कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया

कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ ।

अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए ।

सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् ।

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप ३ वटा आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये ३० प्रतिशत भारतीय छन् ।

अस्पतालमा हुने शल्यक्रियाका लागि पनि अधिकांश भारतीय नै छन् । पन्तका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आउने ६० प्रतिशत भारतीय नागरिक छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए ।

अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ ।

गत आर्थिक वर्षमा सो अस्पतालबाट २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएकोमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल नं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ८८ लाख ५१ हजार ३ सय ४६ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए । बितेका २ महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँ बराबरको किराना सामान, १६ लाख ५२ हजार रुपैयाँको कपडा, १३ लाख ३८ हजार रुपैयाँको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो । त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले ४ सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ । ‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो’, चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’ एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

लोकप्रिय