६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने बताए । 

आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन दिए । 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी  प्रदेशका  थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।  वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।  

पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला

काठमाडौं । नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । यससँगै उनी नेपालको प्रशासनिक इतिहासमा प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनी विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदै छिन्।

लोकप्रिय