मतदातासँग नेकपाकाे विशेष आह्वान: व्यवस्था र अवस्था  रूपान्तरण लागि ‘पाँचकुने तारामा’ मतदान

लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र प्रणालीगत सुधारमा प्रतिबद्ध (अपिलसहित)

मतदातासँग नेकपाकाे विशेष आह्वान: व्यवस्था र अवस्था  रूपान्तरण लागि ‘पाँचकुने तारामा’ मतदान

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय राजनीतिक दिशालाई स्पष्ट मार्गदर्शन गर्ने गरी विस्तृत राजनीतिक अपिल सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी उक्त अपिलमा मुलुकको स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक–सामाजिक रूपान्तरण तथा वैज्ञानिक समाजवादको आधार निर्माणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको बताइएकाे छ।

अपिलमा नेपाल इतिहासदेखि नै कुनै पनि विदेशी शक्तिको अधीनमा नरहेको र भविष्यमा पनि स्वाधीन राष्ट्रका रूपमा अघि बढ्ने स्पष्ट धारणा व्यक्त गरिएको छ । बाह्य हस्तक्षेपका गतिविधिहरूप्रति सचेत रहँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याइएको छ । पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र तथा पारस्परिक सम्मान र लाभका आधारमा सबै मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने नीति पार्टीले अघि सारेको छ ।

साथै नेपालसँग भएका असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन तथा राष्ट्रिय हितविपरीत रहेका प्रावधानहरू खारेज गरी अतिक्रमित भूमि फिर्ता गर्ने दिशामा कूटनीतिक र कानुनी पहल गर्ने प्रतिबद्धता अपिलमा उल्लेख छ । राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमसत्ताको संरक्षणलाई पार्टीले मूल प्राथमिकतामा राखेको छ ।

लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र प्रणालीगत सुधार

अपिलमा उल्लेख गरिएको छ कि संघीयता, समानुपातिक–समावेशी प्रतिनिधित्व र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि हो । यस प्रणालीविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई परास्त गर्दै यसलाई थप सुदृढ र स्थिर बनाउने नेकपाको अडान रहेको छ ।

निर्वाचन प्रणाली अत्यधिक खर्चिलो, जटिल र अस्थिर सरकार निर्माणतर्फ उन्मुख रहेको भन्दै पार्टीले यसलाई सरल, पारदर्शी र कम खर्चिलो बनाउने आवश्यकतामा जोड दिएको छ । स्थिर सरकार, प्रभावकारी नीति कार्यान्वयन र विकास निर्माणलाई गति दिन प्रणालीगत सुधार आवश्यक रहेको अपिलमा उल्लेख छ ।

संविधान जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको ऐतिहासिक दस्तावेज भएकाले यसलाई संरक्षण गर्दै आवश्यक परिमार्जन संविधानकै प्रक्रियाअनुसार गर्न सकिने धारणा पार्टीले राखेको छ । संविधानको पुनरावलोकन, शासकीय स्वरूपलगायतका विषयमा गम्भीर समीक्षा गरी समयानुकूल सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर अभियान

नेकपाले सुशासन र पारदर्शितालाई आधुनिक लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ । सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता अपिलमा उल्लेख छ ।

कमिसनतन्त्र, ढिलासुस्ती, कालोबजारी, मिटरब्याज शोषण र वित्तीय क्षेत्रका विकृतिविरुद्ध कडा कानुनी तथा संरचनागत सुधार गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । राज्यका सबै अङ्गहरू शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा पार्टीले जोड दिएको छ ।

सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, जनताको घरदैलोमै प्रशासनिक सेवा पुर्‍याउने र विकास योजनामा जनसहभागिता अभिवृद्धि गर्ने लक्ष्य अपिलमा समेटिएको छ ।

सामाजिक न्याय, समानता र विभेदविरुद्ध अभियान

समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक तथा भौगोलिक विभेद अन्त्य गर्न नेकपाले विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । जातीय छुवाछुत, छाउपडी, बोक्सी प्रथा र अन्य कुरीतिविरुद्ध कानुनी मात्र होइन सामाजिक जागरणमार्फत पनि परिवर्तन ल्याउने अठोट व्यक्त गरिएको छ ।

समान अवसर, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र उत्पीडित समुदायको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता अपिलमा समेटिएको छ ।

