केपी ओली भन्छन्,‘के का लागि संसदीय समिति ?’

केपी ओली भन्छन्,‘के का लागि संसदीय समिति ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग एमाले अध्यक्ष ओलीले प्रश्न गरे, ‘के समिति ? के का लागि समिति ?’ उनले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति मात्र दिएको आरोप लगाउँदै कुनै समिति नबन्ने बताए ।

ओलीले भने, ‘सरकार भन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।’ ओलीले नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका अपेक्षा गरेको पनि बताए ।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो । संविधानसभा सदस्य समेत रहेका गुरुङको यही वैशाख २५ गते निधन भएको थियो । गुरुङको अन्त्येष्टि संस्कार आज हुने भएपछि कांग्रेसले शुक्रबार बिहान ८ः३० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको नेपाली कांग्रेस संसदीय दल सचिवालयले जानकारी दिएको छ ।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।’’ प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको समेत बताए । उनले भने, ‘‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो।’’ कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी आज

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मत पाएको सभामुखको घोषणाविरुद्ध नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ। गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए।  संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

लोकप्रिय