म मधेसका जनताको साथमा छु : प्रधानमन्त्री
सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे।
मिटरब्याज पिडीतका समस्या समाधान गर्न र नागरिकता बिहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले आफु प्रधानमन्त्री बनेपछि मेधसका लाखौं युवाहरु नारिकताबाट बञ्चित भैरहेको स्थितिको अन्त्य गरेको स्मण गराए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए।
तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्त्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।”
मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण शहिदप्रति सम्मान व्यक्त गरे। उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘
भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण
भरतपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले जानकारी दिनुभयो । एशोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फुल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सय देखि ४ सय पचास कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ । यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फुलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले आग्रह पनि गरेको छ । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेका छन् । यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
मनवानपुर । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ
काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो । तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।
आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन बिहीबार उद्घाटन भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको ३० करोड १० लाख सहयोगमा भवन निर्माण भएको हो । भारतीय राजदूतावाका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए । क्याम्पस भवन आयोजना नेपाल र भारत सरकारबिच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । जिल्ला समन्वय समिति तनहुँमार्फत उक्त भवन निर्माण आयोजना कार्यान्वयन भएको थियो । आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त समुदायमा आधारित क्याम्पस हो । क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडिज र ब्याचलर अफ एजुकेसनमा स्नातक कक्षा सञ्चालन गर्दै आएको छ