२३ वर्ष पछि दरबार हत्याकाण्डको बहस

दरबार निकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’

२३ वर्ष पछि दरबार हत्याकाण्डको बहस

काठमाडौं । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्याकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ । 
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षित सहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ । 
कार्यक्रममा नागरिक समाजका अगुवा डा. दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए । उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे । 
दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए, ‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरेको छ । त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन । त्यस बेलामा राजाको शीर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यस बेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दिपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होईन । दिपेन्द्रले वंशनाश गरेको हो ।’ 
त्यस बेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्य समेत खुलाए । 
उनले ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रम अनुसार बाहिर गएको बताए । घटना भएपछि मात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोन मार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमल माथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए । 
‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने । 
दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ । दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइ लाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे । 
अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राज परिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर राना मगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए ।
विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्याक्नुपर्ने अवस्था आइपुगेको तर्क गरे । 
प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले  ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशंका गरेपनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको उनले सुनाए । 
सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबार निकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको केसीले स्मरण गराए । दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ । 
संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले हुर्काएकाहरुबाट नै राजासंस्थामा खतरा आएको उनले बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए । 
अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेको समेत दाबी गरे । 
सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे । उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे । सभापति धमलाले पुनः छानविन समितिबनाएर निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । 
‘त्यो हत्याकाण्ड त्यसै भएको छैन । छानविन गर्नुपर्छ । दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो ?किन गर्यो ? छानविन गर्नुपर्छ । उच्चस्तरीय समिति पहिला पनि बन्यो । तारानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ । माधव नेपालले समितिमा बस्न मान्नुभएन,’– उनले भने ।

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय