भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ ।
पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आउनुभएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो ।
उहाँले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताउनुभयो । अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्दै उहाँले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने बताउनुभयो ।
सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताउनुभयो । भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उल्लेख गर्दै उहाँले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उहाँले स्पष्ट गर्नुभयो ।
अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एमालेका साथीहरुले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरुले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरुलाई सचेत गराउन चाहन्छु । सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको औल्याउँदै उहाँले माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।
माओवादी फुटछ भन्ने हल्ला निराधार भएको र पछिल्ला बैठकहरुमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशंका अन्त्य गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै विगतमा विभाजन भएका दलहरुलाई समेत एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिनुभयो । ‘पार्टी फूट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको छ’– उहाँले भन्नुभयो– ‘केही मानिसहरुले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्ण रुपमा अन्त्य भइसक्ने छ।’
नेतृत्व हस्तान्तरणबारे सोधिएको प्रश्नमा उहाँले राम्रो टिम बनेपछि आफू अध्यक्ष छाडेर नयाँ भूमिकामा जाने बताउनुभयो । उहाँले भन्नुभयो– ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, अध्यक्ष पद मेरा लागि ठूलो हैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो। देश दुनियाँमा नै संसारले एउटा ठूलो परिर्वतन तथा क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेको छ। मैले अध्यक्ष नै हुनुपर्छ भन्ने मेरो धारणा छैन। एउटा राम्रो टिम बनेपछि म अर्काे भूमिकामा जाने सोचिरहेको छु।’
साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई
दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार)
भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको मुहान भएको बताउनु भएको छ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मंचले प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो। उहाँले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो। "मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन," उहाँले भन्नुभयो, "प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।" जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उहाँले भन्नुभयो , “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।” उहाँले थप भन्नुभयो, “मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला ।” मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ ।
हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
पेरिस डाँडा, काठमाडौं हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।। सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाउनुभयो । छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी हुनुहुन्थ्यो।
साहित्यकार, कलाकारसहित दर्जनबढी संस्कृतिकर्मी माओवादी केन्द्रमा प्रवेशः अध्यक्ष प्रचण्डद्वारा स्वागत
काठमाडौँ, साउन २ गते — नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभयो। माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहनुभएको छ । अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भन्नुभयो, “बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।” माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।” संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पु¥याएको छ। संस्कृतिमा शक्ति हुन्छ — यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।” कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साउलो)ले भन्नुभयो, “म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।” सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।