यूएईमा श्रीमान् श्रीमती विवाद : भवनबाट खस्दा श्रीमतीको मृत्यु, श्रीमान् फरार

यूएईमा श्रीमान् श्रीमती विवाद : भवनबाट खस्दा श्रीमतीको मृत्यु, श्रीमान् फरार

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिलाको मृत्यु भएको छ। अर्घाखाँची घर भएकी श्रीमती राधा न्यौपाने र कैलाली घर भएका श्रीमान् नेत्रप्रसाद न्यौपानेबीच विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताए।केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ। घटनापछि श्रीमान न्यौपाने फरार भएका छन्। 

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ। विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संघले जनाएको छ। मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । 

उनीहरु दुबै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । यसबारे दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

डीभीको नजिता भोलि आउने

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।  चन्दका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।

आमसञ्चार विधेयक पेस हुने प्रक्रियामा छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन् ।  शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक संघीय संसद्‌मा दर्ता भएको जानकारी दिइन् ।  उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको बताइन् ।  'आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‌मा दर्ता भएको छ भने आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी हुँदैछ,' उनले भनिन् ।  मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन् । नयाँ प्रविधिसँगै आएका चुनौतीहरूको सामना गर्न आमसञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

प्रेस जगतलाई प्रधानमन्त्रीको आग्रह -'मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिथ्या र भ्रामक सूचना बाढिलाई रोक्दै तेस्ता सूचना मार्फत समाजलाई भ्रमित तुल्याउने कामलाई प्रेस जगतले रोक्नुपर्ने बताएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताएका हुन्। उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने बताएका छन् । 'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री प्रचण्डले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।' महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए । 'कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,'  प्रधानमन्त्री प्रचण्डले भने, 'हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।' नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्रीको भनाई थियो । 'हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,' प्रधानमन्त्री प्रचण्डले भने,'अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।'

लोकप्रिय