किताब जात्राको छैठौं संस्करण हुँदै

काठमाडौं । ‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो ।
‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।
लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए । साथै ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा।लि।का सिइओ विकेश भट्टराईले जानकारी दिए । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ ।
किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।
गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
किताब जात्रा कै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सीए अध्ययनका लागि ुप्रेम प्रसाद मेमोरियल स्कलरशीपु प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।
शान्ति प्रक्रिया टुंग्याउनका लागि जोखिम मोल्दै आएको छु : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निकै ठुलो जोखिम उठाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयत्न गरेको बताउनुभएको छ । नेपालको सक्रमणकालीन न्यायसँगसम्बन्धी राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि सिफारिस समिति गठन भइसकेको भन्दै पीडितहरूलाई न्याय दिने प्रक्रियालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । ‘शान्ति प्रक्रिया कहिले कानुनी, कहिले प्राविधिक र कहिले राजनीतिक उत्तरचढावले ढिलो भएकै हो । तर नेपालको शान्ति प्रक्रिया मौलिक पनि छ’, प्रचण्डले भन्नुभयो ‘यहाँसम्म आउँदा धेरै जटिल विषयहरू कार्यसम्पादन हुँदै आएको छ । सेना समायोजन या संविधान निर्माणसँग सम्बन्धित होस्, यी दुवै सफलतापूर्वक सम्पन्न गरेको हो । ’ शान्ति प्रक्रियाका जटिल विषयलाई टुङ्गोमा पुर्याउन धेरै जोखिम उठाएको स्मरण गर्दै शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन आफ्नो पार्टी विभाजनबाट गुज्रेपनि गुज्रोस् भनेर जोखिम उठाएको बताए । उनले सबै राजनीतिक दलहरूबिच शान्ति प्रक्रिया टुङ्ग्याउन विमति नरहेको प्रस्ट पार्दै अव विधेयक संशोधनको कुरा आए पनि अव फेरि त्यसतर्फ लाग्दा थप ढिलाइ हुनसक्ने बताए । ‘अव फेरि झमेलामा नजाऊँ, टुङ्ग्याउनेतिर जाऊ’, उहाँले भन्नुभयो, ‘सर्वोच्चको फैसलालाई सम्मान गरेर विधेयक टुङ्ग्याऊ ।’ अध्यक्ष प्रचण्डले पीडितहरूसँग आफूले प्रधानमन्त्री भएको र नभएको बेला पनि अन्तरक्रिया गरेको भन्दै उनीहरूको चिन्ता र चासोलाई बुझेको बताउनुभयो । ‘म राजनीतिक तहमा तिक्तता बढोस् भन्ने चाहन्न । यस्तो राम्रो कामलाई निष्कर्षमा पुर्याउन हामी सबै एक हुनुको विकल्प छैन’, प्रचण्डको भनाइ छ ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
सुनको मूल्य २७ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।