अत्यावश्यक नपरी घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।
'आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ ।
कुनै समस्या परेमा दूतावासका कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव (0528289300) र सञ्जयकुमार साह, सहचारी (054-5582077) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो। प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ ।