ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमार्फत कार्की आयोगमा
कार्की आयोगले भन्याे: फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन
काठमाडाैं । ‘हामी नेपाली’ संस्थाका संस्थापक सुधन गुरुङसहितको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी प्रहरीमार्फत जाँचबुझ आयोगमा पठाइएको छ ।
जेन–जी आन्दोलनका घटनाबारे छानबिन गरिरहेको आयोगका कारण जाहेरी सोही आयोगमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
गुरुङ समूहले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेको थियो । जाहेरी दर्ता नगरे सडक आन्दोलनमा जाने चेतावनी दिँदै उनीहरूले प्रहरीमाथि दबाब दिएका थिए । प्रहरी स्रोतका अनुसार समूहको धम्कीपछि सोमबार राति प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलबाट जाहेरी लिन र छानबिन आयोगमा पठाउने सहमति भएको थियो । त्यसअनुसार प्रहरी परिसर भद्रकालीले लिखित जाहेरी लिएर पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा पठाएको हो ।
सामाजिक सञ्जालमा सक्रिय सुधन गुरुङले ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै निरन्तर अभियान चलाइरहेका छन् । उनले भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका परिवारको तर्फबाट जाहेरी दर्ता गराएका थिए ।
गुरुङ समूहको दबाब बढेपछि सोमबार बेलुकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखसँग आपत्कालीन छलफल गरेकी थिइन् । छलफलमा सुरक्षा अधिकारीहरूले तत्काल जाहेरी दर्ता र पक्राउ प्रक्रियामा जान नहुने सुझाव दिएका थिए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी दर्ता गरी पक्राउ प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेपछि सुरक्षा अधिकारीहरूले ‘यदि त्यसरी अघि बढियो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउन सक्छ’ भन्ने तर्क प्रस्तुत गरेका थिए ।
‘विगतमा बालेनले सिंहदरबार जलाउने अभिव्यक्ति दिएका थिए, त्यसैलाई आधार बनाएर जाहेरी आयो भने त्यसलाई पनि दर्ता गर्नुपर्ने स्थिति आउनसक्छ,’ एक अधिकारीले भनेका थिए ।
नेपाली सेनालेसमेत परिस्थितिलाई जटिल बताउँदै संयमतापूर्वक अघि बढ्न सुझाव दिएपछि जाहेरी आयोगमा पठाउने सहमति बनेको स्रोतले जनाएको छ । त्यसपछि प्रहरीले जाहेरी लिएर दर्ता नगरी आयोगमा बुझाएको हो ।
जेन–जी आन्दोलनमा राज्यपक्षको दमनबाट २१ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमाथि भएको बलप्रयोगपछि २४ गते देशभर हिंसा भड्किएको थियो । दुई दिनमै ७५ जनाको मृत्यु र सिंहदरबार तथा संसद भवनमा आगजनी भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए ।
कार्की आयोगले भन्याे: फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन
भदौ २३ र २४ का घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जो–कोहीमाथि सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने स्पष्ट गरेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “फौजदारी कसुरमा संलग्न व्यक्तिमाथि कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने अवस्था छ ।”
आयोगले भौतिक र मानवीय क्षतिसम्बन्धी सूचना संकलन, विश्लेषण र कारबाहीका सिफारिस गर्न कार्यादेश प्राप्त गरेकाले प्रतिवेदन आउनुअघि पनि सरकारले आवश्यक कदम चाल्न सक्ने जनाएको छ ।
प्रहरी आन्तरिक प्रतिवेदन: जेनजी प्रदर्शनपछि ९८ हजार भन्दा बढी गोली हराएको पुष्टि
काठमाडौं । भदौ २३–२४ मा काठमाडौं उपत्यका र उपत्यका बाहिर भएको जेनजी प्रदर्शनपछि प्रहरीले ठूलो मात्रामा गोली र हतियार हराएको आन्तरिक छानबिनमा पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति द्वारा तयार गरिएको प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाइएको छ । छानबिन अनुसार, जेनजी प्रदर्शनपछि करिब ९८ हजार धातुको राउण्ड (जङ्ग्री राउण्ड) रेकर्डमा नभेटिएको देखिएको छ। काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउण्ड गोली हराएको प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनकारीले डमी राउण्ड समेत लुटेको पाइएको छ। करिब २ हजार २०० डमी राउण्ड रेकर्डमा छैन । