‘जनसंख्या वृद्धि नगरे १ शताब्दीमा देशको अस्तित्व नरहन सक्छ’

शासकहरु सत्ताको दाउपेचमा अल्झिएको र जनसंख्या ह्वात्तै घट्दै गर्दा देश संकट उन्मुख रहेको विज्ञको भनाई

‘जनसंख्या वृद्धि नगरे १ शताब्दीमा देशको अस्तित्व नरहन सक्छ’

काठमाडौं । नेपाली शासक र राजनीतिक दलहरु सत्ताको दाउपेचमा अल्झिदै गर्दा देशका जनसंख्या घट्दै गएको र यसबाट देशको भविष्यमा गम्भिर संकट बढ्ने विज्ञहरुले आँकलन गरेका छन् । 
शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा वक्ताहरुले स्रोत, साधन र साध्यको मुख्य आधार जनसंख्यामा आईरहेको कमिले नेपालको अस्तित्व धरापमा पर्ने चिन्ता व्यक्त गरेका हुन् ।
दर्शन चिन्तक प्रा.डा. गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको १ शताब्दी पछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताए । न्यौपानेले अहिले पनि पञ्चायतकालिन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयाबहउन्मुख रहेको दाबी गरे ।
न्यौपानेले डेढ–डेढ अरब जनसंख्या भएको उत्तरी बिशाल चिन र दक्षिणतिरको भारतको बीचमा नेपालको जनसंख्यामा त्यति नै मात्रामा अन्तर हुनु र त्यसलाई सन्तुलन गर्नेतिर तत्काल सोच्नु पर्ने धारणा राखे । देश राजनीतिक अस्थिरताको भूमरीमा फस्नु, राजनीतिक दलहरु सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौंदेखि गरिबी र पछौटेपनामा गज्रनु परेका भन्दै उनले भने, “कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैं हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौं’ ।”
देशको जनसंख्या बढ्नुपर्ने अनुपातमा नबढेर हरेक दशकमा घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, त्यसको मुख्य समस्या जनसंख्या नियन्त्रण नीति भएको उनले बताए ।
काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको न्यौपानेको तर्क छ ।
उनले भने, “कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ, अनि कसरी बन्छ देश ।” 
“भक्तपुरमा ३,६३१, सिंगापुरमा ८,४३०, ढाकामा १० हजार प्रति वर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौंको ३ सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?” न्यौपानेले प्रश्न गरे ।
जनसंख्याविद नवराज थापाले देशको जनसंख्या घटि र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्यूदर घट्न गएको र निर्भर भन्दा काम गर्ने(उत्पादनशील) उमेरका जनसंख्याको हिस्सा बढी भएपनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दर्भाग्य भएको थापाले बताए ।
थापाले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति चिन्ता व्यक्त गरे ।
विश्वमा हाल ८ अरब भन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरुमा १६ प्रतिशत र कम विकसित देशहरुमा ८४ प्रतिशत रहेको छ । त्यसैगरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या रहेको छ । ती मध्ये भारत र चीनमा सर्बाधिक जनसंख्याको बसोबास छ । 
नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अरबको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नु पर्ने थापा सुझाउँछन् । नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरुसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नश्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।

सुनको मूल्य २७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।  घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे  स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू  रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । 

लोकप्रिय