पाल्पा अस्पतालमा सहजै उपचार पाउन नसकेको बिरामीको गुनासो
तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् ।
अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको सेवाग्रहीले गुनासो गरेका हुन् । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
दिनहुँ अस्पतालमा आउने पाँच सय बिरामीमध्ये दुई सय बिरामीको उपचार अस्पतालले गरिरहेको छ । अन्य तीन सय बिरामी अन्य अस्पतालमा उपचार गर्न प्रेषणका लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउने बिरामीले समयमै उपचार नपाएको, टिकट लिन अप्ठेरो बनेको, ल्याब टेस्टका रिपोर्ट समयमै नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालका कर्मचारीबाट बिरामीमैत्री व्यवहार पाउन नसकेको माथागढीस्थित सराईबाट उपचारका लागि आएका तिलकराम घिमिरेले गुनासो गरे। अस्पतालमा निःशुल्क पाउने दिने औषधीसमेत आफूले नपाएको गुनासो उनको छ ।
कतिपय बिरामी उपचार नपाएर फर्कन बाध्य छन् । उपचार हुन्छ भनेर बिहानदेखि बेलुकीसम्म कुराउने र बेलुकी भएपछि आज उपचार हुँदैन भनेर फर्काउने गरेको रैनादेवी छहरा–३, भुवनपोखरीका लीलाबहादुर दर्लामीले गुनासो गरे । अस्पतालले बिरामीलाई बेलुकीसम्म राखेर उपचार नगर्दा ढाटाबाट उपचारका लागि आउने बिरामी सेवा नलिएर फर्कन बाध्य भएको उनले बताए।
अस्पतालले बिरामीलाई उपचार गर्न कति समय लाग्छ भनेर जानकारी नदिँदा हरेक दिन केही बिरामी उपचार नगरी घर फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने अस्पतालको क्षमता, कर्मचारीको क्षमता अनुसार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालकी नर्सिङ अधिकृत लक्ष्मी जिसीले हाल कार्यरत कर्मचारीको क्षमता अनुसार बिरामीलाई सेवा दिएको बताए । कहिलेकाहीँ बिरामी घर जान हतार गर्दा पनि सेवामा असहजता उत्पन्न भएको हुन सक्ने उनले बताए ।
अस्पतालमा पछिल्लो समय सिफारिस लिने र उपचार गर्ने बिरामीको चाप बढेका कारण बिरामीलाई असहज लागेको हुन सक्ने कर्मचारी भनाई छ । अस्पतालमा धेरै बिरामी रिफरका लागि आउने गरेका छन् । ती बिरामीका लागि सिफारिस व्यवस्थापन गर्दा पनि अस्पतालको सेवा प्रभावकारी हुन नसकेको कतिपय स्वास्थ्यकर्मी बताउँछन् ।
माओवादी केन्द्र पुथाउत्तरगंगामा निर्वाचन, अध्यक्षमा संगम रोका विजयी
रुकुमपूर्व । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको केन्द्र तकमा तीन दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षमा संगम रोका निर्वाचित हुनुभएकाे छ । अध्यक्ष पदको लागि संगम रोका र गंगा पुन, सचिवमा राजकुमार सुनार र शुक्रराज विक तथा कोषाध्यक्षमा दलप्रसाद रोका र देविका सुनारको उम्मेदवारी परेकाे थियो । २३ मत प्राप्त गरेर संगम रोका अध्यक्षमा निर्वाचित हुनभएको हो । रोकाका प्रतिस्पर्धी गंगा पुनले २१ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा राजकुमार सुनारले १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी शुक्रराज विकले १२, मैत्या घर्तीले १० तथा उज्वल सेनले ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कलिभान बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्षमा दलप्रसाद रोकाले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी देविका सुनारले १७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा थमन बुढा, रामकुमारी बुढा र रजग सुनार तथा सह सचिवमा लाेकेन्द्र पुन सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत टुंगिएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । यो सँगै जिल्लाका तीन वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । सिस्ने र भूमेमा सर्वसम्मत नेतृत्व चयन भएकाे थियाे ।
बझाङमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु
बझाङ । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए । दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।
माओवादी केन्द्र आठबीसकोटमा नेतृत्व चयन गर्न निर्वाचन, अध्यक्षमा बटाला
रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) आठविसकोट नगरपालिकाको नयाँ नेतृत्व निर्वाचन मार्फत टुङगिएको छ । शनिबारबाट सुरु भएको तेस्रो नगर अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा निर्वाचन प्रक्रिया मार्फत सोमबार नयाँ नेतृत्व टुङगिएको हो । अध्यक्ष, उपाध्यक्ष र सह-सचिवमा मतदान भएको थियो । अध्यक्ष पदमा मनिराज बटालाले २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी धनबहादुर बस्नेतले १३ र टिकाराम सुनारले ११ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३२ मत प्राप्त गरी खुम्बे कुसारी, २८ मत प्राप्त गरी सिता शाह र २७ मत प्राप्त गरी टेकबहादुर थापा विजयी हनुभएको छ । उहाँका प्रतिस्पर्धी केशरमान विकले २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सह-सचिवमा खुमराज ओलीले २८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी कविराम विकले १५ मत प्राप्त गर्नुभयो । जम्मा ४८ मत खसेको थियो । सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको छ । ६ जना पछि थप्ने गरी ४९ सदस्यीय नगर समिति निर्माण गरिएको नव निर्वाचित अध्यक्ष मनिराज बटालाले जानकारी दिनुभयो ।
माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा पुनः पुन
रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ । जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ । अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् । ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ । अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।