सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ देखि विद्यार्थी भर्ना अभियान
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौवटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए ।
केन्द्रले प्रकाशन गरेको कार्यतालिका अनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो ।
प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सै घण्टा पुस्तक छापेको थियो ।
‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नु पर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत ९अनुमति प्राप्त० प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्र अगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् । यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् ।
भर्ना अभियान सुरु हुँदै
नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए ।
सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।
अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक ९धारा ३१० कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन ।
राहदानी विभागको सेवा ठप्प
काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ । विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ । विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ। सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ ।
रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।