मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुखको कार्यालयले जनाएको छ । 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारबाट बाहिरिएपछि कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनाको अवधिमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ ।

कोशीका मुख्यमन्त्री कार्की बर्खास्तः एमाले र माओवादीले नयाँ सरकार बनाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।  सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् ।  प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा। दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि झण्डै ६ घण्टा अलमल गर्यो । प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आव्हान गरेको खण्डमा बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब बिहीबार मात्र दावी पेश हुने भएको छ । नयाँ सरकार गठनको आव्हान अनुसार बिहीबार बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आव्हान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको छ ।  यस्तै, माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरुलाई परिचयपत्रका साथमा १० बजे संसद सचिवालय आउन भनेको छ । प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरि शपथ गराउनेछन् ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

गण्डकीमा थपिँदै दुई मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।

लोकप्रिय