बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३० बढी घाइते

बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३० बढी घाइते

काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
 

कोटेश्वरबाट अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार

काठमाडौं । कोटेश्वरबाट दक्षिणकालीको चाल्नाखेल लगेर बन्धक बनाइएकी सिर्जना खत्रीको प्रहरीले उद्धार गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अजित लामाले खत्रीलाई काटेश्वरबाट चाल्नालेख लगेका थिए। खत्रीले उनकी प्रेमिका कविता नेपालीको कोठामा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।  प्रहरीले लामा र नेपाली दुवैलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा लैजाने प्रलोभनमा खत्रीले लामासँग १६ लाख रुपैयाँ लिएकी थिइन्। तर, खत्रीले लामालाई न वैदेशिक रोजगारमा लैजान सकेकी थिइन्, न त रकम फिर्ता नै गरेकी थिइन्। पटक–पटक रकम माग्दा फिर्ता नदिएपछि लामाले खत्रीलाई चाल्नाखेल पुर्‍याएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।  उनले भने, ‘खत्रीले लामासँग वैदेशिक रोजगारीमा लैजाने भन्दै १६ लाख रुपैयाँ लिएकी रहिछिन्। तर, उनले लामालाई भनेबमोजिम गर्न सकेकी रहिनछिन्। त्यसपछि लामाले रकम फिर्ता मागेका रहेछन्। तर, खत्रीले दिन सकिनछिन्। सोही विषयलाई लिएर लामाले  खत्रीलाई चाल्नाखेल लगेको देखिन्छ।’ प्रहरीका अनुसार नेपाली लामाकी प्रेमिका हुन्। पटक–पटकको आग्रहपछि पनि रकम फिर्ता नभएपछि उनले खत्रीलाई चाल्नाखेलस्थित प्रेमिकाको कोठामा लगेका थिए।

मुस्ताङका किसानले स्याउबाट भित्र्याए बार्षिक ९२ करोड

मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, 'यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।' विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिए । यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ । स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिए । कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ विक्री भएको बताए । उनका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिक रूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ ।

काठमाडौं महानगरले लगायो प्लास्टिकको मालामा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो ।  प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।  महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ । 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

लोकप्रिय