देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो

देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । 

पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’ 

फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए ।

रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए ।

प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्‍यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’

प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका एक युवकको मृत्युु भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीको मृत्यु भएको पुष्टी गरे ।  प्रहरीका अनुसार ढलेपछि धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै रहेका थिए । चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल नं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ८८ लाख ५१ हजार ३ सय ४६ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए । बितेका २ महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँ बराबरको किराना सामान, १६ लाख ५२ हजार रुपैयाँको कपडा, १३ लाख ३८ हजार रुपैयाँको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो । त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले ४ सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ । ‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो’, चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’ एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप ३ वटा आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीको भनाइ छ । अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये ३० प्रतिशत भारतीय छन् । अस्पतालमा हुने शल्यक्रियाका लागि पनि अधिकांश भारतीय नै छन् । पन्तका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आउने ६० प्रतिशत भारतीय नागरिक छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए । अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ । गत आर्थिक वर्षमा सो अस्पतालबाट २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएकोमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

लोकप्रिय