ओलीसँगको भेटबारे देउवाले भने -'सरकार परिर्वतनबारे छलफल भएको होइन्'

ओलीसँगको भेटबारे देउवाले भने -'सरकार परिर्वतनबारे छलफल भएको होइन्'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्। 

देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएका थिए ।

देउवालाई उदृत गर्दै एक नेताले भने, ‘शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो । तर, उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो।’

उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको बैठकमा बताए ।

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।  “छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,” अध्यक्ष नेपालले भने ।  अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने उल्लेख गरे ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।  बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।     

एकीकृत समाजजादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीहरुले राजीनामा नदिने भएका हुन् ।  नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको विश्वासको मत रहेको भन्दै पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए । एकीकृत समाजवादी सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि बिहीबार राजीनामा बुझाउने तयारी गरेका छन् । 

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल पदबाट निलम्बन भएका छन् ।  बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले बताए । केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र आफुलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको झाले बताए । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको उनको भनाई छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठक बहिस्कार गरेका थिए । पत्रकारहरुसँग उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । लामिछानेले हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको र अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । उनले भनेका थिए, ‘मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’ उनले अगाडि भनेका थिए, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

लोकप्रिय