अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदै छ । 

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए । 
आईडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदै छ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए । 

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए । 

यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । 

नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आईडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

नेप्सेमा वृद्धि, कारोबार रकमको साथ

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २७.५४ अंक बढेर २०९२.०० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ। नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको करिब १९ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

वाणिज्य बैंकको कार्यकारी अधिकृतको अन्तर्वार्तामा ५ जना सिफारिस

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लि. को प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि ५ जनाको नाम अन्तर्वार्तामा सिफारिस गरिएको छ । बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि सिफारिस गर्न गठित प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिको मिति २०८१।०२।०६ गते बसेको बैठकले उक्त सिफारिस गरेको हो । प्रमुख कार्यकारी अधिकृतको पदमा दरखास्त दिएका उम्मेदवारहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० मा भएको व्यवस्था बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जनाको नाम सिफारिस गरेको उपसमितिले जनाएको छ । आज प्रकाशित सूचनामा पाँच जना कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी,विष्णुदेव यादव र शंकर के.सी.को नामावलि सहित  प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान समेत तोकिएको छ । हेर्नुहोस् सूचना

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ७ गते सोमबार सन् २०२४ मे २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

असोजमा  १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । आगामी असोज पहिलो साता  ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले एक्स्पो गर्न लागेको हो ।  आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना हुने एक्स्पोमा पहिलो पटक खुला बजार समेत सञ्चालन गर्न लागिएको छ ।  इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ पनि खुला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रम स्थलमा नै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् ।  हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रुपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाई छ ।  एक्स्पोका संयोजक सम्यक मान सिंहले पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुने जानकारी दिए । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्ने बताइएको छ ।

लोकप्रिय