भारतले रोक्यो नेपाली चियाको निर्यात, नेपाली उद्यमीलाई के पर्छ असर ?

भारतले रोक्यो नेपाली चियाको निर्यात, नेपाली उद्यमीलाई के पर्छ असर ?

झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । 

चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए। 

भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आज भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।

“यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भने, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ ।”

पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए। त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी  हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् ।

सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदैआएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । 

भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दैआएका छन् । रासस

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

बागमतीसहित यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने जनाएको छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

लोकप्रिय