पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने

पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने
पाकिस्तानी मन्त्रिपरिषदका सदस्यहरु सपथको क्रममा (फाइल तस्वीर)

इस्लामावाद । देशको आर्थिक अवस्था खराब हुँदै गएपछि पाकिस्तानमा सरकारी पदमा रहेकाहरुले तलब नलिने घोषणा गर्ने क्रम बढेको छ । स्वतन्त्र भए यताकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानको अर्थतन्त्रलाई टेवा दिन भन्दै त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने घोषणा गरेका छन् । 
केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय पनि गरेको छ । सरकारको मितव्ययि नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले नै गरेको हो ।

यस्तै, आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा समेत गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । 
यात्राका लागि सरकारी कोष प्रयोग गर्नै पर्ने भए शहबाज सरिफको सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने निर्णय भएको छ । गत हप्ता राष्ट्रपति जरदारी र गृहमन्त्री मोहसिन नकवीले तलब नलिने घोषणा गरेपछि अहिले मन्त्रिपरिषदबाट नै अन्य सबै मन्त्रिले तलब नलिने घोषणा भएको हो । (एजेन्सीको सहयोगमा)

मेयर कप फुटबल : नारायणी नमूना र अमर मावि विजयी, किरण अमरजंग र ग्रामोदयको बराबरी

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।  शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३(१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।  खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३(१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।  यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।  उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४(० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक(एक गोल गरे ।   रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ  यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २(२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।  खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए । बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।  लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक

काठमाडौं । साहित्यकार तथा संचारकर्मी आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएको छ। शनिवार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन्। १५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी आस्था केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर।पुस्तकाकारमा प्रकाशन गरेकी हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्। सोही समयमा सहकर्मी योद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।  जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको  अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन  जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएको छ।  पुस्तक बिमोचनमा बोल्दै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रम प्रचण्डले कालजयी कृतिका लागि आस्था केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम कर्णाली प्रदेशले आयोजना गरेको थियो। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।लेखक केसीको यस अगाडि उज्यालोको खोजी गजल संग्रह प्रकाशित छ।

सेयर बजारमा २.२६ प्रतिशतको वृद्धि, कारोबार सवा ५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ।अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो। सबै क्षेत्रका सूचकहरु बढेका छन् ।बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे। आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो। माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ।

नो इफ, नो बट हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ।हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ।’ उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए। ‘माग्न आए पनि, नआए पनि। भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ। किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने। उनले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए। उनले भने, ‘हामी सत्ताको साथमा छौँ। तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन। के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ।’ सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको पनि सराहना गरे।

लोकप्रिय