मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ

मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन पश्चगामी भएको बताएका छन्।  

बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए। गुरुङले भने, ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो। मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबिच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए।

महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नलिने बताए। 

उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३)अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे। गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्याख्या यहाँ मेल नखाने समेत दाबी गरे। 


महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए। उनले आन्तरिक रूपमा झिना मसिना कुरा भए पनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए। 

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं ।नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बस्दै छ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ।एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।  प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन्। सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ स् १५ बजेका लागि बोलाइएको छ ।  बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

‘काँग्रेस–एमाले गठबन्धन प्रतिगामी’

काठमाडौं । काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन उल्ट्याने योजना सहित गठबन्धन भएको एक कार्यक्रमका वक्ताहरुले जिकिर गरेका छन् । बिहिबार संवाद डबलीमा भएको कार्यक्रममा माओवादीले आफ्नो वर्ग बिर्सिएको परिणाम प्रतिगमनकारी शक्तिहरुले टाउको उठाएको समेत दाबी छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरण र गिरीबन्धु टि स्टेट प्रकरणको कुराले झस्काएपछि मध्य रातमा स्वार्थ मिलनको साइत जुरेको बताउँदै उनले भने, “एमालेले सहकारी र एन्जीयो मार्फत लटु मच्चाएका नेता–कार्यकर्ता जोगाउन र काँग्रसी हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताए ।” संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रचण्डलाई सुझाएको बिँडारीले स्मरण गर्दै भने,“भारतमा १ सय ३ पटक र अमेरिकामा ४ दर्जन पटक संशोधन हुँदा नेपालमा पनि आवश्यक भएको छ, तर परिवर्तनकारीले गर्ने जनपक्षिय हुन्छ, प्रतिगमनकारीले जनअधिकार खोस्न संविधन संशोधन गर्दैछन् ।” बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधी सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्मक प्रणालीमा लग्नु आवश्यक रहेको र जुन संविधान संशोधनबाट सम्भव रहेको बताए । प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले जनयुद्धको रापतापको कारणले मात्रै काँग्रेस एमालेले परिवर्तनलाई स्वीकारे पनि अहिले मौका आउँदा त्यसलाई उल्ट्याने चेष्टा गरेको आरोप लगाए । संविधान संशोधनका नाममा उनिहरुले उत्पीडित, गरिव जनताको अधिकार खोस्न लागेको आरोप लगाउँदै भने,“पचास लाख टाउकाको मूल्य तोक्ने र बयलगाडेहरुलाई परिवर्तन पचेको थिएन, सुदुर बस्तिबाट संसदमा जनता पुगेको रुचाएका थिएनन्, गरिबले आँखा जुदाएको मन नपरेर त्यही अधिकार खोस्न तल्लिन छन यिनीहरु ।” पीटरले वर्तमान परिवर्तन सित्तैमा आएको देख्ने काँग्रेस–एमालेका अगाडी १ दर्जनको संख्यामा विभक्त माओवादी एकजुट भएर क्रान्तिका कार्यभार पूरा गर्ने सुनौलो अवसर पनि भएको बताएका छन् ।

लोकप्रिय