन” भने त “जाऊँ बाहिर अब जे जे हुन्छ” भनेको थिएँ मैले। “जाऊँ बाहिर अब यसो अलिकति कतापट्टि अलि सहज छ, त्यहाँ सहजतिरबाट बाहिर निक्लिने” भन्दाखेरि सेक्युरिटीले नै भने, “अहिले त्यो बाहिर निक्लिने जस्तो पनि स्थिति बनेको छैन। दिउँसो बनेपछि निक्लौला। अहिले सुरक्षित हुने ठाउँ त सेनाकोमा हुन्छ” भनेर सुझाव दिए त्यहाँ प्रहरीले मलाई। त्यतिकै त जाने कुरा भएन। मैले मेरी छोरी गंगालाई मैले सम्पर्क गर्न लगाए सेनापतिसँग “हामी तपाईं कहाँ आउनुपर्ने भयो” भनेर। मलाई कसैले लगेको पनि होइन। अरूको भन्दा मेरो अलि फरक छ त्यो दिन। जस्तो प्रधानमन्त्रीजीलाई हेलिकप्टरमा कुदाएर दौडादौड गरेर स्थिति । अरू मन्त्रीहरूलाई पनि त्यसरी नै । अरू कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि सेक्युरिटीले समातेरै तानेर लगेर गाडीमा हालेर अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबै भन्दा बिल्कुल फरक। त्यसपछि सेक्युरिटीले मलाई अहिले बाहिर जान उचित छैन भनेपछि त्यही बस्न खोजेको थिएँ । गंगाले सेनापतिसँग कुरा गरेपछि “भइहाल्छ नि” भनेर अनि हामी त्यही सिंहदरबार भित्र गइयो। आफैं जानुभयो? आफैँ गइयो। कस्तो रेस्पोन्स भयो त्यहाँ? राम्रो। म यो कुरा पनि इमानदारिता साथ म भन्न चाहन्छु। त्यहाँ गएपछि मलाई राम्रै सम्मानसहित लगियो र म जहाँ बस्ने भनिएको थियो, त्यो पनि राम्रो थियो र म बडो सहज ढंगले त्यहाँ बसेँ। माधव नेपालजी पनि सँगै हुनुहुन्थ्यो? माधव नेपालजी सँगै त हुनुहुन्थ्यो बैठकमा, तर आउने बेलामा माधवजीको स्थिति फेरि मेरो भन्दा अलि फरक भएछ। मैले सहज ढंगले गंगाले प्रधानसेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म । माधवजी हतार भएर दौडेर जानुभएछ, आफैँ जानुभएछ । त्यो अलि अर्को भवनमा। र उहाँ त्यही एउटै भवन रहेनछ। अलि अर्को भवनमा उहाँ बस्नुभएको रहेछ । भोलिपल्ट थाहा भयो मलाई। कति दिन बस्नुभयो सिंहदरबारमा? सिंहदरबारमा हामी २४, २५ र २६ गते राति, तीन रात बसियो। तपाईंहरूको पनि मोबाइल उहाँहरूले राखिदिनुभयो? त्यस्तो भएन। मैले मजाले मोबाइलबाट सबैतिर सम्पर्क गरिनै राखेँ। मलाई त्यस्तो केही समस्या भएन । कोसँग कुरा गर्नुभयो त्यो बिचमा टप लिडरहरू…? सबैसँग नै कुरा गरेँ मैले। शेरबहादुरजी त त्यस्तो अवस्थामा हुनुहुन्थ्यो… शेरबहादुरजीसँग कुरा गर्न सम्भव हुने स्थिति थिएन। तर पनि कांग्रेसका केही नेताहरूसँग मेरो कुरा भइनै राख्यो । केपी ओलीजीसँग ? त्यो दिन केपी ओलीजीसँग भएन मेरो। अनि २६ गते राति पहिला प्रधान सेनापतिले मलाई फोन गर्नुभयो। पहिला उताबाट फोन आ’को? उताबाट फोन आ’को। २६ गते राति। म खाना खान बसेको थिएँ। खाना खाने तयारी हुँदै थियो। ९ बजेतिर हो बेलुका। सेनापतिजीको फोन आयो। त्यसपछि उहाँले फोन राष्ट्रपतिलाई दिनुभयो। अनि राष्ट्रपतिजीले भन्नुभयो कि “यहाँ आउन पर्यो, तपाईं यहाँ आउन पर्यो र अलि सल्लाह गर्न पर्यो” भनेर भन्नुभयो ।