उत्कृष्ट काम गर्ने १० प्रहरीको विशेष बढुवा
काठमाडौं । उत्कृष्ट कार्य गर्ने आधारमा १० प्रहरीलाई विशेष बढुवा गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको आधारमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले १० प्रहरीलाई विशेष बढुवा गरेका हुन् ।
बढुवा हुनेमा जवानदेखि सईसम्मका १० जना रहेका छन् । जसमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई वरिष्ठ सईमा बढुवा गर्ने निर्णय भएको छ । सई ईश्वर खत्रीलाई पनि वरिष्ठ सईमा बढुवा निर्णय भएको आईजीको सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रहरी सहायक निरीक्षक गोकुल खत्रीलाई सईमा बढुवा गर्ने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा प्रहरी कार्यालयमा कार्यरत अर्का वरिष्ठ हवल्दार दीपेन्द्र चन्दलाई असईमा बढुवा गर्ने निर्णय भएको छ ।
प्रहरी सहायक हवल्लार प्रभातकिरण श्रेष्ठ, अमरराज मिश्र, रविना राईलाई प्रहरी हवल्दारमा विशेष बढुवा गर्ने निर्णय भएको छ । प्रहरी जवानहरू भरत शाही, सूर्य कुँवर र पहलमान शाही पनि प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । विशेष बढुवा भएका सबै जनालाई भोलि, बुधबार दज्र्यानी चिह्न प्रदान गरिने बताइएको छ ।
प्रहरी नियमावलीको दफा ३९ मा रहेको बढुवा सम्बन्धी विशेष व्यवस्थामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तहमाथि बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको छ । नियमावली अनुसार आईजीले वरिष्ठ सईसम्म बढुवा गर्न सक्नेछन् ।
आज यस्तो रहने छ मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै
काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
तोलामा एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
आजको मौसम
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।