ओलीको दृष्टिकोण : जबजलाई विस्थापित गर्दै ‘नेपाली विशेषताको समाजवाद’
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई विस्थापित गर्ने संकेत गर्दै ‘नेपाली विशेषताको समाजवाद’ को नयाँ अवधारणा अघि सारेका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत उनको राजनीतिक प्रतिवेदनमा यो अवधारणाको विस्तृत व्याख्या गरिएको छ, जसले पार्टीभित्र र बाहिर व्यापक बहस निम्त्याएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत साउनमा आफ्नो निवास भंगालमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ‘एमालेले जबज छोड्ने त होइन’ भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनको यो चिन्ता व्यक्त भएको डेढ महिनापछि ओलीले जबजको विकल्पका रूपमा ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेका हुन् । भण्डारीको सक्रिय राजनीति र पार्टी सदस्यताको विषयमा त्यतिबेला पार्टीभित्र र बाहिर चर्को बहस भएको थियो ।
नेकपा (एमाले) ले २०४९ सालको पाँचौँ महाधिवेशनदेखि तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ । २०७४ सालमा माओवादी केन्द्रसँगको एकताबाट बनेको नेकपा कालमा पनि जबजलाई अँगाल्ने कि नअँगाल्ने भन्नेमा बहस भएको थियो । त्यतिबेला प्रचण्ड र झलनाथ खनालजस्ता नेताहरूले जबजको विपक्षमा तर्क गरेका थिए, तर नेकपा र पुनः एमाले विभाजनपछि ओलीले जबजको पक्षमा दृढ अडान राख्दै आएका थिए । तर, पछिल्लो समय उनले जबजको सट्टा नयाँ सिद्धान्तको खोजी गरेको देखिन्छ ।
नेपाली विशेषताको समाजवाद: मुख्य विशेषताहरू
अध्यक्ष ओलीले प्रस्तुत गरेको ‘नेपाली विशेषताको समाजवाद’ ले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने उल्लेख छ । यो अवधारणाले निम्नलिखित विशेषताहरूलाई जोड दिएको छ:
-
नयाँ प्रगतिशील उत्पादन सम्बन्धको विकास र उत्पादक शक्तिको वृद्धि ।
-
श्रमजीवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता ।
-
आर्थिक उत्पादनको प्रचुरता र समन्यायिक वितरण ।
-
सहकारिताको प्रयोग, पर्यावरण संरक्षण, श्रमको प्रोत्साहन र नवप्रवर्तन ।
-
आवश्यकताअनुसार तीव्र आर्थिक विकासको सुनिश्चितता ।
यसका साथै, नेपाली समाजको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यपूर्ण रूपमा अगाडि बढाउने ओलीको प्रस्ताव छ । उनले ‘एकरूपतामा एकता होइन, विविधतामा एकता’ लाई प्रवर्द्धन गरिने बताएका छन् ।
परिपूर्ण लोकतन्त्र र राष्ट्रिय हित
ओलीले ‘नेपाली विशेषताको समाजवाद’ को एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ भएको उल्लेख गरेका छन् । उनले संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनलाई राज्य सञ्चालनका अभिन्न अंगका रूपमा व्याख्या गरेका छन् । “दलहरूबीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ, जनताको अभिमतबाट मात्र शासन सञ्चालन हुने र अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ,” उनको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय हित, स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकासलाई यो अवधारणाको अनिवार्य कार्यभारका रूपमा प्रस्तुत गरिएको छ ।
जबजको भविष्य र बहस
यदि विधान महाधिवेशनले ओलीको प्रस्तावलाई हुबहु पारित गरेमा नेकपा (एमाले) ले निकट भविष्यमा जबजको सट्टा ‘नेपाली विशेषताको समाजवाद’ लाई आफ्नो मूल सिद्धान्त बनाउने सम्भावना प्रबल छ । यो कदमले पार्टीको वैचारिक दिशालाई पुनर्परिभाषित गर्नुका साथै जबजप्रति वफादार नेताहरू र कार्यकर्ताहरूबीच नयाँ बहस सिर्जना गर्ने निश्चित छ ।
यो अवधारणाले एमालेको परम्परागत वैचारिक आधारलाई कसरी प्रभाव पार्छ र नेपाली राजनीतिमा कस्तो असर गर्छ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ । तर, ओलीको यो प्रस्तावले पार्टीभित्र र बाहिर नयाँ वैचारिक तरंग ल्याएको छ ।
रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।
हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।
संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

