बालेनप्रति भट्टराईको टिप्पणीः उनी नेपालका लागि खतरनाक हुनसक्छन्
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ ।
‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’ प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भने, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’
यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उनको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताए ।
एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण
भट्टराईले ०८४ पछि एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गरे । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उनको जिकिर थियो । तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भने, ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’
प्रचण्ड धेरै पर पुगिसके
उनले आगामी दिनमा माओवादीसँग एकता हुन कठिन रहेको समेत बताए। ‘प्रचण्ड धेरै पर पुगिसक्नु भयो’, उनको भनाइ थियो, ‘मुद्दामा मिलेर जान सकिएला ।’
यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताए । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उनको भनाइ थियो ।
यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गरे ।
युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक : सभामुख घिमिरे
काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।मंगलबार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनुभयो । फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले को केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा
काठमाडौ। नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभएको हो। कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो । संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताउनुभयो। समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उहाँले बताउनुभयो ।