मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले छ लाख छ हजार तीन सय दस रुपियाँ नगद र ११ बुक तास बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरीले खाजा घर सञ्चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान, श्रीमती ३५ वर्षीय वसन्ती ब्लोन, हेटौँडा उपमहानगरपालिका–१० बसपार्क टिसिएन रोड बस्ने ३७ वर्षीय अर्जुन तामाङ, हेटौँडा–१० न्युरेनी बस्ने ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौँडा–१० बसपार्क बस्ने ५० वर्षीय राम माया रानालाई पक्राउ गरेको छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ५० वर्षीय हिरा माया तामाङ, ३० वर्षीय शान्ति माया तामाङ, हेटौँडा–१० बसपार्क बस्ने ६६ वर्षीय कान्छी माया ब्लोन, हेटौँडा–११ थानाभर्याङ बस्ने ४५ वर्षीय सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरे बस्ने २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय अनिल थापालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
प्रहरी आन्तरिक प्रतिवेदन: जेनजी प्रदर्शनपछि ९८ हजार भन्दा बढी गोली हराएको पुष्टि
काठमाडौं । भदौ २३–२४ मा काठमाडौं उपत्यका र उपत्यका बाहिर भएको जेनजी प्रदर्शनपछि प्रहरीले ठूलो मात्रामा गोली र हतियार हराएको आन्तरिक छानबिनमा पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति द्वारा तयार गरिएको प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाइएको छ । छानबिन अनुसार, जेनजी प्रदर्शनपछि करिब ९८ हजार धातुको राउण्ड (जङ्ग्री राउण्ड) रेकर्डमा नभेटिएको देखिएको छ। काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउण्ड गोली हराएको प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनकारीले डमी राउण्ड समेत लुटेको पाइएको छ। करिब २ हजार २०० डमी राउण्ड रेकर्डमा छैन । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल, र १७ सय म्याग्जिन (गोली राख्ने भाँडो) हराएको विवरण प्रतिवेदनमा संकलन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड गोली, २५ सयभन्दा बढी रबर बुलेट, २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड, र ८ हजार अश्रुग्याँस सेल प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार अश्रुग्याँस सेल प्रहार भएको थियो । प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद भएको छ । आन्तरिक प्रतिवेदन अनुसार करिब १२ सय हतियार हराएकोमा ७४७ थान भेटिएको छ । तर, प्रहरीका अनुसार अझै ४५३ हतियार बाहिर रहेका छन् । एकजना उच्च प्रहरी अधिकृतका अनुसार, बानेश्वरसहित देशभर प्रदर्शनकारी भगाउन प्रयोग भएका सामग्रीहरूमा ठूलो मात्रा हराइरहेको अवस्था छ ।
बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ
ललितपुर । नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर महानगरपालिका–१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको हो । “नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शङ्कास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेला परेको छ,” उनले भने, “उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ, प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना
गुल्मी । गुल्मीस्थित कारागार कार्यालयमा २५ जना मात्र कैदीबन्दी राख्ने क्षमता भए पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं २०२४ सालमा स्थापना भएको तम्घासस्थित उक्त कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता रहेको जेलर रेश्मीराज पन्थीले जानकारी दिए । हाल कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक जना आश्रित रहेका छन् । तीमध्ये पुरुष कैदी ७१ जना र थुनुवा ३१ जना छन् भने महिला कैदी चार र थुनुवा एक जना छन् । जेलर पन्थीका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यानसम्बन्धी १८, जबरजस्ती करणी ५९, सवारी ज्यान ३, चोरी ११, बहुविवाह ५, अभद्र व्यवहार १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग ३, आपराधिक उपद्रव (आगोलागी) १, अप्राकृतिक मैथुन १, भ्रष्टाचार २, कुटपिट १ र अन्य ज्यानसम्बन्धी कसुरमा २ जना रहेका छन् । क्षमता भन्दा धेरै कैदीबन्दी भएकाले आवास र सुरक्षासम्बन्धी समस्या देखिएको जेलर पन्थीले बताए । “तारबार निर्माण गर्न जरुरी छ । सुरक्षाकर्मीका आवास गृह जीर्ण छन् र कर्मचारीलाई समेत आवासको अभाव छ,” उनले भने । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । हाल कारागारमा बाँसका मुढा, फर्निचर र ढाकाका कपडा उत्पादन हुँदै आएका छन् । फर्निचर निर्माणमा ५० जना, मुढा उत्पादनमा ३५ जना, ढाकाका सल बुन्नेमा १५ जना र स्वेटर बुन्नेमा ६ जना कैदीबन्दी संलग्न छन् । कारागारलाई सानो औद्योगिक ग्रामको रूप दिन खोजिए पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । तयार सामग्रीको बजार व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ । शिक्षा र मनोपरिवर्तनका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको छ तर नयाँ पुस्तकको अभाव छ । खेलकुदतर्फ कैदीबन्दीले भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड र लुडोमा रुचि देखाएका छन् । पछिल्लो समय उनीहरू तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । कारागार परिसरमा मौसमअनुसारका तरकारी—जस्तै खुर्सानी, भान्टा, स्क्वास, फर्सी, घिरौंला, भिन्डी, काउली आदि—खेती भइरहेको छ । जीर्ण भवनको भित्री र बाहिरी भागमा रङरोगन, कार्पेटिङ र ढलान गरी वातावरण सुधार गरिएको जेलर पन्थीले जानकारी दिए । पुरुष र महिला कैदीबन्दीका लागि सुताइ व्यवस्था सहज बनाउन डबल टेकर खाटको व्यवस्था गरिएको छ ।
कुटपिट गरी नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौँको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले पैदल हिँड्ने व्यक्तिसँग २३।३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।

