अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नुभयो । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपतप्रति विश्वको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । 

राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिनुभयो ।

भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।

नागरिक उन्मुक्तिका उपाध्यक्षसहित २५ नेता राजेन्द्र महतोको दलमा

काठमाडौं ।  रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका २५ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । धनुषाका केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २५ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा आवद्ध भएका हुन् । उनीहरूले अत्यन्तै मिहिनेत गरि बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु अडिदेखि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियतापूर्वक साथ दिइरहेका थियौँ’, बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्वहरू नसुध्रिने छाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’ उनीहरूले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको पनि आरोप लगाएका छन् । उनीहरूले पहिचानसहितको संघीयता, संघीय लोकतान्तित्रक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट नभएको पनि बताएका छन् ।  

अखिल क्रान्तिकारी भक्तपुरको अध्यक्षमा सुमन माझी

काठमाडौं । अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १७ औं सम्मेलनले सुमन माझीको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ ।  जसको उपाध्यक्षमा छिरिङ लामा, पुष्पराज अधिकारी र जोरबहादुर रोकाया, सचिव अन्जित लामा, सहसचिव देवेन्द्र न्यौपाने र कोषाध्यक्ष सुनगाभा मगर रहनुभएको छ ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्षमा भण्डारी

काठमाडौं । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समितिको अध्यक्षमा प्रदीप भण्डारी निर्वाचित हुनुभएको छ । सम्मेलनबाट उपाध्यक्षहरुमा सविन अधिकारी, रविकिरण श्रेष्ठ, प्रवीण मल्ल र अनिषा राई निर्वाचित हुनुभएको छ । सचिवमा सुरक्षा पहरी र कोषाध्यक्षमा सागर पराजुली निर्वाचित हुनुभएको छ । संगठन राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ ।  

ओली र मोदीबीच के एजेण्डामा भयो संवाद ?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो। भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उनले भारत–नेपाल मित्रता धेरै बलियो रहेको उल्लेख गर्नुभएको छ । उहाँले यो सम्बन्धलाई अझै गति दिन चाहेको उल्लेख गर्दै आफूहरूबीचको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित भएको जानकारी दिनुभएको छ ।‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ । हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो’– मोदीले भन्नुभएको छ।

लोकप्रिय