आर्थिक रूपान्तरण र स्वाधीन अर्थतन्त्र निर्माण

अपिलमा नेपालको प्रमुख आर्थिक समस्या उत्पादनको कमी, बेरोजगारी, व्यापार घाटा, वैदेशिक ऋण वृद्धि र परनिर्भर अर्थतन्त्र रहेको उल्लेख छ । यी समस्याको समाधानका लागि कृषि उत्पादन वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विकास, ऊर्जा उत्पादन विस्तार, पर्यटन प्रवर्द्धन र निर्यातमुखी रणनीति अवलम्बन गर्ने पार्टीको योजना छ ।

प्रगतिशील कर प्रणालीमार्फत राज्यकोष सुदृढ गर्ने, वित्तीय क्षेत्रमा संरचनात्मक सुधार गर्ने तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । युवा रोजगारी सिर्जना, सीप विकास तथा स्वदेशमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाइने उल्लेख छ ।

वैज्ञानिक समाजवादको दीर्घकालीन लक्ष्य

नेकपाले आफ्नो अन्तिम लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको स्पष्ट पारेको छ । उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत आवश्यकता सुनिश्चित हुने प्रणाली निर्माण गर्ने उद्देश्य राखिएको छ ।

आर्थिक–सामाजिक रूपान्तरणका व्यापक महाअभियान सञ्चालन गर्दै समाजवादको आधार निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको अपिलमा उल्लेख छ । विगतका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै सुधारसहित अगाडि बढ्ने तथा “व्यवस्था हामीले बदल्यौँ, अब अवस्था पनि बदल्ने छौँ” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने संकल्प गरिएको छ ।

मतदातासँग विशेष आह्वान

अपिलको अन्त्यमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी परिवर्तन र रूपान्तरणको अभियानलाई सशक्त बनाउन आम मतदातासँग हार्दिक अपिल गरेका छन् ।

अपिलकाे पुरा पाठ

प्रतिनिधि सदस्य निवार्चन–२०८२

नेपाली कम्युनिष्ट पार्टीको
अपिल

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, 
यही २०८२ फागुन २१ मा प्रतिनिधि सदस्यको निर्वाचन हुन गइरहेको छ। यस अवसरमा हामी सर्वप्रथम यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दछौँ। आज हामीले उपयोग गरिरहेका हकअधिकारहरू प्राप्त गर्नका निम्ति सङ्घर्ष गर्ने क्रममा आफ्नो जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सम्पूर्ण आदरणीय शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। मुलुकको लोकतान्त्रिक आन्दोलन एवं कम्युनिष्ट आन्दोलनका सबै अग्रज नेताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। हामी पहिले विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीको रूपमा क्रियाशील थियौँ। अहिले बाइस वटा कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छौँ र तारा चिन्ह लिएर तपाईँहरूमाझ आएका छौँ। यहाँहरूसमक्ष हामी निम्न प्रतिबद्धताहरू जाहेर गर्दछौँ :

