मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रतिवेदन बुझाएको थियो

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला

काठमाडौं, ६ फागुन । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दुई पार्टीले मन्त्री ज्वालाको राजिनामा मागेका हुन् । यो विषयमा जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले उनले पदमा बसिरहन नमिल्ने ती दलको दावी छ । 


बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुनेमा जोड दिए । उनले प्रश्न गरे– ‘सिपाइलाई डण्डा, मन्त्रीलाई झण्डा यो कुन खालको सुशासन हो ?’ सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट नहटाइए एमाले चुप लागेर नबस्ने उनले चेतावनी समेत दिए ।


यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ज्वालालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा प्रधानमन्त्रीको आजकै बैठकमा परीक्षा हुने बताए । उनले भने–  ‘आज प्रधानमन्त्रीको जाँच हुनेछ’ ।  उनले जाँचबुझ आयोगले दोपी ठहर गराउँदा पनि अन्य कार्यक्रममा जाने नैतिकता विभागीय मन्त्रीलाई कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्ना मान्छे बचाउन सरकारले फाइल खोज्ने नाटक गर्दै आएको पनि आरोप लगाए । 
शुक्रबार बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रतिवेदन बुझाए पछि उनीमाथि राजीनामा दिन दवाव बढेको छ ।

संसदमा बोल्न कांग्रेस सांसदलाई ‘गृहकार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेका विषयमा तर्क सहित बोल्न भन्दै आफ्ना सांसदलाई सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरेको छ ।  शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रहरीको अनुसन्धान प्रतिबेदन बाँडिएको हो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेपछि वितरण गरिएको हो ।  यो प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख रहेको भन्दै त्यसकै आधारमा टेकेर संसदमा प्रस्तुत हुन देउवाले नै सुझाएका छन् । प्रहरी अनुसन्धानका आधारमा रुपन्देहीको सरकारी वकिलको कार्यालयले वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यही विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको हो। एक नेताका अनुसार देउवाले संसदीय दलको बैठकमा भनेका छन्, ‘प्रतिबेदन अध्ययन गर्नुस्, कुन कुन ऐन आकर्षित हुन्छन्, संसदमा तर्क सहित राख्नुस् ।’

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ ।  शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।

लोकप्रिय