आधा काम नहुँदै ओलीले उद्घाटन गरेको धरहरा निर्माणको म्याद सातौं पटक थपियो

आधा काम नहुँदै ओलीले उद्घाटन गरेको धरहरा निर्माणको म्याद सातौं पटक थपियो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माणनसकिएपछि फेरि म्याद थपिएको छ। ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन। ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो।

सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ।यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो। 

सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा टेकेर धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक म्याद थप गरिएको हो ।  

आयोजना प्रमुख अधिकारीका अनुसार म्याद थप गरिएको यस अवधिमा निर्माण सम्पन्न हुन सकेन भने निर्माण कम्पनीले सरकारलाई जरिबाना तिर्नुपर्ने हुन्छ।कुल सम्झौता रकमको ०.०१ प्रतिशत प्रतिदिनका दरले जरिबाना बुझाउनुपर्ने हुन्छ । सम्झौता रकम तीन अर्ब ४९ करोड रुपियाँ रहेको छ। 

अधिकारीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र आर्थिक प्रगति ८९ प्रतिशत छ । २०७५ पुसदेखि निर्माण सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।  

सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । त्यसै गरी २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास र उद्घाटन गरेका हुन् । मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन् । त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सिसिटिभी जडान, रङरोगन, फिनिसिङका काम बाँकी छ । 

तत्कालीन राजा रणबहादुरकी पत्नी ललित त्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा परी भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो । 

त्यसबखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो ।  अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ।प्रश्नोत्तर कार्यक्रमका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो। नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ। आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

डेमोक्रेटिक पार्टीबाट कमला राष्ट्रपति उठ्ने, बाइडेन पछि हटे

वासिंटन ।अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेदवारीबाट पछि हटेका छन्।उनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि आएपछि हटेको बताइएको छ । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्। बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। 

स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए।  विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् । कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् । परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लोकप्रिय