प्रचण्ड सरकार इतिहासकै मितव्ययी
इतिहासमै पहिलो पटक चालु तथा प्रशासनिक खर्च ५३ अर्ब रूपैयाँले घट्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सबैभन्दा मितव्ययी सरकार बनेको छ । हालसम्म हुन नसकेको संघीय सरकारको चालु प्रकृतिको खर्चमा इतिहासमै पहिलोपटक उल्लेख्य कमी आएको छ ।
सरकारी खर्च आम्दानीको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँ यस्तो खर्च घटेको तथ्याङ्क दिएको छ ।
चालु खर्चअन्तर्गत संघीय सरकारको प्रशासनिक खर्च, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भार लगायतमा गर्ने खर्चहरू पर्दछन्।
आर्थिक वर्ष २०३१/३२ अर्थात् अर्थ मन्त्रालयको तथ्यांक अभिलेख राखिएयता कुनै पनि वर्ष चालु खर्च घटेको थिएन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा पहिलोपटक यो वर्ष भने ५.२७ प्रतिशतले खर्च घटेको छ।
यस्तो खर्च तीन वर्षयताकै न्यून पनि छ। आर्थिक वर्ष २०७८/७९ मा नौ खर्ब ५४ अर्ब रूपैयाँको चालु खर्च भएको थियो भने गत वर्ष १० खर्ब ५ अर्ब रूपैयाँको भएको थियो । यस वर्ष भने प्रारम्भिक रूपमा नौ खर्ब ५२ अर्ब रूपैयाँ मात्रै पुगेको छ।
पछिल्लो ५० वर्षको अवधिमा औसत रूपमा वार्षिक १७ प्रतिशतले चालु खर्च बढेको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०५१/५२ मा ५८ र २०६६/६७ मा सबभन्दा धेरै ४६ प्रतिशतले चालु खर्च बढेको थियो । सबभन्दा न्यून वृद्धिदर २०६९/७० मा १.६ प्रतिशतको भएपछि कुनै पनि वर्ष नघटेको यस्तो खर्च यो वर्ष भने घटेको हो ।
यो वर्ष प्रशासनिक क्षेत्रमा उल्लेख्य खर्च घटेको र वित्तीय अनुशासन बढि हुँदै गएको देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सरकारले अनावश्यक रहेका प्रधानमन्त्री कार्यालयका तीन वटा सचिवको दरबन्दी खारेज तथा केही सहसचिवको पनि दरबन्दी खारेज गरेको थियो । यसै कारण पनि प्रशासनिक खर्चमा यो पटक केही कमी आएको अर्थविदहरूको भनाइ छ।
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताउनुभयो । सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ भन्नुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्युनिकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिनुभयो । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उहाँको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराउनुभयो । ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उहाँले दिनुभयो । तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औंल्याउनुभयो । उहाँका अनुसार केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको छ, जसमा अहिले निजी क्षेत्रलाई पनि समावेश गरिएको छ भन्नुभयो । यसले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिनेछ ।
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआनको मूल्य बढेको छ । कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ८९ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, बढेको चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा तोएिको छ । साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । थाईभाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा तथा बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
३१ अंकले घट्यो नेप्से, कारोबार कति ?
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ । प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ । यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशतले घटेर ३ हजार ५६९.४३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेर २१.९१ विन्दुमा पुगेको छ । यता, वाणिज्य बैंक ०.९० प्रतिशतले, विकास बैंक १.४७ प्रतिशतले, होटल तथा पर्यटन १.७३ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, लगानी ०.९० प्रतिशतले, जीवन बीमा १.३६ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशतले, लघुवित्त ०.६८ प्रतिशतले, निर्जीवन बीमा १.१६ प्रतिशतले, ट्रेडिङ ०.९८ प्रतिशतले र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।