गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी
गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् ।
गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।
उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ ।
विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ।
अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।
छठले भित्र्याउँछ डोम समुदायमा खुशी
धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन । क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्,“समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरू काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गुज्रिनु परिरहेको छ ।” उनी चाडपर्वका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउँछन् । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याई रहेको मल्लिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने । दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ! तराईवासी हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् । छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान् टोलका श्याम मल्लिक डोमले सुनाए । सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बिच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । “अरू बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौँतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो”, उनले खुसी हुँदै भनिन् । महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन् । मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले चाडपर्व आफूहरूका लागि पिर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरमा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् । छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए । हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभई देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने यसमा संलग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।
भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण
भरतपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले जानकारी दिनुभयो । एशोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फुल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सय देखि ४ सय पचास कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ । यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फुलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले आग्रह पनि गरेको छ । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेका छन् । यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
मनवानपुर । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ
काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो । तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।