आज स्वदेश फर्कँदै राष्ट्रपति पौडेल, कस्तो रह्यो भ्रमण ?

आज स्वदेश फर्कँदै राष्ट्रपति पौडेल, कस्तो रह्यो भ्रमण ?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन्। उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।उनको स्वागतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थहरु अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । 

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे। भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । 

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो । 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ। जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे। अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरे ।

उनले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनी बिचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गरे । यसैगरी उनको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष  स्वागत समारोह आयोजना गरेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सबै नेपालीलाई आव्हान गरे। सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली सङ्घका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।

यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरे । 

सम्बोधनका क्रममा उनले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरे । साथै वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भने, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ। यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस्।”

स्वीट्जरल्याण्डमा रहँदा उहाँ र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध,  आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो।  यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो । स्वीटजरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँको प्राचीन सहर पुरानो जेनेभाको भ्रमण गर्दै त्यहाँस्थित ऐतिहासिक स्थलको अवलोकन गरे। 

त्यसै गरी उहाँ स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको  सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका थिए। सो क्रममा स्वीट्जरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए। राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा प्रस्थान गरेका थिए। राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

भ्रमण सफल र  उपलब्धिमूलक

राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्व स्तरमा विस्तार र सुदृढ गर्न महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताए। लामो समयपछि युरोपका प्रभावशाली मुलुकका राष्ट्रप्रमुख स्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा चालिसेले  आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको नेपालको ऐक्यबद्धता प्रदर्शित भएको बताए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण सफल तथा फलदायी रहेको बताए। साथै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित एवं विस्तार गराउन महत्त्वपूर्ण योगदान दिएको बताए।

काठमाडौंमा भ्रष्टाचारीहरुको र्‍याली देख्न परेको छ  :  विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्‍याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।  उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

लोकप्रिय