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल, र १७ सय म्याग्जिन (गोली राख्ने भाँडो) हराएको विवरण प्रतिवेदनमा संकलन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड गोली, २५ सयभन्दा बढी रबर बुलेट, २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड, र ८ हजार अश्रुग्याँस सेल प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार अश्रुग्याँस सेल प्रहार भएको थियो । प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद भएको छ । आन्तरिक प्रतिवेदन अनुसार करिब १२ सय हतियार हराएकोमा ७४७ थान भेटिएको छ । तर, प्रहरीका अनुसार अझै ४५३ हतियार बाहिर रहेका छन् । एकजना उच्च प्रहरी अधिकृतका अनुसार, बानेश्वरसहित देशभर प्रदर्शनकारी भगाउन प्रयोग भएका सामग्रीहरूमा ठूलो मात्रा हराइरहेको अवस्था छ ।
बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ
ललितपुर । नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर महानगरपालिका–१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको हो । “नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शङ्कास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेला परेको छ,” उनले भने, “उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ, प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना
गुल्मी । गुल्मीस्थित कारागार कार्यालयमा २५ जना मात्र कैदीबन्दी राख्ने क्षमता भए पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं २०२४ सालमा स्थापना भएको तम्घासस्थित उक्त कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता रहेको जेलर रेश्मीराज पन्थीले जानकारी दिए । हाल कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक जना आश्रित रहेका छन् । तीमध्ये पुरुष कैदी ७१ जना र थुनुवा ३१ जना छन् भने महिला कैदी चार र थुनुवा एक जना छन् । जेलर पन्थीका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यानसम्बन्धी १८, जबरजस्ती करणी ५९, सवारी ज्यान ३, चोरी ११, बहुविवाह ५, अभद्र व्यवहार १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग ३, आपराधिक उपद्रव (आगोलागी) १, अप्राकृतिक मैथुन १, भ्रष्टाचार २, कुटपिट १ र अन्य ज्यानसम्बन्धी कसुरमा २ जना रहेका छन् । क्षमता भन्दा धेरै कैदीबन्दी भएकाले आवास र सुरक्षासम्बन्धी समस्या देखिएको जेलर पन्थीले बताए । “तारबार निर्माण गर्न जरुरी छ । सुरक्षाकर्मीका आवास गृह जीर्ण छन् र कर्मचारीलाई समेत आवासको अभाव छ,” उनले भने । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । हाल कारागारमा बाँसका मुढा, फर्निचर र ढाकाका कपडा उत्पादन हुँदै आएका छन् । फर्निचर निर्माणमा ५० जना, मुढा उत्पादनमा ३५ जना, ढाकाका सल बुन्नेमा १५ जना र स्वेटर बुन्नेमा ६ जना कैदीबन्दी संलग्न छन् । कारागारलाई सानो औद्योगिक ग्रामको रूप दिन खोजिए पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । तयार सामग्रीको बजार व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ । शिक्षा र मनोपरिवर्तनका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको छ तर नयाँ पुस्तकको अभाव छ । खेलकुदतर्फ कैदीबन्दीले भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड र लुडोमा रुचि देखाएका छन् । पछिल्लो समय उनीहरू तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । कारागार परिसरमा मौसमअनुसारका तरकारी—जस्तै खुर्सानी, भान्टा, स्क्वास, फर्सी, घिरौंला, भिन्डी, काउली आदि—खेती भइरहेको छ । जीर्ण भवनको भित्री र बाहिरी भागमा रङरोगन, कार्पेटिङ र ढलान गरी वातावरण सुधार गरिएको जेलर पन्थीले जानकारी दिए । पुरुष र महिला कैदीबन्दीका लागि सुताइ व्यवस्था सहज बनाउन डबल टेकर खाटको व्यवस्था गरिएको छ ।
कुटपिट गरी नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौँको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले पैदल हिँड्ने व्यक्तिसँग २३।३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।

