एसइईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयले तोके लक्ष्य
चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।
पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै महानगरले कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिबद्धता लिएको हो ।
जसरी अन्य व्यापारिक कम्पनी या संघसंस्थाले आगामी वर्षका लागि लक्षित उपलब्धि निर्धारण गर्छन् त्यसरी नै महानगरले विद्यालयहरुसँग सिकाइ उपलब्धिको लक्ष्य वा टार्गेट निर्धारण गरिदिएको हो । लक्ष्य मात्रै निर्धारण गरिएको छैन महानगरले लक्ष्य पूरा गर्नका लागि विद्यालयहरुसँग कार्ययोजना पनि मागेको छ ।
महानगरले विद्यालयका प्रअहरुसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिवद्धता लिएसँगै प्रअ र विद्यालयहरुले फेरि शिक्षकहरुसँग पनि त्यस्तै खालको प्रतिवद्धता लिएका छन् । फेरि शिक्षकहरुले आफ्ना विद्यार्थीहरुसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् ।
गतवर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजा पछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए ।
लक्ष्य पूरा नभएमा किन पूरा नभएको हो ? कार्यायोजना कार्यान्वयनमा कहाँनेर समस्या भयो त्यसबारे महानगरले सुझाव पनि दिने गरेको छ । महानगरले सहयोग गर्नुपर्ने कुरा भए बुँदागत रुपमा मागेर सहयोग गर्ने पनि गरिएको छ ।
विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको नतिजा प्रति विद्यालयहरुलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यले जानकारी दिए । विद्यालयहरुको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरु आफैले आफ्नो वस्तुस्थिति मूल्यांकन र शिक्षक विद्यार्थीहरुसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरुले पछि आएर पनि तोकिएको लक्ष्य बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।
शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रअहरुसँग तीनपन्ने २८ बुँदे कार्यसम्पादन करार गरेको हो । विद्यालयहरुसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसईईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।
नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्वपूर्ण हो ।
कक्षा ८मा महानगरले प्रश्नपत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्नपत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो ।
हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरुको जवाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।
कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारवाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ ।
शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिनेगरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विदालयहरुको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् ।
अझ महानगरले विद्यालयहरुसँग नतिजा सुधारको प्रतिवद्धता मात्रै जनाएको छैन त्यसका लागि र्शक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटर लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरुलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै
काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।