उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

भेटवार्ताका क्रममा मन्त्री यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरेका थिए । उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको पनि प्रशंसा गरे । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने उनको प्रतिबद्धता छ।

उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार रहेको बताए।

हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौंको थलीमा भेटिएको शव भक्तपुरका कृष्ण नगरकोटी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌गलबार बिहान थलीको उकालोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सकुशल छन् ।

काठमाडौँको थलीमा पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ। प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। 

लोकप्रिय