देशको परिस्थिति यति जटिल छ, खाना त बरु एक दुई दिन नखाए नि केही हुन्न भनेर मैले पस्केको खाना पनि म आएर खान्छु अहिले राख भनेर अनि म गएँ। कसरी जानुभयो? सेनाले जस्तो व्यवस्था गरेको थियो, त्यसरी नै गएँ म, सेनाकै सुरक्षामा गएँ। उहाँहरू कहाँ हुनुहुन्थ्यो? को ? राष्ट्रपति, प्रधान सेनापति? शीतल निवास। शीतल निवासमै हो, राष्ट्रपति भवनमै हो, राष्ट्रपतिको निवासमै हो। राष्ट्रपति शीतल निवासबाट एक दुई दिन बाहिर बस्ने स्थिति आयो कि आएन ? आयो भन्ने छ। मैले यो कुरा यसरी राष्ट्रपतिजीलाई सोधेको छैन। तर मैले जतिबेला भेटेँ, उहाँ शीतल निवासमा, आफ्नै निवासमा हुनुहुन्थ्यो। त्यहीँबाट उहाँले फोन गर्नुभएको थियो। म पनि फेरि सेनाको सुरक्षासहित त्यहीँ गएको थिएँ। पछि हामी, राष्ट्रपतिजी, म, सेनापतिजी र वर्षमान पुन पनि हुनुहुन्थ्यो। पहिला राष्ट्रपतिजी, सेनापतिजी र हाम्रो बीचमा एकछिन अलि अनौपचारिक ढंगले परिस्थितिको थोरै समीक्षा भयो। २६ गते राति? २६ गते राति। १०-साढे १० तिर होला। त्यसपछि एकछिन पछि माधव नेपाल आइपुग्नु भयो। तपाईंलाई थाहा थियो आउँदै हुनुहुन्छ भने? मलाई थाहा थियो। ‘माधवलाई नै बोलाएको छु’ भन्नुभएको थियो राष्ट्रपतिजीले। त्यसकारण मलाई थाहा थियो। तर म गएको २०-२५ मिनेट पछि उहाँ आइपुग्नुभयो। त्यतिबेलासम्म हामीहरू कुरा गरिरहेका थियौँ। त्यसपछि नेपाली कांग्रेसको नेताहरूलाई पनि बोलाउनुभएको थियो नै, त्यो कुरा त थाहा थियो मलाई पहिले पनि। तर कांग्रेसको नेताहरू आउनुभएन। त्यसपछि मैले नै नेपाली कांग्रेसको नेताहरू, खासगरी अहिले कार्यवाहक हुनुहुन्छ पूर्णबहादुरजीलाई मैले फोन गरेँ र “आउनुस् न, हामी त आइपुगेका छौँ” पनि भनेँ। उहाँहरूले सभापतिजीसँग एकचोटी सल्लाह गर्ने भन्नुभयो। सल्लाह गर्दागर्दै ढिलो भयो र अन्तिममा रमेश लेखकसमेतका अरू साथीहरू , ती तीन जना नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ आइपुग्नु भयो। अर्को कोठामा अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालजी हुनुहुन्छ भन्ने हामीले थाहा पाइराखेका थियौँ। राष्ट्रपतिजी र प्रधान सेनापतिले उता गएर कुरा गर्ने, त्यहाँ कस्तो-कस्तो हुन्छ त्यो यता रिले गर्ने, यता हामीले दिएको सुझावहरू फेरि उता रिले गर्ने गरेर रातभरि जस्तै चलिरहेको थियो। त्यो छलफलको मेन एजेन्डा के थियो? मेन एजेन्डा अन्तरिम सरकार बनाउने कुरा नै थियो। स्थिति असहज छ, त यसलाई सहज गर्नको निम्ति जेनजी युवाहरूले ‘डिस्कर्ड’मा जो भोटिङ इत्यादि गरेर सुशीला कार्कीलाई अगाडि सारिरहेका थिए।त्यसमा के गर्ने भन्ने विषय एउटा थियो। अनि यसो गर्नको लागि केही वैधानिकता पनि पूरा गर्नुपर्थ्यो। संविधानको मर्म र भावनालाई नै हेर्नुपर्थ्यो। हामी राजनीतिक दलहरू र त्यतिबेलासम्म संसद त विघटन भइसकेको थिएन। म प्रमुख प्रतिपक्ष दलको नेतै थिएँ। केपी ओली राजीनामा दिए पनि कामचलाउ प्रधानमन्त्रीको रूपमैहुनुहुन्थ्यो। त्यो स्थितिमा नेपाली कांग्रेसको पनि नेताहरू आखिर सरकारमा त हुनुहुन्थ्यो। त्यतिबेलाको परिस्थिति संवैधानिक र कानुनी रूपले एउटा विशिष्ट परिस्थिति थियो र अन्तिममा सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो। सुशीला कार्कीबाहेक अरू नामको पनि कुरा भएको थियो त्यहाँ प्रधानमन्त्री बनाउने विषयमा? उहाँ मात्रै हो? भएन । उहाँ मात्रैको कुरा भयो। किनकि आन्दोलन त युवाहरूले, जेनजीवालाहरूले गरेका थिए। त्यसकारण जेनजीको भनाइलाई महत्त्व दिनु अनिवार्य थियो। जरुरी थियो। नत्र वातावरण… । आन्दोलनको माग त्यहाँ केन्द्रित थियो, त्यहाँ उहाँहरूले अगाडि सारेको र हामीलाई पनि आपत्ति नभएको। किन सुशीला कार्कीजी हुँदा हामीलाई फेरि आपत्ति हुने कुरो थिएन। तर यो वैधानिकता र संवैधानिकता मिलाउने