लुम्बिनीका ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिएको छ । चारैजना नेकपा एमालेबाट मन्त्री बनेका हुन् ।

यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय र माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० वटा मन्त्रालय थिए । तर अहिले मन्त्रालय फुटाएर दुईवटा थपिएको छ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका थिए।

माओवादी पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं ।हिजो देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको बैठक आज पनि जारी रहने भएको छ । हिजोको बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भयो। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखे।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरे भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखे । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि आज(शनिबार) बिहान ११ बजे पुनः बस्दै छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारी र सदस्यहरूले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।   यस्तै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थी नियुक्त भएका थिए ।

कुलमान भन्छन् -'हिसाब गरेर बिल दिएका छौं, बक्यौता असुली छाड्छौं'

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बिनाबिल सो लाइनको बक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ पनि सत्य नभएको दाबी गरे । रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरूमा बिल पठाएकाले त्यसमा थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाइ थियो। उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत् १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे आठ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए । 'डेडिकेटेड र ट्रंकलाइनको लोडसेडिङको बेलामा हामीले इन्डियाबाट पनि इम्पोट गरेका थियौँ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर, डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरूले प्रतियुनिट साढे ११ रुपैयाँभन्दा परेको छैन । जबकी नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । तर पब्लिकलाई त लोडसेडिङ थियो नि त । उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो । अब ६०/६५ प्रतिशत प्रिमियम चार्ज हो । प्रिमियम चार्ज मात्रै लगाएको हो । हाम्रो बिल नै थिएन । नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन,' उनले भने ।   घिसिङले दक्षिण एसियामा भुटानबाहेक नेपालको विद्युत् सबैभन्दा सस्तो भएको जानकारी पनि दिए। उनले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत् महशुल घटाएको र करिब २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत् उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे।

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन्। उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो। केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो । भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रही आएको जानकारी पनि गराइएको थियो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो।

लोकप्रिय