धान चामलमा आत्मनिर्भर हुनैपर्छ : प्रधानमन्त्री

धान चामलमा आत्मनिर्भर हुनैपर्छ : प्रधानमन्त्री

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने बताएका छन् ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि,  वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताए।


प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए।

“जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।” 

कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गरे। 

“जलवायु परिवर्तनका कारण सृजित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्छ ।”

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे। 

उनले परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको स्पष्ट पारे।
 
प्रधानमन्त्रीले जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गरे। 

यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले विसं २०७३ मा झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सुपर जोन, जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

डेमोक्रेटिक पार्टीबाट कमला राष्ट्रपति उठ्ने, बाइडेन पछि हटे

वासिंटन ।अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेदवारीबाट पछि हटेका छन्।उनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि आएपछि हटेको बताइएको छ । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्। बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। 

स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए।  विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् । कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् । परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

लोकप्रिय