प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् ।

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ । 

झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई गएराति पक्राउ गरेको हो। बुटवल घर भएका उनीहरू दुवै ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

काठमाडौँका यी स्थानमा चार दिन हुनेछ विद्युत् अवरुद्ध

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ।  आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ।  त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ। यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। 

लोकप्रिय