जनताको सपना, हिमाल शर्माको प्रतिबद्धता: काठमाडौँ–६ बाट परिवर्तनको बत्ती बल्दै

को हुन् हिमाल शर्मा ?

जनताको सपना, हिमाल शर्माको प्रतिबद्धता: काठमाडौँ–६ बाट परिवर्तनको बत्ती बल्दै

काठमाडौं। काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधि सभा उम्मेदवार हिमाल शर्मा आफ्नो बाँकी जीवन देश, जनता र क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा सक्रिय भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा शर्मा मतदातासँगको प्रत्यक्ष संवाद, घरदैलो, र अन्तरक्रिया कार्यक्रममा जुटिरहेका छन्।

तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा आयोजित घरदैलो कार्यक्रममा शर्मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, सामाजिक न्याय र समृद्धिको वाचा गरे। उनले भने, “अब जनताको फैसला अन्तिम हुन्छ। म हिजो जनयुद्धमा परिवर्तनका लागि लडेँ, राज्यदमनमा यातना भोगें। अरु केहि चाहिएको छैन। म केवल परिवर्तन, समृद्धि र विकास चाहन्छु। यस क्षेत्रको समृद्धि र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध छु। जनताको सपना पूरा नभएसम्म मेरो लडाइँ रोकिँदैन।”

शर्माले आफ्नो जीवनको यात्रा र संघर्षलाई मात्र सम्झनासँग सीमित नगरी अब मतदानमार्फत जनताले विश्वासमाथि खेल्नेहरूको अन्त्य गर्ने अवसर आएको बताए। उनले जोड दिए, “समृद्धिको बाटो रोक्नेहरूलाई जनताले चिन्नेछन्। सम्झौता होइन, परिणाम खोज्ने बेला आएको छ। जनताको सपना रोक्नेहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन।”

घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले पनि शर्माप्रति विश्वास व्यक्त गरे। विष्णु महतले भनेकी छिन्, “क्षेत्रको विकास, राजनीतिक योगदान र संघर्षको आधारमा हिमाल शर्मा यस क्षेत्रका लागि सक्षम उम्मेदवार हुन्। आगामी निर्वाचनमा हामी उनलाई बहुमतले जिताउने वातावरण तयार गर्दैछौँ।” त्यस्तै, पशुपति मैनलीले मतदातामा राजनीतिक सचेतना बढाउने अभियान जारी रहेको उल्लेख गर्दै, “देशलाई स्थायित्व, शान्ति र विकासतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक छ। काठमाडौँ–६ का मतदाताले हिमाल शर्मालाई समर्थन गर्नेछन्,” भनिन्।

स्थानीय विकास र पूर्वाधारमा जोड

घरदैलो कार्यक्रमका क्रममा शर्मा स्थानीय मतदातासँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा छलफल गरे। उनले यस क्षेत्रका समस्याको समाधान र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार, विकास र समृद्धि केवल योजनामा सीमित नभई कार्यान्वयनमा देखिनुपर्छ, र यसका लागि समुदायसँग प्रत्यक्ष संवाद अपरिहार्य छ।

निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा शर्मा मतदातासँगको संवादलाई निरन्तरता दिँदै छन्। उनका घरदैलो कार्यक्रमहरूले मतदातामा प्रत्यक्ष पहुँच बढाउने मात्र होइन, युवापुस्तामा राजनीतिक सचेतना र सहभागिता पनि प्रवर्द्धन गर्दै छन्।

को हुन् हिमाल शर्मा ?

हिमाल शर्मा, जसलाई ‘जिउँदा सहिद’ को उपाधि दिइएको छ, युवा पुस्तामा शालिन, वैचारिक, बौद्धिक र बलियो नेतृत्वको प्रतीक मानिन्छ। उनले संघर्ष, प्रतिबद्धता र जनताको अधिकारका लागि अडिग भूमिका निर्वाह गर्दै आएका छन्।

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा जन्मेका शर्मा प्रारम्भिक जीवनदेखि सामाजिक न्याय, विद्यार्थी अधिकार र जनअधिकारका मुद्दामा सक्रिय थिए। परिवारिक परिवेशले उनको राजनीतिक चेतना र समाजसेवाको रुचिलाई थप बलियो बनाएको थियो।

उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। शर्मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पूर्व महासचिव तथा केन्द्रीय अध्यक्ष हुन्। विद्यार्थी जीवनमा उनले शिक्षाको व्यापारीकरण विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए र आम विद्यार्थीको हकहितको संरक्षणमा सक्रिय भूमिका निभाएका थिए। संगठनभित्र उनले युवा नेतृत्व हस्तान्तरणमा भूमिका खेले, जसले पार्टी र विद्यार्थी आन्दोलनमा नयाँ पुस्ताको सहभागिता मजबुत बनायो।

जनयुद्धकालीन संघर्ष र राज्यदमन

हिमाल शर्मा माओवादी जनयुद्धमा सक्रिय सहभागी बने। युद्ध कमाण्डरको रूपमा देशका विभिन्न क्षेत्रमा परिवर्तनको विगुल फुक्दै जीवन जोखिममा राखेका उनले पार्टीको नीति अनुसार काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संगठन विस्तार र युवा मोर्चा संचालनमा योगदान दिए।

२०६० कात्तिक ४ गते तत्कालीन संकटकालमा उनलाई काठमाडौं असनबाट सुरक्षा निकायले पक्राउ गर्‍यो। लगभग ५०० दिनसम्म भैरवनाथ गणमा हिरासतमा राखिँदा चरम शारीरिक र मानसिक यातना भोग्नु परेको थियो। यो घटनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा पनि ध्यानाकर्षण गराएको थियो। २०६२ मंसिरमा सर्वोच्च अदालतले हिरासत गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दियो। शर्मा शान्ति प्रक्रियापछि मात्र सार्वजनिक जीवनमा फर्किए।

शान्ति प्रक्रिया र पार्टी योगदान

शान्ति प्रक्रियापछि शर्मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बने। पार्टी भित्र एमसीसी, पार्टी एकता, सुशासन र युवा नेतृत्वका मुद्दामा सक्रिय भूमिका निभाए। उनले विभिन्न निर्वाचनहरूमा पार्टी प्रतिनिधित्व र चुनावी कमाण्डरको रूपमा अनुभव हासिल गरे। काठमाडौँको राजनीति क्षेत्रमा लामो समयदेखि आफ्नो प्रभाव स्थापित गर्दै उनले पार्टी योगदान, संघर्ष र नेतृत्व अनुभवको आधारमा बलियो छवि बनाएका छन्।

हाल उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छन् र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनको चुनावी चिन्ह ‘तारा’ रहेको छ।

चुनावी एजेन्डा र प्रतिबद्धता

हिमाल शर्माको चुनावी एजेन्डामा मुख्य रूपमा युवा प्रतिनिधित्व, सुशासन, पूर्वाधार विकास, रोजगार सिर्जना, शिक्षा र स्वास्थ्य सुधार समावेश छन्। शर्मा उम्मेदवारी व्यक्तिगत पदको लागि नभई जनताको सेवा र राजनीतिक प्रतिबद्धतासँगै नयाँ पुस्ताले चाहेको शासनव्यवस्थाको लागि भएको बताएका छन्।

उनी भ्रष्टाचार, कालोबजारी र घुसपैठको अन्त्य, बेरोजगारीको समाधान, निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न, सहिदहरूको सपना साकार पार्न, देशको संविधान, लोकतन्त्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन्।

युवा नेतृत्व र भविष्यको प्रतिबद्धता

हिमाल शर्माको जीवन र राजनीतिक यात्रा विद्यार्थी नेतृत्व, जनयुद्धकालीन संघर्ष, पार्टी भूमिका, शान्ति प्रक्रिया योगदान र समाजसेवा र युवा नेतृत्वमा आधारित छ। उनी युवा पुस्तामा प्रभावशाली नेतृत्वको प्रतीक मानिन्छन्। आगामी निर्वाचनमा उनी अनुभव, पार्टी योगदान र स्थानीय जनताको विश्वास लिएर चुनावी मैदानमा छन्।

शर्माको अभियान केवल चुनाव जित्ने लक्ष्यमा सीमित छैन। उनले विश्वास दिलाएका छन् कि जनताको सपना पूरा नभएसम्म, क्षेत्रको समृद्धि र विकास पूरा नभएसम्म उनको लडाइँ रोकिँदैन।

तारकेश्वर–२ र काभ्रेस्थली क्षेत्रका मतदाताले यस सन्देशलाई स्वागत गर्दै, हिमाल शर्माको नेतृत्वमा आफ्नो क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्। शर्मा केवल राजनीतिमा होइन, संघर्ष र प्रतिबद्धतामा पनि युवापुस्ताका लागि प्रेरणास्त्रोत बनेका छन्।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय