बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि नयाँ सिफारिस समिति गठन गरेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८० चैत्र ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो। गत विहीवार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सिफारिस समितिलाई पूर्णता दिने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिको सदस्यहरुमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की (संखुवासभा) र स्टेला तामाङ  (गोरखा) रहेका छन्। यसैगरी,  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य पनि सिफारिस समितिको सदस्य रहने छन्।

आन्दोलनका लागि तयार रहन जनमतको पार्टी पंक्तिलाई निर्देशन

 काठमाडौं। जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन गरेको छ । देशको विषम राजनितिक परिस्थि रहेको जनाउँदै पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए । आइतबार पार्टी केन्द्रीय कार्यालय मध्यवानेश्वरमा बसेको सचिवालयको बैठकको निर्णय अनुसार पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको हो। बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जनमत पार्टीले १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ । बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए। निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् ।  सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएका छन् । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ ।  पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।

पोखरामा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाउने

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले शहीदचोक आसपास पूर्वतर्फ वाई चोक(उत्तर पूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ– फिस्टेल गेट (वैदाम), उत्तरतर्फ– मातपोत कार्यालय र दक्षिणतर्फ– मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यलय अगाडि, ड्यामसाईड) र गैह्रापाटन आसपास अन्तर्गत पालिखेचोकदेखि नवीन मावि सम्मको सडक क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भइ धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ । आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा पुर्‍याइएको थियो ।

माओवादी पार्टीहरूको एकता चाडैं टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ। नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।  एउटै स्कुलिङबाट आएर  अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताउनुभयो ।  अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताउनुभयो। उहाँजस्तै हजारौं यौद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन उर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उहाँहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताउनुभयो। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट  समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गर्नुभएको थियो।

लोकप्रिय