प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने छ ।

यसैगरी, सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धीमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेद २०८१’ र ‘सार्वजनिक सेवा प्रशासन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने छ ।

अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को अध्यक्षमा माङ्मु

विराटनगर । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को अध्यक्षमा चन्द्रबहादुर माङ्मु निर्वाचित हुनुभएको छ ।  दोस्रो प्रदेश सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै खुला उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिरकाजी कुलुङ र बिमल कार्की, छात्रा उपाध्यक्षमा प्रतिमा शाह, समावेशी उपाध्यक्षमा देब बाहिङ, प्रमुख सचिवमा नयन राई, खुला सचिवमा प्रदीप घिमिरे, आदेश थापा र हेमराज राई, छात्रा सचिवमा लक्ष्मी मण्डल र समावेशी सचिवमा ऋषि राई लगायत रहनुभएको छ । ३७ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन संयोजक राजेन्द्र किराँतीले जानकारी दिनुभयो । 

संवैधानिक परिषद् बैठकका लागि शीर्ष नेताबीच छलफल

काठमाडौं । संवैधानिक परिषद् बैठकका लागि छलफल गर्न प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा  समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। संवैधानिक परिषद्को बैठक शुक्रबार बस्दै छ।  छलफलमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यसबाहेक अन्य कुनै विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग पाकिस्तानी राजदूत एच हाश्मीको शिष्टाचार भेट

काठमाडौं, भदौ २४ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल-पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भए पनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताउनु भयो। विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा नेपाल-पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताउनु भयो। “सार्कको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा यसको सक्रियताका लागि हामी निकै गम्भीर छौं”, उहाँले भन्नुभयो, “सार्कलाई क्रियाशील बनाउन पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु। हामी पाकिस्तानलार्इ अध्यक्षता सुम्पन आतुर छौं।” दुई देशबीच संयुक्त आर्थिक आयोग, द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र लगायतका विभिन्न फोरमहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले तिनको क्रियाशीलताले मात्रै दुई देश बीचको आपसी सहयोग र सहकार्य थप मजबुत र बिस्तार हुने बताउनु भयो। नेपालको संघीय संसदले नेपाल-पाकिस्तान मैत्री समूह गठन गरेको जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास अनुभव आदान प्रदान र सहकार्यका लागि संसदीय समूहको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो। पाकिस्तानले प्राविधिक सहायता कार्यक्रममार्फत् नेपाली विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा छात्रवृत्तिको संख्यामा वृद्धि हुनेमा आफूहरु आशावादी रहेको बताउनु भयो। नेपाल-पाकिस्तान लगायतका हिमाली तथा कम विकसित मुलुकहरु जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको भन्दै अध्यक्ष दाहालले पर्यावरणीय संकटको सामना गर्न सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताउनु भयो। जनताको ठूलो बलिदान र सङ्घर्षपछि नेपाल शान्ति प्रक्रिया टुङ्ग्याएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले पाकिस्तान सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युत, पर्यटन, आइसिटी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले हालै सम्पन्न पाकिस्तानको संसद सिनेटको अध्यक्षमा निर्वाचित युसुफ रजा गिलानीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दुई देशबीच कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य फलदायी हुने बताउनु भयो। उहाँले नेपालमा साहसिक पर्यटन, सांस्कृतिक, पर्यावरणीय पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवर्द्धनका कामहरु गर्न सके जनस्तरको झनै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो। सार्कको गतिशीलता आफूहरुको पनि चाहना रहेको भन्दै राजदूत हाश्मीले त्यसको पुनर्ताजगीकरण गर्न जरुरी रहेको र त्यो निकै महत्त्वपूर्ण रहेको बताउनु भयो। इन्टरनेट प्रविधिको विकासले नयाँ आयाम थपिएको भन्दै राजदूत हाश्मीले ई-कमर्श, आइसिटीका क्षेत्रमा दुई देशले आपसमा सहयोग र सहकार्य गर्न सक्ने बताउनु भयो।  

एक वर्ष कैद सजाय तोकिएका कांग्रेस सांसद एक दिनमै रिहा

रुकुमपश्चिम । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी कारागार नै नबसी रिहाइ भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । एक वर्ष कैद सजाय तोकिएका केसी १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।  श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो । कारागार स्रोतका अनुसार प्रहरीले भने सांसद केसीलाई कारागारमा नै राखेन । यसैबीच माओवादी केन्द्र निकट संगठनहरुले सांसद केसीको रिहाइमा विरोध प्रदर्शन गरेका छन् । दोषी ठहर भएका केसीलाई सजाय मिनाह गरेको भन्दै अखिल क्रान्तिकारी र वाइसएलले रकुम पूर्वले अदालत अघि विरोध प्रदर्शन गरेका छन् ।

लोकप्रिय