मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ ।
 
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट

सल्यान । सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेदेखि व्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन गरिएको थियो । गएराती ११ बजे सुरु भएको आगलागी स्थानीय, नेपाली सेना र प्रहरीले राति १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ । आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भरतपुरका किशोरीहरुलाई एचपिभी खोप अभियान सुरु, मेयर दाहालद्धारा उद्घाटन

चितवन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी हो । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरुलाई अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो । भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने बताउनुभयो । अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययरत १६ हजार १ सय ६९ र विद्यालय बाहिरा रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरु, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिनुभयो ।

तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो । आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उहाँले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताउनुभयो । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताउनुभयो । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं’– उहाँले भन्नुभयो । सो क्रममा उहाँले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो ।    

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

पोखरा । गण्डकी प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।  महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।  सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् । 

लोकप्रिय