★ अहिले मुलुकमा जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन्, त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ।
★ अहिले मुलुकमा संघीयता र समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली कायम छ। यो प्रणाली नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको प्रणाली हो। अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्। हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ।
★ लोकतन्त्रको सुदृढीकरण र विकासको सवाल स्थापित प्रणालीको स्थिरताको सवाल पनि हो। मुलुकको विकासका निम्ति लोकतान्त्रिक प्रणालीको स्थिरता जरुरी छ। अहिले हाम्रो स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ।
★ हाम्रो संविधान जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको संसारका उत्कृष्ट संविधानमध्ये एक हो। यसमा नेपाली जनताले लामो समयसम्म अनेक प्रकारका बलिदानपूर्ण सङ्घर्ष सञ्चालन गरेर प्राप्त गरेका अधिकारहरू दस्तावेजीकरण गरिएको छ। त्यसैले यो जनताले सङ्घर्ष गरेर प्राप्त गरेका अधिकारहरूको दस्तावेज हो। यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन। तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन। यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ। तर त्यसको प्रक्रिया स्वयं संविधानले निर्देश गरेबमोजिम हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ। संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्नुपर्दछ भन्ने हाम्रो दृढ अठोट रहेको छ।
★ अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ। हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ। त्यसमा हामी प्रतिबद्ध छौँ।
★ सुशासन र पारदर्शिता आधुनिक लोकतन्त्रका अपरिहार्य पक्ष हुन्। अहिले जनताले सुशासन र पारदर्शिता अनुभूत गरेका छैनन्। भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सरजस्तै फैलिरहेको छ। सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन। हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा छ ।
★ एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ।
★ हाम्रो समाजमा अहिले पनि वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विभेद, असमानता र उत्पीडन कायम छ। जातीय छुवाछुतजस्तो मानव मर्यादाको कलङ्कसमेत समाजमा अझै विद्यमान छ। छाउपडी र डाइनी–बोक्सीजस्ता कुरीति र अन्धविश्वास पनि विद्यमान छन्। यी सब सामन्ती व्यवस्थाका अवशेष हुन्। हामी सबै प्रकारको विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्न चाहन्छौँ। त्यसका लागि प्रभावकारी कदम चाल्न प्रतिबद्ध छौँ।
★ उत्पादनको कमी र बेरोजगारी ठूलो समस्याका रूपमा रहेका छन्। यो समस्याको समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर काम गर्नुपर्ने पक्षमा छौँ। त्यसो गरेर नागरिकका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ, राष्ट्रिय आय वृद्धि गर्न सकिनेछ, खाद्यान्नमा आत्मनिर्भर हुन सकिनेछ र व्यापार घाटा कम गर्न सकिनेछ।
★ आयातआधारित राजस्व, निरन्तर बढ्दो व्यापार घाटा, चर्को बेरोजगारी, जनशक्तिको विदेश पलायन, वैदेशिक ऋणको निरन्तर वृद्धि, पुँजीगत खर्च कम हुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृति, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्। हामीले जबसम्म हाम्रो आफ्नै स्वाधीन अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ, तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिँदैन र हाम्रो परनिर्भरता कायम रहन्छ। कृषि, औद्योगिक, पर्यटन, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि गरेर परनिर्भरता कम गर्दै जानु र स्वाधीन अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्वक अगाडि बढ्न प्रतिबद्ध छौँ। राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ। वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ। गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ।
★ प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ। विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ।
★ हाम्रो लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो। वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो। वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन। त्यसैले हामी वर्तमान नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ।
★ देशमा भएको राजनीतिक परिवर्तनअनुरूप आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको हुँदा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भन्ने भाष्य निर्माण हुन गयो। मुलुकमा विकास हुँदै नभएको त होइन, तर जति भयो त्यो पर्याप्त भएन। त्यसैले यो भाष्य बन्न गयो। यसलाई बदल्नुपर्छ। यसलाई बदल्न आर्थिक–सामाजिक रूपान्तरणका महाअभियान सञ्चालन गर्नु जरुरी छ। त्यो हामी गर्नेछौँ। मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्नेछौँ।
★ हामी हाम्रो राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेछौँ। हामी राष्ट्रहरूबीच समानता, अहस्तक्षेप, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा हाम्रा छिमेकीलगायत सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र अरूले पनि हामीसँग तदनुरूपकै सम्बन्ध राखून् भन्ने चाहन्छौँ। हाम्रो परराष्ट्र नीति यही मान्यतामा आधारित हुनेछ। हामी यही नीतिअनुसार नेपालसँग भएका असमान सन्धि–सम्झौताहरू खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न चाहन्छौँ। हामी राष्ट्रिय एकता र सुरक्षाको प्रवर्द्धन गर्दै मानवता र विश्व शान्तिको पक्षमा उभिनेछौँ।
★ हामीले विगतमा अनेक प्रकारका क्रान्तिकारी सङ्घर्ष सञ्चालन गरी मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गरेका थियौँ। त्यसैले भन्न सक्छौँ कि व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ। यो हाम्रो दृढ प्रतिज्ञा हो। यसमा हामी लागिपर्नेछौँ। विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान्। त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ। यहाँहरूसँग हाम्रो हार्दिक अपिल छ कि यस पटक तारा चुनाव चिन्हमा मतदान गरी हामीलाई व्यवस्था बदलेझैँ देशको अवस्था पनि बदल्ने अवसर प्रदान गर्नुहोस्। धन्यवाद।

............................
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
 ............................
माधव कुमार नेपाल 
सहसंयोजक

nullnull

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ ।  गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ ।  उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्‍याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ।  राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ।  उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ। 

लोकप्रिय