झोलुंगे पुलमा फसेका २ खच्चड मरे, ९ वटाको उद्धार
काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार गर्ने क्रममा २ वटा मरेका छन् । अरु ९ वटा खच्चडको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी छ । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर खच्चडलाई कर्णालीमा खसालेर उद्दार गरिएको थियो ।
पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको हो ।
स्थानीयका अनुसार फसेका फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदै गरेको बताइएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ ।
पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेहरु सहित विद्यार्थीहरु समेत प्रभावित भएका छन् ।
आज यस्तो रहने छ मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै
काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
तोलामा एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
आजको मौसम
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।