राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

काठमाडौं ।११२औं अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमणमा निस्कने भएका छन्। राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ। दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन्।

मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो। जर्मनीले काठमाडौंमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो।सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ। जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए। त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए।तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए।

यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए।राष्ट्रपति पौडेल राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ।

ग्लोबल टी-२० क्यानडामा छानिए सन्दीप, दीपेन्द्र र रोहित

काठमाडौं । टी२० विश्वकप क्रिमेटमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीलाई विश्वको गनिएका लिगहरुमा अफर आउन थालेको छ। नेपालका पूर्वकप्तान तथा बलर सन्दीप लामिछानेले लगभग विश्वका सवै चर्चित लिग खेलिसकेका छन् भने दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेलको पनि अफर आउन थालेको छ ।  ऐरी गल्फ लिगमा निरन्तर खेल्ने पक्का भएको छ । कप्तान पौडेलले पनि यसपाली क्यानडाको ग्लोबल टी२० खेल्न लागेका हुन् ।   नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन् । शुक्रबार भएको ड्राफ्टको ११ औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो। रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो।   भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन् । सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन् । सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन् ।  सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो । उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो । यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ ।  ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरुहुने छ ।  

समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् । शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् । महाधिवेशनले सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ। यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन। अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु। तर, केही हुँदैन। हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन।’’ कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरूले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए। प्रधानमन्त्रीले भने, ‘‘विभिन्न जाति जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको मुद्धा हाम्रो हो। उत्पीडितहरूले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो।’’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी सङ्घर्ष भएको स्पष्ट पारेका थिए । उनले भने, ‘‘जनयुद्ध जनताको युद्ध थियो। लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ। हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ। यही आधारमा टेकेर समाजवादको तयार गर्छौं।’’ कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता–कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत जानकारी गराए ।

भरतपुर विमानस्थल विस्तार चाँडै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर, निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ ।  महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोधपछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो ।  प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो ।  यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतको उपस्थितिमा पटकपटक बैठक बसेका थिए ।  विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो ।  यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।   भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदै छ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न रु दुई अर्बभन्दा बढी खर्च हुँदै छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ ।  प्रमुख दाहालले भने, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।” चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे ।  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् ।  विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसै घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यतीलगायत एयरलाइन्सका एटीआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए ।  हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस

नेपाल पत्रकार महासङ्घको निर्वाचन २२ गते (कार्यतालिका)

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

लोकप्रिय