कसरी भन्ने जटिलता अलि बढी छलफल हाम्रो त्यहाँ थियो। कानुनविद्हरूसँग लामै छलफल भयो ! कानुनविद्हरू पनि त्यहाँ हुनुहुन्थ्यो, लामो के गर्ने इत्यादि-इत्यादि। त्यो धारामा टेक्ने स्थिति कसरी बन्यो ? संविधान, राष्ट्रपतिको जिम्मेवारी भनौँ न, एउटा संरक्षकको रूपमा, अभिभावकको रूपमा राष्ट्रपतिले खेल्ने भूमिकाबारे संविधानको धारा ६१ मा छ । त्यसलाई प्रयोग गर्ने भन्नेमा हामी सर्वसम्मत भयौँ। भनिन्छ नि आवश्यकताको सिद्धान्त, त्यसमा टेकेर राष्ट्रपति संरक्षक हुनुको नाताले उहाँले गर्न सक्नुहुन्छ भन्नेमा पुगियो। अर्को कुरो त्यसमा अलिकति वैधानिकता बचाउन कहाँ खोजियो भने, अन्तरिम सरकार बनाउने, सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउने कुरा केपी ओलीको सिफारिस अनिवार्य हुन्छ। कमसेकम संविधानको मर्मअनुसार त प्रधानमन्त्रीले सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने भन्नेमा गइयो हामी । र सिफारिस राष्ट्रपतिजीले पहिले नै भनिसक्नु भएको रहेछ । सिफारिस पनि हामी त्यहाँ बस्दाबस्दै आइ पनि हाल्यो। राष्ट्रपति नै भेट्न जानुभएको थियो केपी ओलीलाई? राष्ट्रपति नै भेट्न जानुभयो र त्यहाँबाट सहमति लिएर आउनुभयो, अनि कागज पछि आएको छ । राष्ट्रपतिजी केपी ओलीजीलाई भेट्न कहाँ जानुभएको रहेछ ? त्यो कुरा मैले सोधिनँ है। तपाईंलाई थाहा छैन? थाहा त छ अहिले त। पछि मेरो केपीजीसँग नै कुरा भएपछि थाहा पाएको हो मैले। उहाँ मकवानपुरको सुपारी टारमा हुनुहुन्थ्यो, ब्यारेकमा । जे होस्, सिफारिस आयो र त्यसमा अब राष्ट्रपतिजीले केपीजीसँग अथवा कुरा गर्दा नामको पनि सहमति भएको रहेछ । हो, यही सोध्दै थिएँ मैले। सुशीला कार्कीमा ओलीजीको पनि समर्थन हो? हो। होइन भन्नुहुन्छ त ? त्यही त। केपीजी अलि यस्तै बठ्याइँ गर्नुहुन्छ र बिग्रिन्छ के ! देशले पनि दुःख पायो, उहाँले नि दुःख पाउनुहुन्छ। भएको के भने, राष्ट्रपतिजीले हामीलाई भनेको- उहाँले केपीजीसँग भेटेर सहमति लिइसक्नु भएको छ सुशीला कार्कीको बारेमा। नामै, सुशीला कार्कीकै बारेमा उहाँले ल हुन्छ भनेर उहाँले भन्नु भएको भनेर हामीलाई ब्रिफिङ गर्नुभयो। राष्ट्रपतिजीले ब्रिफिङ गर्नुभयो? राष्ट्रपतिजीले। त्यो गरेको एकछिन पछि सिफारिस पत्र पनि आइपुग्यो। सिफारिसमा नाम लेख्नुभएको छैन उहाँले। तर राष्ट्रपतिजीले यो त औपचारिकताको लागि यसरी लेखेको हो, उहाँले मलाई सहमति दिसक्नु भएको छ सुशीला कार्की भनेर भनेपछि गो अहेड भएको त्यसरी हो। तर ओलीजीले त अहिले पनि यो सरकार मानेनौँ, संविधान बाहिरबाट बनेको सरकार हो, यसको अर्थ छैन, औचित्य छैन, संसद पुन:स्थापना हुनुपर्छ, सर्वपक्षीय सरकार गठन गरौं भन्नुभएको छ ? त्यसो भन्ने राजनीतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले । त्यो जबर्जस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार। उहाँले ब्ल्याङ्क चेक किन दिनुभयो त ? यदि उहाँले भनेको छैन भन्नुहुन्छ भने त्यो ब्ल्याङ्क चेक दिनुहुन्छ त राष्ट्रपतिलाई ? जसलाई बनाए नि हुन्छ भनेर दिने भनेको पनि त राष्ट्रपतिलाई त्यो त सिफारिस भयो। राष्ट्रपतिजीले त विवेक प्रयोग गर्ने ठाउँ त भयो नि। त्यसो भएपछि मैले भनेको होइन, मैले बनाएको होइन यो हा-हुमा भएको सरकार भन्न केपी ओलीले मिल्दै मिल्दैन। अरूले भन्न सक्छन्। (हिमालय टिभी र अनलाइन खबरबाट साभार)

